NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

सडक निर्माणमा कुनै प्रकारको त्रुटि नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नगर्न निर्देशन दिएका छन् । आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका हुन् । उनले अब बन्ने सडकहरु कच्चा वा असुरक्षित बन्न नहुने बताएका छन् । ‘सडक सुरक्षालाई ध्यान दिइएन भने, जनताको जीउधनको रक्षा हुँदैन । त्यसैले अब बन्ने सडकहरु कच्चा वा असुरक्षित हुनुहुँदैन ।’ पक्की भनेको कालोपत्रे मात्रै होइन प्रधानमन्त्री ओलीले पक्की सडक भन्नाले कालोपत्रे मात्रै नभएको बताएका छन् । त्यसको सबै क्षेत्र सुरक्षित हुनुपर्ने उल्लेख गरे । ‘पक्की भन्नाले कालोपत्रे मात्रै होइन, त्यसको किनारमा पक्की हुनुपर्छ । त्यसको भित्तातिर पक्की हुनुपर्छ । पहिरोबाट सुरक्षित हुनुपर्छ । किनारबाट गाडी नखसोस् । त्यसप्रकारको डिफेन्स वालहरुसहित, पिलहरुसहित राखिएका सडक हुनुपर्छ ।’ उनले जुनसुकै तहको सरकारले बनाए पनि अब बन्ने सडक राम्रो, फराकिलो, पक्की र सुरक्षित हुनुपर्ने बताए । ‘चाहे स्थानीय तह, प्रदेश वा संघीय सरकार जहाँसुकैबाट निर्माण भए पनि अब बन्ने बाटाहरु राम्रा, फराकिला, पक्की र सुरक्षित हुनुपर्छ,’ उनले भने । त्रुटिले बढी दुर्घटना हुन्छन् प्रधानमन्त्री ओलीले सडक निर्माणका बेला प्राविधिक त्रुटि बढी भएमा दुर्घटना हुने बताए । ‘हामीले अहिलेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा लिएको अनुभवलाई हेरेर सडक निर्माण गर्नुपर्दछ । दुर्घटना हुने सम्भावना भएका प्राविधिक त्रुटिहरु हुनुहुँदैन । प्राविधिक त्रुटिले नै दुर्घटना हुन्छ,’ ओलीले भने । उनले बाटोमा हिँड्ने यात्री र सवारी मात्रै होइन, बाटो आफ्नैको पनि सुरक्षा हुन आवश्यक रहेको बताए । पहिरो जाने खालको, भत्किने र असुरक्षित भयो भने यात्रुहरुले सुरक्षित आभास गर्नसक्ने ओलीको भनाइ छ । ‘बाटो माथि हेर्दा कालोपत्रे तर राम्रो सुरक्षित छैन । बाटो आफैं सुरक्षित छैन र बाटोले यात्रु र सवारीलाई सुरक्षित राख्ने प्रबन्ध गरेको छैन भने ती बाटाहरु दुर्घटनाका कारक हुन्छन्’, ओलीले उल्लेख गरे । जनताको जीवन रक्षा नै महत्वपूर्ण प्रधानमन्त्री ओलीले जहिले पनि आफ्नो प्राथमिकतामा जनताको जीवन रक्षा नै भएको बर्ता । त्यसकै लागि सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको ओलीको भनाइ छ । उनले भने, ‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण छ । त्यसका लागि हाम्रो सम्पूर्ण प्रयास केन्द्रित छ । जनताको जीवन रक्षा र सुरक्षालाई केन्द्र भागमा राखेर हाम्रा हरेक गतिविधि सञ्चालन गरेका हुन्छौं । जनतालाई सुरक्षित राख्ने, सेवा दिने । उनीहरुलाई सुखानुभूतिको अवस्था सिर्जना गर्ने नै हाम्रो काम हुनेछ ।’

ताजा अपडेट

नेपालवाच विशेष