बाजुरामा बालगृहलाई आर्थिक संकलनः अभियान्ता भन्छन्–‘४३ लाख दिएँ’, बालगृह भन्छ–‘३८ लाख मात्रै पायौं’

बाजुराको बूढिगंगा नगरपालिकामा २०७२ सालदेखि कन्सर्न बाजुराको नामबाट चिनिने बालगृह सञ्चालनमा छ । ०७२ साउनदेखि बाजुरामा स्थापना गरिएको उक्त बालगृहमा स्थापनाकालमा चार जना बालबालिका बस्थे । स्थानीय सहयोगबाट सञ्चालित उक्त बालगृहमा सोही वर्ष थप तीन जना बालबालिका थपिएको अहिलेका कार्यकारी अध्यक्ष बहादुर थापा बताउँछन् । उनका अनुसार सामान्य टीनको टहरामा निर्माण गरेर बालगृहलाई सञ्चालन गरिएको थियो ।स्थानीय जनमानसमा कन्सर्न बाजुराको नामले परिचित बालगृह जिल्ला प्रशासन कार्यलयमा भने ‘अनाथ बालबालिकाको लागि शैक्षिक वातावरणिय केन्द्र’को नामबाट दर्ता गरेर चलाइएको छ । विगत दुई वर्षदेखि बालगृहको कार्यसमितिमा अध्यक्ष रहेका स्थानीय शिक्षक थापाका अनुसार स्थापना कालमा विभिन्न सहयोग जुटाएर बालगृहको सुरुवात गरिएको थियो । संस्थाको अडिट रिपोर्ट अनुसार ०७२÷०७३ मा ९ लाख ६८ हजार ५ सय रुपैयाँ खर्चमा बालगृहको लागि भवन निर्माण गरिएको थियो । स्थापना कालदेखि जसोतसो चलिरहेको बालगृहमा ०७४ सालतिर आफूलाई सामाजिक अभियन्ताको नामले चिनाउने केपी खनाल पुगे । कार्यसमितिमा अध्यक्ष रहेका बहादुर थापाका भतिज गणेश थापाले उनलाई बाजुरा लिएर गएका थिए । त्यहाँ पुगेपछि खनालले २०७४ फागुन महिनादेखि उनले सामाजिक सञ्जालमार्फत चन्दा संकलन गर्न सुरु गरेका थिए । खनालले ‘सके हजार, नसके प्रचार’ भन्दै बजुराको अनाथआश्रमको लागि चन्दा संकलन सुरु गरेका थिए । बाजुराको बूढीगंगा नगरपालिकाको ब्रह्मतोलामा अनाथ आश्रमको निर्माण सुरु गरिएको थियो । केपी खनालले पटक–पटक सामाजिक सञ्जालमा लाइभ आउँदै ‘५० लाखको खर्चमा बन्न लागेको अनाथआश्रमको लागि सहयोग गर्नुहोला’ भन्दै अभियान चलाए । अभियान बालगृहका लागि, रकम संकलन आफ्नो खातामा नेपालको कानुनले कुनै पनि व्यक्तिले कुनै किसिमको अभियान चलाएर चन्दा संकलन वा सहयोग माग्न पाउँदैन । त्यसका लागि कुनै सामाजिक संस्था वा व्यक्तिले आफू खुसीले सहयोग गर्न पाउँछन् । त्यो सहयोग पनि सम्बन्धित संस्था वा व्यक्तिलाई प्रत्यक्ष रुपमा हुनुपर्छ । तर, कुनै पनि किसिमको कारण देखाइ सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमार्फत आह्वान गरी वा नगरी कुनै पनि किसिमको राहत, सुविधा दिने वा कुनै प्रयोजनका लागि चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै पनि किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन । तर, खनालले पनि कानुन विपरीत अभियान चलाएर चन्दा संकलन गरे । त्यत्ति मात्रै नभए २०७२ सालमै जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको संस्थाको नाममा उनले आफ्नो खातामा पैसा संकलन गरेका थिए । खनालले एनआइसी एसिया बैंकको खाता नम्बर ४९८७७७१४१०५२४००१ मा बाजुराको बालगृहका लागि भन्दै पैसा संकलन गरे । जबकी उक्त संस्था ०७२ मै जिल्ला प्रसाशन कार्यालय बाजुरामा दर्ता भइसकेको संस्था हो । दर्ता नम्बर ७३५ मा ‘अनाथ बालबािलकाका लागि शैक्षिक वातावरणिय केन्द्र’को नाममा उक्त संस्था दर्ता छ, जसको अंग्रेजीमा नाम ‘Center for child education and environment’ रहेको छ । तर, खनालले भने संस्था हूँदा हुँदै पनि उक्त संस्थाबाट सञ्चालित बालगृहको लागि भन्दै आफ्नो खातामार्फत रकम संकलन गरेका थिए । अभियन्ता भन्छन्, ‘४३ लाख दिएँ’, बालगृहका अध्यक्ष भन्छन्, ‘३८ लाख मात्रै पाएका छौं’ २०७४ फागुनबाट बाजुराको बालगृहका लागि अभियान सुरु गरेका खनालले विभिन्न स्कुल कलेजमा अभियानदेखि विभिन्न ठाउँमा कार्यक्रम गरेर निरन्तर रकम संकलन गरिरहेका थिए । विगत केही वर्ष यता आफूलाई ‘कान्छा अभियन्ता’ रुपमा प्रचार गरेका केपी खनाल ‘क्लिन काष्ठमण्डप’ नामक अभियानबाट चर्चामा आएका हुन् । अछामको रामेरोशनमा जन्मिएका खनाल काठमाडौं आएसँगै अन्य केही सामाजिक अभियन्ताहरुको नजिक आएका थिए । उनीहरुकै बीचको सल्लाहबाट सुरु भएको ‘क्लिन काष्ठमडप’ अभियानलाई पछि केपीले आफ्नो बनाए । ‘सुरुवातमा हामी सबैले मिलेर त्यो अभियानको सुरुवात गरेका थियौं,’ केपीसँगै सुरुवाती दिनमा अभियानमा लागेका अर्का अभियन्ताले भने, ‘तर, हामीसँगै हुँदा पनि उनको बानीदेखि उनले चर्चाको लागि अपनाउन खोजेको बाटोका कारण पछि उनले यो अभियानलाई एक्लो बनाए ।’ क्लिन काष्ठमण्डप अभियानलाई आफ्नो हातमा लिएका खनालले त्यसपछि काठमाडौंका सडकमा आउने, फोहोर उठाउने र फेसबुक लाइभ गर्ने गर्थे । अभियानमा लालबाबु पण्डित, बाबुराम भट्टराईलगायतका राजनीतिक व्यक्तिहरुलाई ल्याउन सकेपछि उनी एकाएक चर्चामा आए । यीनै अभियन्ताले आर्थिक हिसाबले सबैभन्दा बढि रकम संलकन गरेको अभियान थियो, बाजुराको बालगृहको अभियान । उनले सामाजिक सञ्जालमा लाइभ आउँदै अभियानको लागि ‘५० लाखसम्म लाग्ने’ भन्दै प्रचार पनि गरिरहेका थिए । २०७६ वैशाख २८ गतेसम्म उनले यो अभियानबाट ४२ लाख ५२ हजार १०८ रुपैयाँ संकलन गरेको भन्दै आफ्नै फेसबुकमा सार्वजनिक गरेका छन् । रकम संकलन हुने अभियान भने त्यसपछि पनि केही समयसम्म चलेको थियो । यीनै अभियन्तासँग नेपालवाचले कुरा गर्दा उनले बाजुराको अभियानमा ४३ लाख रुपैयाँ सहयोग गरिसकेको बताए । उनले भने, ‘हामीले एक वर्षमा बनाएर हस्तान्तरण गरेका थियौं । हामीले उठाएको पैसा ४३ लाख थियो, त्यही हस्तान्तरण गर्यौं ।’ तर, बाजुराको बालगृहलाई सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष रहेका बहादुर थापाका अनुसार भने उनले हालसम्म ३८ लाख मात्रै दिएका छन् । बालगृहमा ४० जना बालबालिका बस्ने क्षमता अनुसारका तीनवटा भवन रहेको अध्यक्ष थापा बताउँछन् । थापाकाअनुसार प्रत्येक भवनमा ३ कोठा र एउटा हल छ । उनले भने, ‘निर्माण गर्दा तीनवटा भवन चार कोठाको बनाएका थियौं । हामीलाई केपी खनालले ३८ लाख रुपैयाँ दिइसकेका छन् ।’ नेपालवाचले उनीसँग खनालले आफूले ४३ लाख दिएको भन्दै प्रचार गरिरहेको कुरा राख्दा उनले भने, ‘हामीलाई आजसम्म दिएको ३८ लाख मात्रै हो । मसँग एक एक हिसाब छ । अब उसले ४३ लाख दिएको भन्दै प्रचार गर्छ भने त्यो उसको कुरा भयो । त्यो उहाँसँगै सोध्नुहोस् ।’ बालगृहको सम्पूर्ण भवन बनाउन ६१ लाख ९ हजार भन्दा बढि खर्च लागेको थापा बताउँछन् ।यता केपी खनालले आफूले ५० लाख रुपैयाँ दिने भनेर प्रचार गर्दै रकम संकलन गरेका थिए । तर, खनालले भनेअनुसारको रकम भने उनले बालगृहलाई नदिएको थापा बताउँछन् । थापाले भने, ‘उनले हामीलाई ५० लाख रुपैयाँ दिन्छु भनेका थिए । तर, अहिलेसम्म ३८ लाख दिए । यहाँ जसो तसो बालगृह सञ्चालन गरिरहेका छौं । उनले दिन्छु भनेको पैसा अहिले उठाउँदै होलान् ।’ थापा आफूले पाएको रकम ३८ लाख मात्रै भएकाले बाँकी रकम नदिएको र त्यो रकम खनालले अन्तै खर्च गरेको हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘त्यो रकम उठाउँदा उनीहरु भारत गए, कता–कता गए । उसले गणेशलाई पैसा दिएको भए त्यो उसको कुरा हो । तर, मसम्म आइपुगेको पैसा ३८ लाख रुपैयाँ मात्रै हो । उसले प्रत्येक पटक दिएको पैसाको हिसाब म सँग छ ।’ वडाको सहयोगमा सञ्चालित अहिले उक्त बालगृहमा १२ जना बालबालिका रहेका छन् । ०७२ मा चार जना बालबालिका रहँदा कसैको पनि सहयोग नआएको उनी बताउँछन् । पछि विस्तारै बालगृहको प्रचार हुँदै गएपछि केही सहयोग पनि आएको थापा सम्झिन्छन् । केही वर्षअघि देखि भने बालगृह रहेकै बूढिगंगा नगरपालिकाको २ नम्बर वडाले बर्सेनि २ लाख रुपैयाँ दिन थालेको छ । उनी भन्छन्, ‘बालगृहलाई खाने र सञ्चालन गर्ने त्यहि खर्चमा हामीले अहिले सञ्चालन गरिरहेका छौं ।’
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया