NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

राईविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइए पनि प्रदेशसभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । गत फागुन ९ गते संसदमा टेबल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको थियो । तर, मुख्यमन्त्री शेरधन राईको दबावमा सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । नेपाको केन्द्रीय तहमा देखिएको आन्तरिक कलहसँगै मुख्यमन्त्री राईविरुद्ध पनि संसद्मा नेकपाका सांसदले मोर्चाबन्दी गरेका थिए । यस्तै, अहिले उनीविरुद्धको अविश्वासको प्रस्ताव छल्नकै लागि प्रदेशसभाले बैठक बोलाउने र अकस्मात स्थगित गर्ने गरेको छ । सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको सूचना यसअघि नै पठाएको थियो । सर्वोच्चको फैसलापछि नेकपाको तत्कालिन माधव–प्रचण्ड समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमाथिको छलफल के गर्ने भन्ने पनि अन्योल छ । अन्योलताकाबीच सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाएको बैठक स्थगित गरिएको हो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले विषेश कारणले बैठक स्थगित भएको बताए । उनका अनुसार अविश्वासको प्रस्तावमाथिको छलफल के हुन्छ भन्ने निर्णयमा पुगिएको छैन । पराजुलीले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ । सोमबार बैठक सञ्चालन गर्नका लागि आइतबार प्रदेशसभा सदस्यहरुलाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष