NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

नेपाललाई भारतमा गाभ्न राजा त्रिभुवनको प्रस्ताव

काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले नेपाललाई भारतसँगै गाभ्ने राजा त्रिभुवनको प्रस्तावलाई तत्कालिन भारतीय प्रधानमन्त्री जवहरलाल नेहरुले अस्वीकार गरेको खुलासा गरेका छन् । मंगलबार प्रकाशित भएको मुखर्जीको आत्मवृतान्त ‘दी प्रिसिडेन्सियल इयर्स’मा भारतका पूर्व प्रधानमन्त्री जवहरलाल नेहरुले नेपाललाई भारतसँगै गाभ्ने राजा त्रिभुवनको प्रस्तावलाई अस्वीकार गरेर ठूलो गल्ती गरेको खुलासा गरेका छन् । आत्मवृतान्तमा मुखर्जीले भनेका छन्, ‘नेपालका राजा त्रिभुवन वीर विक्रम शाहले नेहरुसँग नेपाललाई पनि भारतकै राज्य बनाउने प्रस्ताव अघि सारेका थिए । तर नेहरुले नेपाल एक सार्वभौम र स्ववतन्त्र मुलुक भएको र त्यस्तै रहनुपर्ने बताउँदै उक्त प्रस्तावलाई लत्याए ।’ उक्त आत्मवृतान्तको ‘माइ प्राइम मिनिस्टर्सः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्पारमेन्ट्स’ नामको अंशमा मुखर्जीले नेहरुले नेपालसँग कुटनीतिक रुपमा मात्रै सम्बन्ध अघि बढाएको उल्लेख गरेका छन् । उनले राणा शासनपछि फर्किएको राजतन्त्र पुनः स्थापना भएपछि नेपालमा प्रजातन्त्रको जरा पनि गडोस् भन्ने नेहरुले चाहना राखेको उल्लेख गरेका छन् । मुखर्जीले लेखेका छन्, ‘नेहरुको ठाउँमा यदि इन्दिरा गान्धी भएको भए, उनले पक्कै पनि उक्त अवसरलाई शिरोपर गर्थिन्, जसरी उनले सिक्किमको सन्दर्भमा गरिन् ।’ सन् १९७५ अप्रिल ९ मा नेपालको भू–भाग रहेको सिक्किम भारतलाई प्राप्त भएको थियो । जनमत संग्रह भएसँगै १६ मे मा सिक्किमलार्ई आधिकारिक रुपमा भारतको राज्य घोषणा गरिएको थियो । भारतका पूर्व प्रधानमन्त्री र राष्ट्रपतिप्रति आफ्नो विचार व्यक्त गर्दै मुखर्जीले लेखेका छन्, ‘हरेक प्रधानमन्त्रीको आफ्नै कार्यशैली हुन्छ । लालबहदुर शास्त्रीले नेहरु भन्दा फरक स्थान बसाले । उही पार्टीबाट आएतापनि प्रधानमन्त्रीहरुबीच वैदेशिक नीति, सुरक्षा र आन्तरिक प्रशासनजस्ता मुद्दामा फरक धारणा थियो ।’ मुखर्जीले आफ्नो आत्मवृतान्तमा दिएका संस्मरणले नेहरुको कार्यकालको बेला भएका रणनीतिक गल्तीहरुका कारण भारतले चुकाएको लागतका विषयमा फेरि बहस सुरु भएको छ । आत्मवृतान्तको चौथो खण्डमा मुखर्जीले आफू राष्ट्रपति भएपछि कांग्रेस पार्टीले लय गुमाएको आरोप लगाएका छन् । पुस्तकमा उनले कांग्रेसको पतन सोनिया गान्धी र मनमोहन सिंहका कारण भएको भन्दै कठोर टिप्पणी गरेका छन् । गत अगस्ट ३१ मा बितेका पूर्व राष्ट्रपति मुखर्जीको उक्त आत्मवृतान्त मंगलबार प्रकाशित भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष