मोबाइल नम्बर आफ्नो नाममा दर्ता गर्न नेपाल टेलिकमको आग्रह

काठमाडाैँ । नेपाल टेलिकमले नजिकको कार्यालयमा गएर आफुले प्रयोग गरेको तर अरुको नाममा भएको सिम नामसारी गर्न आग्रह गरेको छ । सरकारले ल्याएको नागरिक एप प्रयोग गर्न मोबाइल नम्बर आफ्नै नाममा हुनुपर्ने व्यवस्थाका कारण सिमकार्ड धनीको नामसारी गर्न आग्रह गरेको हो । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएतापनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको जनाएको छ । नेपाल टेलिकमका ग्राहकहरुले *९२२# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा छ/छैन र नाम मिलेको छ वा छैन भन्ने निश्चित गर्न सक्नेछन् । टेलिकमले सिमकार्ड आफ्नो नाममा नभएमा र सिमकार्डको प्रयोग भएको नाममा त्रृर्टी भएमा सच्याउन नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । सिमकार्डमा नाम परिवर्तन गर्ने तरिका प्रिपेड सिमकार्ड ग्राहकका लागि : अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि तपाईले प्रयोग गरिरहनु भएको छ भने आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधी गर्न सक्नुहुनेछ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ । पोस्टपेड सिमकार्ड ग्राहकका लागि : पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनु पर्नेछ । अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ । नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ । विभिन्न सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्नु कम्पनीको कर्तव्य भएको हुनाले कम्पनीका ग्राहकको विवरण सच्याउन, अद्यावधिक वा नामसारी गर्न तथा सो सम्बन्धमा थप सहजता प्रदान गर्न कम्पनीले अन्य आवश्यक कार्यहरु अगाडि बढाइरहेको परिप्रेक्ष्यमा आगामी दिनमा कम्पनीले थप जानकारीहरु उपलब्ध गराउने जनाएको छ ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया