NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

आजका ‘गुड न्युज’ : भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् । उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन् भने भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो पदक जितिन् । ‘मौला कालिका’ मा बौरिन थाले आन्तरिक पर्यटक कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो । नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए । मन्दिर खुला भएसँगै नवलपरासी, चितवनलगायत देशका विभिन्न स्थानबाट धार्मिक पर्यटक आउन थालेका छन् । चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । संघीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको छ । नेपाल भारत पाइप लाइन ज्वाइन्ट अध्ययन ग्रुप नेपालतर्फका संयोजक वीरेन्द्र गोइतका अनुसार लोथरसम्म सो पाइप लाइन विस्तार कसरी गर्ने, त्यसमा कति खर्च लाग्नेबारे अध्ययन तथा छलफल भइरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ । यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट सो पाइप लाइनमार्फत अमलेखगञ्जस्थित निगमको डिपोमा डिजेल ल्याउने गरेकामा अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको एनओसी प्रदेश २ स्थित प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले बताए । माघ १ बाट नाटकघर खुल्ने कोरोना महामारीका कारण विगत १० महिनादेखि बन्द रहेको नाटकघर खुल्ने भएको छ । नाट्यकर्मीको समूहले आगामी माघ १ बाट नाटकघर खुलाउने निर्णय गरेको हो । मण्डला नाटकघरमा खुलेकै दिन भने नाटक मञ्चन हुने छैन । शिल्पीले साेही दिन नै नयाँ नाटक मञ्चन गर्ने जनाएको छ । कुञ्ज नाटकघरमा भने सोही दिन नाटक मञ्चान हुने/नहुनेबारे छलफल भइसकेको छैन भने कालिकास्थथानस्थित सर्वनाम नाटकघर खुल्ने तयारीमा छैन ।

ताजा अपडेट

नेपालवाच विशेष