ईश्वर पोखरेल : ओली सरकारका बदनाम अनुहार, विवादै विवादका अर्को नाम

ओखलढुंगाको साविक माम्खा गाविस रुपनालुमा २०१० साल माघ २२ गते जन्मिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल केपी ओली सरकारका एक विवादित अनुहार हुन् । पोखरेल जस्ता पात्रहरुलाई सारथी बनाएर ओलीको रथ कति दिन गुड्ने हो ? आकलन गर्न सकिने अवस्था छैन । काठमाडौँ । प्रधानमन्त्री केपी ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिन्धुली जिल्लाका नेता–कार्यकर्ताहरूसँग २२ पुसमा रमाइलो ‘ठट्टा’ गरे । तर, त्यो ठट्टाको केन्द्रीय पात्र आफू स्वयं भएकोचाहिं उनले पत्तो पाएनन् । सिन्धुलीका नेता–कार्यकर्ता समक्ष पोखरेल भन्दै थिए, ‘तत्कालीन नेकपा (एमाले) ले २०७२ सालको भूकम्पबाट खुला आकाशमुनि बस्न बाध्य सयौं नागरिकलाई घर बनाएर बासको व्यवस्था गरेको थियो, तर यस पटक देश र जनता कोरोनाले ग्रस्त भएका बेला पार्टी कहाँ थियो ? हामीले प्रचण्डलाई पार्टीको कामका लागि छाडिदिएका थियौं, कोरोना महामारी फैलिइरहँदा पार्टी पंत्तीका तर्फबाट उनले के गरे ?’ प्रचण्डका हकमा सोधिएको प्रश्न जायज थियो । किनभने कोरोना संक्रमणको भयावह फैलिरहँदा हजारौं मानिसहरू सयौं किलोमिटर पैदलै हिंडेर थातथलो पुगेका थिए । मानिसहरू सोलुखुम्बुदेखि कैलालीसम्म हिंडेरै गएको कष्टकर यात्राको फोटो र भिडियो सार्वजनिक भइरहेका थिए । ठिक त्यति नै बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निवास खुमलटारमा मासु पकाएर खाँदै थिए । तर, कोरोना महामारीका कारण छाक गुमाएका हजारौं नागरिकका पक्षमा एउटा विज्ञप्तीसम्म उनले निकालेनन् । महामारी कहरबाट छटपटाएका नागरिकका पक्षमा पार्टी परिचालन गर्न उनले निर्देशन पनि दिन सक्थे, त्यति पनि गरेनन् । यस अर्थमा पोखरेलले सोधेको प्रश्न जायज छ । तर, सरकारका तर्फबाट कोरोना कालमा सबैभन्दा ठूलो नालायकी देखाउने र सिङ्गो सरकारकै बदनामी गराउने केन्द्रीय पात्र पोखरेल नै हुन् । ठेकेदारको सेटिङमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता कोरोना संक्रमणको त्रास तीब्र हुँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि नीतिगत र कानुनी प्रबन्ध गर्न प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्रीसमेत रहेका रक्षा मन्त्री पोखरेलको संयोजकत्वमा ‘नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ गरे । १८ फागुन ०७६ मा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेलको संयोजकत्वमा गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, कृषि मन्त्री घनश्याम भुसाल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, पर्यटन मन्त्री योगेशकुमार भट्टराई, अर्थ र संचार मन्त्री डा.युवराज खतिवडा र मूख्य सचिव लोकदर्शक रेग्मी सम्मिलित समिति गठन गरेको थियो । कोरोना रोग नियन्त्रणका लागि आवश्यक र प्रभावकारी कदम चाल्न तथा निर्णय गर्ने जिम्मा पोखरेलका हातमा सुम्पिएर प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए । पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस जाँच गर्ने परीक्षण सामग्रीदेखि अन्य औषधि तथा उपकरणहरू चीनबाट खरिद गरेर ल्याउने निर्णय गर्यो । संसारभर तिब्र रुपमा फैलिएर महाव्याधीको रुप लिएको कोरोना भाइरसको त्रासबाट नागरिकलाई मुक्ति दिलाउनु सरकारको दायित्व नै थियो । तर, यस्तो कहर नियन्त्रण गर्ने दायित्व र जिम्मेवारीभित्र पोखरेलले ‘कमिसन’को अवसर देखे । किनकी यो सबा एक अर्बको स्वास्थ्य सामग्री खरिदको सवाल थियो । कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गरेर आपूर्ति गरिदिने कम्पनी र ठेकेदारको खोजी भयो । ठेक्का दिलाएबापत बढी कमिसन कुन ठेकेदारले दिनसक्छ भन्नेतर्फ पोखरेलको ध्यान सोझियो । पोखरेलले खरिद प्रकृयाका सम्पूर्ण मापदण्ड मिचेर ‘कमिसन’ को प्रभावमा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई) नामक विवादित कम्पनीलाई स्वास्थ्य सामग्री खरिदको ठेक्का सुम्पिए । दर्जनौं स्वास्थ्य सामग्री आपूर्तिकर्ताका भीडमा स्वास्थ्य सामग्री खरिदमा कुनै अनुभव नै नभएको ओम्नीलाई ‘सेटिङ’ मा अर्बमाथिको ठेक्का दिलाइयो । कम्पनीले कमसल गुणस्तरका सामग्री मात्र ल्याएन, प्रचलित मूल्य भन्दा दोब्बर मूल्यसुची देखायो । यो घटनाले कोरोना महाव्याधीको त्रासले घरभित्र थुनिएका नागरिकमा झन् बढी डर थप्ने काम गर्यो भने राज्य कोषमा एक अर्बभन्दा बढीको ‘चुना’ लाग्यो । सरकारी जग्गा कौडीको भाउमा व्यापारीलाई नेपाल ट्रस्टको स्वामित्वमा रहेको सरकारी जग्गा व्यापारीहरू ल्याक्पा सोनाम र आङछिरिङ शेर्पाको हातमा कौडीको भाउमा सुम्पनेमा पनि पोखरेलकै मुख्य भूमिका रह्यो । लिज सम्झौता अवधि ६ वर्ष बाँकी छँदै थप २५ वर्षका लागि ट्रष्टले कात्तिक ०७६ मा गोकर्ण फरेस्ट रिर्सोटको लिज सम्झौता थप गरिदियो, कौडीकै भाउमा । रिर्सोटले चर्चेको दुई हजार सात सय ९२ रोपनी जग्गा यती समुहलाई दिन संसद्बाट कानुन संशोधनसम्म गरिएको थियो । नेपाल ट्रष्टको सञ्चालक समिति अध्यक्षका हिसाबले यसमा पोखरेलको मुख्य भूमिका थियो ।यसले सरकारलाई निकै विवादित बनायो । सेनामा पनि किचलो पोखरेलका विवाद यतिमामात्र सीमित छैनन् । असार ०७५ मा नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले चेन अफ कमाण्ड नै बिग्रने गरी ४७ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) हरूलाई महासेनानी (फुल कर्णेल) मा बढुवा गरे । त्यो विवादास्पद बढुवाका लागि उनले बैशाख पहिलो साता नै पोखरेल नेतृत्वको रक्षा मन्त्रालयमा ‘फाईल’ पठाएका थिए । अन्यायमा परेका केही कर्णेलहरूले विभागीय मन्त्रीका नाताले पोखरेलसँग भेट गरी क्षेत्रीको बदमासीको वर्णन गरे । कर्णेलहरूका मुखबाट क्षत्रीको बदमासी सुनेपछि पोखरेल जिब्रो टोक्दै ‘मलाई यस्तो कुरा थाहा नै थिएन, क्षेत्री यतिसम्म घुस्याहा भएको, तपाईंहरूमाथि यति ठूलो अन्याय गरेको पनि थाहा थिएन, यो बिवादास्पद बढुवा म हुन दिन्न’ भनेका त्यसबेला पोखरेललाई भेटेका एक जना कर्णेल नेपालवाचलाई बताउँछन् ।पोखरेलले विवादास्पद बढुवाको त्यो फाइल झण्डै अढाई महिना रोके पनि । यो घटनाबारे जानकार नेपाली सेनाका एक जना कर्णेलका अनुसार अढाई महिनापछि पोखरेलले त्यही बिवादास्पद बढुवा सिफारिसको फाइल मन्त्रिपरिषद्मा पेश गरेर सदर गर्न सफल भए । स्रोतका अनुसार आफूले गरेको बढुवाको फाईल रक्षा मन्त्रीले रोकिएपछि प्रधान सेनापति क्षेत्रीको प्रतिष्ठा दाउमा थियो । त्यसैले त्यो फाइल जस्ताको तस्तै पारित गराउन क्षेत्रीले मन्त्री पोखरेलको धापासीस्थित घरमा इन्जिनियरिङ पल्टन पठाएर भव्य ‘डेकोरेशन’ समेत गरियो । त्यतिमात्र होईन, नेपाली सेनाकै एक महासेनानीको दावी अनुसार त्यो फाइल स्वीकृत गराउन रक्षा मन्त्रीलाई आर्थिक प्रलोभनमा पारिएको थियो । अढाई महिनासम्म पोखरेलले फाइल रोकेर पछि जस्ताको तस्तै सदर हुनु र पोखरेलको प्रवृतिले पनि ति महासेनानीको भनाईलाई प्रमाणित गर्छ । यस्तो छ पोखरेलको पृष्ठभूमि ओखलढुंगाको साविक माम्खा गाविस रुपनालुमा २२ माघ ०१० मा जन्मिएका हुन्, पोखरेल । पोखरेल परिवारको पुख्र्यौली पेसा ‘जजमानी’ (पण्डित्याईं) हो । पेटभरी खानै धौधौ पर्ने आर्थिक रुपमा कमजोर परिवारमा उनी जन्मेका हुन् । ओखलढुंगाबाटै एसएलसी पास गरेपछि थप अध्ययनका लागि आफन्तको सहयोगमा उनी जनकपुर झरे । जनकपुर कांग्रेसको गढ भए पनि संयोगले पोखरेल वामपन्थी प्रभावमा पुगे । माधवकुमार नेपालको संगतमा पुगेपछि उनी वाम राजनीतिमा आर्कषित भएका थिए । रौतहट जन्मथलो भएका नेपाल त्यसबेला बैंकमा खजान्ची (बैंकमा आएको पैसा गन्ने) मा कार्यरत हुनुका साथै भूमिगत रुपमा वाम संगठन विस्तारमा लागेका थिए । सीपी मैनाली, मदन भण्डारी, नेपाल लगायतको अग्रसरतामा २५ जेठ ०३२ मा विराटनगरको महेन्द्र मोरङ क्याम्पसको आडमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र स्थापना भयो । कोअर्डिनेसन केन्द्रको नौ सदस्यमध्ये पोखरेल एक थिए भने संगठनको महासचिव सीपी मैनाली चुनिए । केन्द्रको सदस्यमा मैनाली, नेपाल र पोखरेलसहित झलनाथ खनाल, गोविन्द न्यौपाने, अमृत बोहरा, मुकुन्द न्यौपाने, मणिलाल राई र रामचन्द्र यादव थिए । त्यसबेला पोखरेल २२ वर्षका थिए । जु“गाको रेखी नफक्रँदै पोखरेल वाम राजनीतिमा आवद्ध भएका थिए । यसैबीचमा उनको परिवार ओखलढुंगाबाट झापा झर्यो । भण्डारीको अगुवाइमा ११ पुस ०३५ मा मोरङको इटहरामा भएको सम्मेलनबाट कोअर्डिनेसन केन्द्र नेकपा मालेमा रूपान्तरण भयो । पोखरेल मालेका पनि संस्थापक सदस्य हुन् । त्यसबेला वामदेव गौतम जेलमा थिए । त्यसैले मालेको संस्थापक हुनेमा पोखरेल वामदेव गौतम भन्दा वरिष्ठ हुन् । २०३७ सालमा जेलबाट छुटेपछिमात्रै गौतम मालेको केन्द्रीय कमिटीमा पुगेका थिए । यो बेग्लै कुरा हो कि मालेको केन्द्रीय कमिटीमा भण्डारी, नेपाल, पोखरेलहरूलाई उछिनेर ०३९ सालको पार्टीभित्रको बिवादपछि खनाल महासचिव हत्याउन सफल भए । पार्टी विधान नै हेरफेर गरेर गौतम ०५१ मै उपमहासचिव चुनिए । १४ मंसिर ०५१ मा तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो । त्यो सरकार नौ महिनासम्म टिक्यो । पोखरेल प्रधानमन्त्री अधिकारीका प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भए । त्यसबेला एमालेले स–साना नियुक्तिहरू पनि पार्टी बैठक बसेरमात्र गथ्र्यो । पोखरेलले माथिल्लो जिम्मेवारी पाएको यही नै पहिलो हो । त्यसपछि भने उनले कहिल्यै पछि फर्केर हेर्नु परेन । बरु ‘हिड्दै छ, पाईलो मेट्दैछ’ उखान सरी जति ‘सफलता’ को सि“ढी चढ्दै गए, विगतका अभाव र दिनहिनका पीडाहरू भुल्दै गए । बिवाद अनेकौं २१ असार ०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भरतमोहन अधिकारीको नेतृत्वमा एमाले पनि सामेल भयो । संयुक्त सरकारमा पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । त्यही साल पुसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएपछि त्यसविरुद्ध विद्यार्थीहरू आन्दोलित भए । विभागीय मन्त्रीका हैसियतमा पोखरेलले ‘पेट्रोलियम पदार्थको मूल्य घटाए आत्महत्या गर्नुको विकल्प नभएको’ अभिव्यक्ति दिए । मन्त्री भएकै बेला पोखरेलेले बिवादास्पद छवीका उपेन्द्र कोइरालालाई नेपाल आयल निगमको प्रमुख बनाएका थिए । पछि, उनै कोइरालाकी छोरीसँग आफ्नो जेठो छोराको बिहे गरिदिए । उनै कोइराला (सम्धी) लाई केही समयअघि पोखरेलले राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाउनेगरी सञ्चालक समितिमा भित्र्याए । तर, चौतर्फि आलोचना भएपछि बिहीबार कोइरालाले समिति सदस्यबाट राजीनामा दिए । देउवा सरकारको मन्त्री भएकै बेला १९ माघ ०६१ मा राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए । त्यसबेला पोखरेल राजविराज पुगेका थिए । उनलाई त्यहीं पक्राउ गरियो र थुनामा राखियो । त्यही बेला काठमाडौंस्थित धुम्बाराही शंखपार्क छेउको उनको घरको ट्याङकीमा पैसा भेटिएको प्रचार भयो । त्यसैले कतिपय आलोचकहरूले पोखरेललाई ‘ट्याङ्की’ उपनामसमेत दिए । यद्यपि, पोखरेलले पैसा कसले बरामद गरेको हो ? प्रमाण दिन चुनौती दिदै आएका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा एमालेले पोखरेललाई ३ जेठ ०६९ मा उपप्रधानमन्त्रीको भूमिकामा मन्त्रिपरिषद्मा पठाएको थियो । राष्ट्रिय सहमतिको सरकार बनाइ संविधान जारी गर्ने सहमतिमा त्यस बेला कांग्रेसबाट कृष्णप्रसाद सिटौला र एमालेबाट पोखरेल सरकारमा सहभागी भएका थिए । तर, सहमति हुन त सकेन नै, १४ जेठ ०६९ को मध्यरात संविधान सभा भंग भयो । यससँगै पोखरेलको मन्त्री पद पनि गयो । त्यस बेला पोखरेललाई ‘पार्टीहरूबीच सहमति गराउन भन्दा भाँजो हाल्न लागि परेको’ आक्षेप लागेको थियो । यसबेला पनि ओली र प्रचण्डको सम्वन्ध चिसो बनाउन सबैभन्दा खलनायकी भूमिका पोखरेलले नै खेलेको आरोप लागिरहेको छ । ०६४ र ०७० को संविधान सभा निर्वाचनमा काठमाडौंको साविक क्षेत्र नंं. ५ बाट पोखरेल कांग्रेस नेता नरहरि आचार्यस“ग दुवै पटक पराजित भए । तत्कालीन एमालेका तर्फबाट पोखरेल माओवादी लडाकुको सेना समायोजन विशेष समितिमा गएका थिए । समितिमा रहेर पोखरेलले मन्त्रीसरह सुविधा भोग गरेका थिए । पोखरेलसँग लामो संगत भएका प्रचण्ड–नेपाल समुहको नेकपाका एक स्थायी समिति सदस्यका भनाइमा पोखरेल असाध्यै अवसरवादी चरित्रका नेता हुन् । उनका अनुसार पोखरेलले आजसम्म कसैलाई भरपर्दो साथ दिएका छैनन् । पोखरेल अवसरवादी चरित्रका हुन् भन्ने उनकै शैलीले समेत प्रमाणित गर्छ । फागुन ०६५ मा भएको तत्कालीन नेकपा एमालेको आठौँ महाधिवेशनमा पोखरेल झलनाथ खनाल समुहबाट महासचिव उठेर विजयी भएका थिए । असार ०७१ को नवौं महाधिवेशनसम्म आइपुग्दा पोखरेल केपी ओली समूहमा पुगेर महासचिव निर्वाचित भए । ओली सरकारमा पोखरले जस्ता बदनाम पात्र बग्रेल्ती छन् । हुन त ओली आफैं पनि पोखरेलभन्दा बिवादास्पद र दयनीय अवस्थाबाट हुर्किएका पात्र हुन् । सर्वसाधारणका लागि राजनीति गरेको दावी गर्दै आएको ओली–पोखरेल गठबन्धनले जनताले रगत बगाएर ल्याएको लोकतन्त्र र त्यसको जगमा निर्वाचित प्रतिनिधि सभाकै चिरहरण गरेका छन् । यो कदमले लोकतन्त्रकै घा“टी रेटिएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया