ओलीले निर्वाचन गर्दैनन्, पुनस्थापनाको विकल्प छैन: सिंह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्। संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोधसभा अन्तर्गत काठमाडौं १ (क) मा आयोजित विरोध सभामा सिंहले ओलीले निर्वाचन गराउँछन् भन्नेमा विश्वास नै नभएको बताए । उनले ओलीको असंवैधानिक कदम सच्चाउनुको विकल्प नै नभएको समेत बताए। ‘दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने। तर संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’ सिंहले भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ। त्यसैले संसद विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन।’ उनले कांग्रेस नेतृत्वमा जारी भएको संविधान माथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए। ‘करिब दुई तिहाइ मत प्राप्त गरेको नेकपाको सरकार। संविधान अनुसार नै हिडेको भए राम्रो हुन्थ्यो। संविधानको बाटो छोडेर संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको छ,’ सिंहले भने, ‘०४७ सालको संविधान अनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको हो। प्रधानमन्त्रीले संविधानको बाटो हिडेको भए अस्थिरताको भूमरीमा देशको राजनीति फस्दैन थियो।’ ओलीले पार्टी भित्रको व्यवस्थापन गर्न नसक्दा रिस हुँदै नभएको अधिकार प्रयोग गरी संसद् भंग गरेको भन्दै असंवैधानिक कदम चालेर आफुले गरेको काम सही हो भन्न ओली देश दौडाहमा निस्किएको उनको भनाइ छ। ‘उहाँ (ओली) आफ्नो कदम सही हो भन्दै जिल्ला तिर गइरहनुभएको छ। जनता त्यती मुर्ख छैनन्,’ उनले भने, ‘संविधानको धारा १०० अनुसार विश्वासको मत लिएको भएत उहाँकै नेतृत्वको सरकारले निरन्तरता पाउने थियो नी। किन संविधान भन्दा बाहिर गएर कदम चाल्नुभयो त।’ उनले संसद् विघटनको विषय सर्वोच्च अदालतले हेरिरहेको र अदालतले अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्म अनुसार गर्नेमा आफु विश्वस्त रहेको बताए। असंवैधानिक कदम नसच्चाए मुलुकको राजनीति अध्यारो सरुङमा फस्ने सिंहले बताए । उनले स्वास्थ्य सामाग्री खरिद, ओम्नी काण्ड, यति काण्ड लगायतका दर्जनौं काण्डमा फसेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए। ‘सरकार सुशासन दिनेमा होइन कुशासनमा सफल भएको छ। त्यसको पुष्टि ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदनले गरेको छ,’ उनले भने ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया