NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

माओवादी केन्द्रले अनुशासनको कारबाही गरे यी सांसदको गुम्नेछ पद

नेकपा एमालेतिर लागेका सांसदलाई नेकपा माओवादी केन्द्रले कारबाही गरे १३ जनाको पद रिक्त हुनेछ। जसअनुसार प्रतिनिधिसभाका ४, राष्ट्रिय सभाका २ र प्रदेशसभाका ७ सांसदको पद गुम्नेछ। माओवादी केन्द्रले २४ घण्टे समयसीमा दिँदै आफ्ना सबै नेताहरुलाई पार्टीमा फर्किन हिजाे २९ फागुनमा निर्देशन दिएकाे थियो। उसले बहालवाला मन्त्रीहरुलाई समेत फिर्ता बोलाएको थियो। तर हालसम्म कुनै पनि नेताले फर्किने सूचना नदिएका माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए। आज बसेकाे माओवादी केन्द्रीय कमिटी बैठकमा ति नेताहरुलाई अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने एजेन्डा राखिएको छ। ति नेताहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिए उनीहरुको सांसद पद गुम्नेछ। त्यसोभएमा हाल प्रतिनिधिसभामा ५३ सिट रहेको माओवादी केन्द्र ४९ सिटमा खुम्चिनेछ। माओवादीबाट प्रतिनिधसभामा सांसद बनेका टोपबहादुर रायमाझी (अर्घाखाँची), लेखराज भट्ट (कैलाली-४), गौरीशंकर चौधरी (कैलाली-३) र प्रभु साह (रौतहट-३) को सांसद पद गुम्नेछ। यी चारैजना बहालवाला मन्त्रीसमेत हुन्। त्यस्तै, राष्ट्रियसभाअन्तर्गत रामबहादुर थापा र चन्द्रबहादुर खड्का पनि सांसद पदविहीन हुनेछन्। थापा गृहमन्त्रीसमेत हुन्। प्रदेशसभातर्फ प्रदेश १ का टंक आङवोहाङ, प्रदेश २ की ज्वालाकुमारी साह, लुम्बिनीका दधिराम न्यौपाने, दिनेश पन्थी, कर्णालीका ठम्मर विष्ट, धर्मराज रेग्मी र सुदूरपश्चिमका झपट बोहरा पनि सांसद रहने छैनन्। अस्ति फागुन २८ मा माओवादी केन्द्रका २३ नेतालाई एमालेकाे ओली पक्षले केन्द्रीय सदस्य नियुक्त गरिसकेको छ। जसमध्ये कतिपय नेताहरुले माओवादी पार्टी नफर्किने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि त्यसको समर्थन गर्दै उनीहरु ओली पक्षमा खुलेका थिए। उता माधवकुमार नेपाल पक्षका नेताहरु भने पुष्पकमल दाहाल पक्षसँग मिलेका थिए। तर सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेपाल पक्ष पुनः एमालेमै फर्किएको थियो। एमालेका समेत अध्यक्ष रहेका ओलीले पार्टी पदाधिकारी तथा जिम्मेवारी हेरफेर गरी आफूलाई एक्ल्याउने खेलमा लागेको भन्दै नेपाल पक्षले आफ्नो छुट्टै राष्ट्रिय भेलासमेत डाकेको छ। पार्टीभित्रै रहेर संघर्ष गर्ने या नयाँ विकल्पमा जाने भन्ने सम्बन्धमा उक्त भेलाले निष्कर्ष निकाल्ने एक नेताले बताए।

ताजा अपडेट

नेपालवाच विशेष