NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

झन्डै १५ लाखले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा शनिबारसम्म झन्डै १५ लाख जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म खाेप लगाउनेको संख्या १४ लाख ७८ हजार ५ सय ३८ छ । यो कुल जनसंख्याको करिब ४‍.९ प्रतिशत हो। पहिलो चरणमा गत माघ १४ देखि स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार तथा कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिनेहरुलाई खोप लगाइएको थियो। गत फागुन २३ देखि दोस्रो चरणको अभियान चलिरहेको छ। जसअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइएको छ। पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई समेत यस पटक सामेल गराइएको मन्त्रालयको भनाइ छ। दोस्रो चरणअन्तर्गत शनिबारसम्म १० लाख ३९ हजार ६ सय ५९ जनाले खोप लगाएका छन् । मुलुकमा ६५ वर्षमाथिका वृद्धवृद्धाको संख्या करिब १७ लाख ९२ हजार छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार ६५ वर्षमाथिकालाई खोप लगाइसकेपछि दोस्रो प्राथमिकताको दोस्रो चरणअन्तर्गत ५५ वर्षमाथिकालाई लगाउने प्रक्रिया सुरु हुनेछ। पहिलो चरणमा अपेक्षाभन्दा कमको सहभागीता रहेकोमा दोस्रो चरणमा भने ज्येष्ठ नागरिकको उत्साहप्रद सहभागिता देखिएको छ। पहिलो चरणमा सहभागी भएकालाई दोस्रो मात्रा खोप वैशाख पहिलो साताबाट दिइने तयारी भइरहेको पनि खोप शाखाले जनाएको छ। सामान्यतया पहिलो मात्रा लगाएकाले ८ देखि १२ साताभित्र दोस्रो मात्रा लगाउनुपर्ने चिकित्सकहरु बताउँछन्। नेपालमा हालसम्म २३ लाख ४८ हजार मात्रा ‘कोभिसिल्ड’ खोप भित्रिएको छ। भारतबाट अनुदान र खरिद गरी १०/१० लाख मात्रा खोप ल्याइएको थियो भने कोभाक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार मात्रा खोप आएको थियो। प्रयोगमा ल्याइएको अक्स्फोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाको ‘कोभिसिल्ड’ खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादन भएको हो। सिरमसँगको खरिद सम्झौताअनुसार दोस्रो चरणमा १० लाख खोप यसै सातासम्म काठमाडौं आइपुग्ने बताइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष