NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

स्थानीय तहमा पूँजीगत खर्च बढाउन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरेका हुन । स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न गरेका हुन । यसैबीच अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरेका छन् । यसैगरी प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गरेका छन् । उता, अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फे, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुसहितको बैठकमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको छ । आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ । डा. तुम्बाहाम्फेले बाँकी रहेका पालिकाहरुमा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराएकी छिन् । अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमि सम्बधी समस्यालाई स्थायी रुपमा समाधान गर्ने बताएका छन्। मन्त्री डा. तुम्बाहाम्फेले काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सकृयता जरुरी रहेको बताइन । नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमा नै फोकलपर्सन राखेर काम गर्न जरुरी रहेको बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष