कहिल्यै नभएका ऐतिहासिक काम यो सरकारले गर्याे : ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यो भन्दा अघि नभएका काम यो सरकारले गरेको दाबी गरेका छन् । राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले असाधारण र ऐतिहासिक रुपले काम गरेको दाबी गरेका हुन् । ‘सरकारको काम सबैले देखेका छन् । तर, देखे पनि नदेखेकाजस्तो गरेका छन् तर, काम भएका छन् । असाधारण, ऐतिहासिक र द्रुततर ढंगले काम भएका छन्’ ओलीले भने, ‘योभन्दा पहिले कहिल्यै यसरी काम भएका थिएनन । तथ्य र आँकडाले यही बताउँछ ।’ ओलीले गएको एक आर्थिक वर्षमा ९७९ किमी सडक कालोपत्रे भएको दाबी गरे । कृषिको आधुनिकीकरण, व्यवसायिकका लागि काम भएको उनको भनाई छ । चाँदनी दोधारमा सिंचाईंको लागि थप १० क्युसेक पानी थप दिने समझदारी भएको उनले बताए । ६ महिनाभित्र डिपिआर गरेर चाँदनी दोधारामा सिंचाईं गर्ने उनको भनाई छ । सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र, हरेक प्रदेशमा निर्माण हुने उनको भनाई छ । शिक्षा, स्वास्थ्यमा धेरै नै प्रगति भएको दाबी उनले गरे । ‘सरकारले विकास निर्माणको कामलाई तीव्रताको साथ अघि बढाएको थियो । शिलान्यासमा लेउ लागिसकेको थियो । काम भएको थिएन । सिन्कोसमेत भाँचिएको थिएन तर रानी पोखरी निर्माण गरियो । सात लाख घरहरु निर्माण गरेर जनतामा वितरण गरियो । ऐतिहासिक र सांस्कृतिक धरोहरको पुनर्निर्माण भयो । तर, सरकारका काम सबैले देखेका छन् । काम भएनन् भन्ने होइन’ ओलीले भने, ‘धरहराको निर्माण सम्पन्न हुने बिन्दुतिर पुगेको छ । तर, साथीहरुले देख्नुभएको छैन । काठमाडौंको बाटो, सहरको सौन्दर्यकरण भएका छन् । सरकार बन्नु अघि तराईमा कहीं ढलको व्यवस्था थिएन । अहिले सयौं किमी ढल तराईंमा बनेको छ । तराईंमा ६ हजार हेक्टरमा थप सिंचाई भएको छ । ९२ प्रतिशत बढी विद्युतीकरण थपिएको छ ।’
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया