NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

माघेसंक्रान्तिमा तारुकामा २१ हल गोरु जुधाइँदै, पशु अधिकारकर्मी भन्छन् – बन्द गरौं

काठमाडौं । कोरोना महामारीको प्रकोपमा पनि नुवाकोटमा गोरु जुधाइ हुने भएको छ । यो वर्ष नुुवाकोटस्थित तारकेश्वर गाउँपालिका–२ तारुकामा २१ हल गोरु जुधाइदैं छ । गोरु जुधाइ सुरु भएको स्थान तारकेश्वर गाउँपालिका –२ स्थित तारुकामा गोरु जुधाइने गाउँपालिकाका वडा अध्यक्ष सम्मरबहादुर आले मगरले बताए । गोसाईंकुण्ड युवा क्लबले विगत १५ वर्षदेखि प्रत्येक वर्ष माघेसंक्रान्तिका दिन तारुकामा गोरु जुधाइ उत्सव आयोजना गर्दै आएको छ । गाउँमा पहिल्यैदेखि चलिआएको चलन भएकाले निरन्तरता दिनकै लागि कार्यक्रम सञ्चालन गर्न लागिएको उनी बताउँछन् । ‘कोभिडको प्रकोप छ कम व्यक्तिलाई निमन्त्रणा गरेर यो वर्ष गोरु जुधाइ आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘अघिल्लो वर्ष भन्दा भिडभाड कम गर्ने योजना छ ।’ तारुकासँगै नुवाकोटकै शिवपुरी नगरपालिकास्थित शेराबगर र पञ्चकन्या नगरपालिका वडा नं —३ मा पनि गोरु जुधाइँदै छ । वेत्रावतीमा गोरु जुधाइने जनाइएको छ । गोरु जुधाइबारेका अनेक कहानी हरेक वर्ष माघेसंक्रान्तिको दिन तारुकामा गोरु जुधाइ हुन्छ । गोरु जुधाइबारे धेरै कहानीहरू छन् । त्यसमध्ये किसानहरूको पौरख प्रतिबिम्बित गर्ने क्रममा कसको गोरु बलियो भनेर प्रदर्शन गर्ने बताइन्छ । त्यस्तै, अर्को कहानी अनुसार राजा जयपृथ्वीबहादुर शाह १० वर्षको हुँदा काठमाडौंको जाडो छल्न आमासँग मामाघर तारुका पुगेका थिए । मामाघरमा भान्जाभान्जीलाई झोलीको देउता भनिन्छ । उनै झोलीका देउतालाई मामाघरमा माघेसंक्रान्तिका दिन गोरु जुधाएर मनोरञ्जन गराइएको र त्यसयता तारुकामा यो चलन चल्दै आएको मान्यता पनि छ । वि.सं. १८४९ मा तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धी भएपछि त्यसको खुसियालीमा गोरु जुधाएर रमाइलो गर्ने चलनको थालनी भएको पनि अर्को कहानी छ । तर, यसैवेला देखि गोरु जुधाउन सुरु भएकोे भन्नेबारे अभिलेख भने अहिलेसम्म फेला परेको छैन । पशु हितमा छैन, तर पनि बन्द भएन पशु अधिकारकर्मी प्रमदा शाह यस्तो क्रियाकलाप पशुको हित विपरित भएको बताउँछिन् । विगत ८ वर्षदेखि गोरु जुधाइको विरोध गर्दै आएपनि हालसम्म केही परिवर्तन हुन नसकेको उनको भनाइ छ । जति कराउँदा पनि सुनुवाइ नभएपछि पशु कल्याण कानुनको प्रतिक्षा गर्नुबाहेकको विकल्प नभएको उनी बताउँछिन् । ‘पैसा कमाउने लालचमा जनावरलाई दुःख दिनु कत्तिको उचित ?,’ उनले भनिन्, ‘त्यसैले परम्परालाई निरन्तरता दिने भनेर व्यापारिकरणमात्रै भएको छ ।’ विगतमा राजालाई देखाउन यस्ता चलन चलेपनि अब समय फेरिएको र परम्परा जोेगाउने नाममा यस्ता क्रियाकलाप पूर्ण रुपमा रोक्नुपर्ने उनले बताइन् । ‘मैदानसम्म ल्याउँदा लट्ठीले घोचेर ल्याउने, जवर्जस्ती जुदाउने गरिएको छ, त्यसरी कृृत्रिम रुपमा जुध्दा सिङ भाँच्चिएर रगत आइरहेको हुन्छ,’ उनले भनिन्, ‘उनीहरूलाई घाउ, चोट, पिडा, दुःख हुन्छ भने त्यो कुरा हामीले समाजमा किन देखाउने ? परम्पराको नाममा यो हिंसा प्रोत्साहन गर्नुबाहेक केही होइन ।’ जनावरमा यसले मनोवैज्ञानिक रुपमा पनि नराम्रो असर पर्ने हुनाले यसबारे सचेत हुनुपर्ने उनले बताइन् । पर्यटनमा यसको प्रभाव छ, अझै व्यवस्थित बनाऔं : दीपकराज जोशी, पूर्वसीईओ, नेपाल पर्यटन बोर्डनेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी यस्ता क्रियाकलापले पर्यटनमा थप आकर्षण थप्ने बताउँछन् । ‘स्पेनमा बुल फाइट हेर्नकै लागि भनेर विश्वभरबाट पर्यटक पुग्छन्,’ उनले भने, ‘हाम्रोमा अलि व्यवस्थित हुँदैन, अझै व्यवस्थित बनाउन सके थप पर्यटन प्रवद्र्धन हुन सक्छ ।’ सामाजिक सञ्जालमा व्यापक प्रचार हुने विषय पनि भएकाले अझै व्यवस्थत बनाउनुपर्नेमा उनले जोड दिए । हरेक विषयलाई अधिकारको पाटोबाट हेर्न नहुने पनि उनले बताए । ‘एकदिन परम्पराको लागि आयोजना गरिएको हो, मर्ने नै गरी जुधाइ हुने पनि त होइन !’ उनले भने । पर्यटन प्रवद्र्धन गर्ने विषयलाई लिएर कटाक्ष गर्दै अर्का पशु कल्याण अभियान्ता उत्तम काफ्ले भन्छन्, ‘हाम्रो धर्म, संस्कृति र सम्पदा त्यत्ति पनि पछि परेका छैनन् कि हामीले गोरु जुधाएरै पर्यटन प्रवद्र्धन गर्नु परोस्,’ उनले भने, ‘पर्यटन प्रवद्र्धन गर्नकै लागि हामीसँग भाषा, संस्कृतिमा यति धनी छौं, ती विषयलाई थाती राखेर नराम्रो कुरालाई किन महत्व दिने ?’ पशु कल्याणको सामान्य सिद्धान्तले जनावरलाई दुःख दिनु हुँदैन भन्छ । तर कृत्रिम रुपमा गोरु जुधाइने परम्पराले अमानवीय व्यवहारलाई बढावा दिइरहेकामा उनले दुःख व्यक्त गरे । ‘आफ्नो मनोरञ्जनको लागि २१ औं शताब्दीमा पनि गोरु जुधाएर हेर्ने भनेपछि हाम्रो सभ्यता कस्तो ?,’ उनले भने, ‘जुधाउने क्रममा जनावर घाइते हुन्छन्, जनावरको तर्फबाट हेर्ने हो भने उनीहरुलाई दुःख दिनेबाहेक त्यो केही होइन ।’

ताजा अपडेट

नेपालवाच विशेष