NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

छापामा आज : एमाले विभाजनतर्फ, जसपामा मतभेद

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले सत्तासिन नेकपाभित्रको किचलो र सत्ता समीकरणमा केन्द्रित रहेर समाचार सम्प्रेषण गरेका छन्। कान्तिपुर दैनिकले ‘एमाले विभाजनतर्फ’ शीर्षकमा मुख्य समाचार छापेको छ। ओली र खनाल–नेपाल समूहले समानान्तर गतिविधि थालेको उल्लेख गर्दै कान्तिपुर अगाडि लेख्छ, ‘प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिचाइँ गर्दै अघि बढेपछि सत्तारूढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ। ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको छ । सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रूपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कोरेको हो।’ नयाँ पत्रिकाले ‘ओलीले एमाले विभाजन गर्न खोजेको नेपाल–खनालको निष्कर्षः एकलौटी निर्णय खारेज नगरे बैठकमा नजाने’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ। नयाँ पत्रिका लेख्छ, ‘एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन गर्न खोजेको निष्कर्ष निकाल्दै माधवकुमार नेपाल–झलनाथ खनाल समूहले एकता जोगाउन तीन सर्त सारेको छ । सर्त पूरा भए मात्रै ७ चैतमा बोलाइएको बैठकमा सहभागी हुने यो समूहको योजना छ ।’ नयाँ पत्रिकाले ‘नयाँ सरकारका लागि म्याराथन अभ्यास’ शीर्षकमा मुख्य समाचार लेखेको छ। समाचार अनुसार सत्ता समीकरणमा निर्णायक ठानिएको जनता समाजवादी पार्टीमा मतभेद देखा परेको छ। नागरिक दैनिकले ‘ओलीविरुद्ध नेपाल समूह राष्ट्रिय अभियानमा’ शीर्षकमा समाचार छापेको छ। नागरिक लेख्छ, ‘नेपाल समूहको शनिबार बसेको केन्द्रीय समिति बैठकले ओलीद्वारा शुक्रबार चालिएको कदमपछि उत्पन्न परिस्थितिले पार्टीमा गम्भीर रूपमा विचलन ल्याएको निष्कर्ष निकालेको छ। छलफलका क्रममा नेपाल समूहका सांसदसहित केन्द्रीय सदस्यहरूले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरू हरहमेसा तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने तर ओली प्रवृत्तिविरुद्ध कडा संघर्ष गर्नुपरे पछि नहट्ने धारणा राखेको स्रोतले बतायो। अधिकांश सदस्यले पार्टी एकीकृत हुँदाको अन्तरसंघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएको अवस्था र यसबीचमा पार्टी अध्यक्ष ओलीले गरेको व्यवहारका आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने भएकाले नयाँ विकल्पबारे रणनीति तय गर्न राष्ट्रिय भेला बोलाउनुपर्ने सुझाव दिएका थिए।’ अन्नपूर्ण पोस्टले ‘नेपाल खेमाको समानान्तर अभ्यास’ शीर्षकमा मुख्य समाचार छापेको छ। अन्नपूर्ण लेख्छ, ‘सत्तारूढ दल एमालेमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर अभ्यास थालेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले विभाग र प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेपछि आक्रोशित नेपाल–खनाल समूहले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। भेलाको तयारीका लागि भन्दै सातै प्रदेशमा छुट्टै इन्चार्ज र केही विभागीय जिम्मेवारी तोकिएको छ।’ आजको गोरखापत्रले ‘अरुण तेस्रो निर्माणसँगै स्थानीय विकासमा तीव्रता’ शीर्षकमा मुख्य समाचार छापेको छ। गोरखापत्र अगाडि लेख्छ, ‘अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य भइरहँदा स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यो परियोजना निर्माणले स्थानीय बासिन्दालाई सडक, विद्यालयलगायतका पूर्वाधार निर्माण, सीपमूलक तालिम, रोजगारी, आयआर्जन, स्वास्थ्य, शिक्षाजस्ता अवसर प्राप्त भएको छ । एक खर्ब ४८ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो परियोजनाको २०७३ चैतदेखि निर्माण सुरु भएको हो । हालसम्म ४० प्रतिशत प्रगति रहेको परियोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ । यसको ४२८ मिटरको डाइभर्सन सुरुङ निर्माण भई पानी पथान्तरणसमेत भएको छ । कुल ११।७ किमि मुख्य सुरुङ, बाँध र विद्युत् गृहको काम भइरहेको छ ।’

ताजा अपडेट

नेपालवाच विशेष