NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

वैशाखमा चुनाव गर्न ओलीलाई देउवाको पूरै साथ

काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यसलाई उल्ट्याउनेबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तर, ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि तोकेको चुनावको बारेमा पनि उत्तिकै बहस जारी छ । अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्छ वा गर्दैन भन्ने विषय एकातिर हुँदै गर्दा प्रधानमन्त्री केपी ओली र उनको कदमविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसका सभापति शेरबहादुर देउवाको बोली भने एउटै छ । दुवैको साझा मत छ–वैशाखमा चुनाव हुन्छ । ‘वैशाखमा चुनाव गराएनन् भने ओलीलाई नेपालीहरुले नेपालमा बस्न नसक्ने स्थिति सिर्जना गर्छन् । चुनावमा कुनै बहानाबाजी गर्न पाइदैन । चुनाव गराउने भएपछि सबैले भाग लिन्छन् । प्रचण्डजीहरु पनि चुनावमा आउनुहुन्छ’ प्रदेशसभा निर्वाचन क्षेत्रमा भएको विरोध प्रदर्शनलाई बुढानिलकण्ठमा सम्बोधन गर्दै देउवाले शनिबार भने, ‘चुनाव नगराए ओली प्रजातन्त्रविरोधी तत्वको रुपमा रहनेछन् । ओलीले धनगढीमा चुनाव गराउछुु भनेका छन् । चुनावी तयारीमा पनि हिँडेका छन् । चुनाव गराएनन् भने ओलीलाई नेपालमा बस्न गाह्रो छ ।’ देउवा यतिमैं सीमित भएका थिएनन् । ‘यो प्रतिनिधिसभा विघटन गरेर ओलीले असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेका छन् । तर, मुद्दाका विषयमा अदालतको निर्णय पर्खिनुपर्छ । विचाराधीन मुद्दामा यसो गर उसो गर भन्न हुँदैन । अदालतको निर्णय कांग्रेसले मान्छ’ प्रतिनिधिसभा पुनस्थापना हुनैपर्छ नभनेका देउवाले भने, ‘५ महिना पछि होस् की दुई वर्षपछि होस् चुनावमा जाने हो । चुनाव हुन्छ भनेर चुनावका लागि सधैं तयार हुनुपर्छ । चुनावी तयारीलाई कांग्रेसले अघि बढाउनुपर्छ ।’ अदालतभन्दा ठूलो अदालत जनता भएको भन्दै देउवाले चुनाव नै कांग्रेसको लागि मुख्य प्राथमिकता भएको सन्देश पनि दिए । चुनाव जहिले हुने भए पनि कांग्रेस तयारीमा बस्नुपर्ने देउवाले बताए । अहिले ओलीको कदमको विरोधमा उत्रिए पनि सँगै चुनावको पनि तयारी गर्नुपर्नेमा उनले जोड दिएका थिए । यस अघि पनि पुनस्थापनाभन्दा चुनावमैं जोड दिएका देउवाले पार्टीमा धेरै नै आवाज उठेपछि वडा तहसम्मैं ओलीको कदमविरुद्ध आन्दोलन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । तर, ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकैदिन भएको कार्यक्रम अन्तर्गत देउवाले ओलीविरुद्धको विरोध कार्यक्रमलाई चुनावी तयारीमा लगाउनुपर्ने प्रष्टै बताइदिए । साथै, अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप गर्न नहुने भन्दै प्रतिनिधिसभा पुनस्थापनामा आफ्नो रुची नभएको सन्देश पनि प्रष्टै दिएका छन् । ‘यो प्रतिनिधिसभा विघटनको मुद्दाका विषयमा अदालतको निर्णय पर्खिनुपर्छ । यसो गर उसो गर भन्न हुँदैन । अदालतको निर्णय कांग्रेसले मान्छ ।’ देउवाले भनेका छन् । ओलीको पनि एउटै बोली शनिबार नै युवा संघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले पनि प्रतिनिधिसभा पुनस्थापना नहुने भन्दै वैशाखमा चुनाव भएरै छोड्ने बताए । ‘चुनाव २०७८ वैशाख १७ गते शुक्रबार र २७ गते सोमबार नै हुन्छ । यसमा कोही पनि भ्रम र अन्यौलमा पर्न जरुरी छैन । चुनावमा आँधीवेहरी ल्याउनुपर्छ’ ओलीले भने, ‘केपी ओलीले चुनाव गराउदैन । तानाशाही लागू गर्छ भन्नेहरु छन् । जेलनेल खेपेको, प्रजातन्त्रको लागि लडेका, अनेक पल्ट मर्दै बाँचेको मान्छे हुँ म । ओलीले लोकतन्त्र मास्ने होइन यसलाई रक्षा गर्छ अघि बढाउँछ ।’

ताजा अपडेट

नेपालवाच विशेष