वामदेवले गरे कित्ताकाट, ओली समूहमा लागेको प्रष्ट संकेत

काठमाडौं । ‘म्याम, तपाईं नेकपा केपी ओली समूहको केन्द्रीय सदस्य मनोनित हुनु भएको रहेछ नि !’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमकी श्रीमती तुलसा थापा गौतमलाई नेपालवाचले प्रश्न गरेको थियो । ‘हो, नेकपाले केन्द्रीय सदस्य राखेको छ, तर म गएको छैन्,’ गौतमले नेपालवाचसँग भनिन्, ‘म अहिले एकता अभियानकै लागि भनेर लागिरहेको छु ।’ एकता अभियानको केन्द्रीय समिति चाहिँ कति सदस्यीय छ ? प्रारम्भिक चरणमै भएकोले संख्या निर्धारण भइनसकेको उनले बताइन् । ५ पुसमा नेकपाभित्र भाँडभैलो भएपछि केही दिन प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै समूहमा नखुलेका उपाध्यक्ष बामदेव गौतम अन्ततः ओली पक्ष निकट देखिएका छन् । गौतम पत्नी तुलसालाई ओली पक्षले आफ्नो समूहको केन्द्रीय सदस्य मनोनित गरेको छ भने छोरा हरिश गौतम ओली समूहको बर्दिया जिल्ला कमिटी सदस्य र सालो (श्रीमतीको भाइ) डम्बरबहादुर थापा ओली पक्षकै बाँके जिल्ला कमिटी सदस्य बनेका छन् । ‘नेकपा बाँके जिल्ला कमिटी सदस्य दाजु कमरेड डम्बरबहादुर थापाका पुत्र, बहिनी शर्मिला थापाको भाइ प्रविन थापाको दुखद् निधनले स्तब्ध भएको छु । घटनामा संग्लन जो कोही होस्, तुरुन्त पक्राउ गरी कडा कारबाही गरियोस् ।’ प्रधानमन्त्री ओली समुहको युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले २ माघको राती ११.२३ मा सामाजिक सञ्जाल फेसबुकका लेखेको पोष्ट हो यो । पौडेलको यो पोष्टमा नाम उल्लेख गरिएका पात्रहरु नेकपाका उपाध्यक्ष गौतमका साला डम्बर र उनका छोरा हुन् । २२ वर्षीय प्रविन राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा जवानका रुपमा कार्यरत थिए । भनिरहनै परेन, फूपाजु गौतमले नै उनलाई विभागमा छिराएका थिए । प्रविनको शव २ माघको दिउँसो नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा खेतमा फेला परेको थियो । यहाँ प्रविनको प्रसंग निकाल्नुको अर्थ के भने उनका बाबु डम्बर नेकपाभित्रको ‘मल्ल युद्ध’ मा ओलीसँग छन् । त्यसैको परिणाम पौडेलले उनीहरूका पक्षमा स्टाटस लेखेका हुन् । डम्बर ओली पक्षमा नउभिएका हुन्थे भने पौडेलले उनीमाथि सहानुभूति दर्शाएर फेसवुकबाट समवेदना नदिने निश्चित थियो । किनभने ओली समूहका भित्रिया पौडेल प्रचण्ड–माधव पक्षधरसँग असाध्यै असहिष्णु छन् । डम्बर उनीहरूका पक्षमा उभिएको पौडेलको सहानुभूतिले प्रष्ट्याउँछ । आफू निकटलाई ओली समूहमा ल्याउन बल गर्दै गौतम गौतम ओली समूहमा सहभागी भइसकेका स्रोतको दावी छ । उनले नेकपा ओली समूहमा श्रीमती, छोरो र सालोलाईमात्र जोडेका छैनन्, आफूसँग विगतमा निकट रहेका व्यक्तिहरूलाई फोन गरेर ओली समूहमा लाग्न जोडबल गरिरहेका छन् । गौतमले फोन गरेर ओली समुहमा खुल्न सुझाव दिएमध्येका एक पात्र हुन्, मंसिर ०७४ मा भएको संघीय प्रतिनिधि सभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित डा. दीपकप्रकाश भट्ट । स्रोतका अनुसार गौतमले भट्टलाई फोन नै गरेर ओली पक्षमा खुल्न भनेका थिए । तर, भट्टले गौतमको सुझावलाई इन्कार गरेका छन् । आफू असार ०७० मा भएको तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै माधव नेपाल समुहमा लागिसकेको नेपालवाचसँग भट्टले बताएका छन् । ०७४ कै संघीय प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट निर्वाचित पूर्व अर्थ राज्य दामोदर भण्डारी, प्रदेश सांसदलगायत गौतम निकटहरू ओली समूहमा खुलेका छन् । यद्यपि लामो समयदेखि ओलीलाई साथ दिँदै आएका केशवलाल श्रेष्ठ, बलराम बाँस्कोटालगायत भने प्रचण्ड–माधव समूहमा पुगेका छन् । गौतमले किसान महासंघको अध्यक्ष नदिएपछि श्रेष्ठ उनीसँग रुष्ट थिए भने बाँस्कोटाले मन्त्री चाहेका थिए । तर, गौतमले हरी पराजुलीलाई मन्त्री बनाएका थिए । स्रोतको दावी अनुसार बाँस्कोटा भने आफ्नो कारणले भन्दा पनि श्रीमती सावित्राका कारण प्रचण्ड-माधव समूहमा आवद्ध भएका हुन् । बाँस्कोटाकी श्रीमती सावित्री पाण्डे प्रचण्ड–माधव समूहमा खुलिसकेकी छिन् । गौतमको दोहोरो भूमिका : ओली समूहमा छिरेर एकता अभियानमा उपाध्यक्ष गौतमले यसबेला नेकपा राष्ट्रिय अभियान सुरु गरेका छन्, विभाजित नेकपाको एकताका लागि भन्दै । तर, स्रोतको दावी के छ भने उनको यो अभियान देखावटी मात्र हो । श्रीमती र छोरा नै ओली पक्षमा लागेकाले वामदेवको कित्ता ‘क्लियर’ भएको नेकपा नेताहरूको बुझाइ छ । यद्यपि, सार्वजनिक रुपमा गौतमले भने कुनै पनि समूहमा नलाग्ने र एकता अभियानको नेतृत्व गर्ने बताउँदै आएका छन् । पछिल्ला दिनमा गौतमले प्रचण्डसँग निकै चित्त दुखाएका छन् । तर, यसको कारण खुलिसकेको छैन । एक जना नेताका भनाइमा केही दिन अघि प्रचण्डले ‘वामदेव गौतम मसँग बिच्कनु भयो, म माफी माग्न तयार छु, लौ न उहाँलाई सम्झाइदिनु प¥यो’ भनेका थिए । त्यही सुझाव लिएर उनी गौतम निवास पनि पुगे । तर, ती नेतासँग गौतमले ‘यो कुरा नगरौं, प्रचण्डलाई तपाईंले भन्दा मैलें बढी चिनेको छु’ भनेका थिए । केही दिन अघि एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदा गौतमले प्रधानमन्त्री ओलीका पक्षमा बढी नै झुकाव देखाएर उनको बचाउ गरेका थिए । ‘गौतमलाई ओलीले ठूलै प्रभावमा पारेर आफ्नो पक्षमा उभ्याएका छन् । गौतम केमा लोभिन्छन् ? उनको कमजोरी के हो ? ओली राम्रैसँग जानकार छन् । मेरो बुझाइमा ओलीले गौतमलाई आर्थिक प्रभावमा पारेको देखिन्छ,’ प्रचण्ड–माधव पक्षका एक जना स्थायी समिति सदस्य नेपालवाचसँग भन्छन्, ‘अपवाद भयो भने अलग कुरा हो । नत्र गौतमले ओली पक्षमा आफ्नो कित्ता क्लियर गरेका छन् ।’
ताजा अपडेट
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
प्रतिक्रिया