बिएण्डसीलाई सम्बन्धन दिन गोप्य सम्झौता भएको भन्दै बीपीका चिकित्सक आन्दोलित

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षा मन्त्रालयको क्षेत्राधिकार बाहिर गएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौं विश्वविद्यालयबीच गरिएको गोप्य सम्झौताको विरोध गर्दै बीपी प्रतिष्ठानका चिकित्सकहरु आन्दोलित भएका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रतिष्ठानलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालयको सभामा ठाडो प्रस्ताव लगि बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेपछि प्रतिष्ठानका चिकित्सक र कर्मचारी आइतबारदेखि आन्दोलित भएका हुन् । शिक्षामन्त्री श्रेष्ठले गत बुधबार बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापालाई मन्त्रालयमा बोलाई समझदारी पत्रमा बिएण्डसीलाई सम्बन्धन दिन हस्ताक्षर गराएका थिए । उक्त समझादारी पत्र गोप्य राखिएको भन्दै प्रतिष्ठानका चिकित्सकले उपकुपति गिरीको कार्यशैलीविरुद्ध आन्दोलन सुरु गरेका हुन् । बिएण्डसीलाई सम्बन्धन दिने समझदारीपत्रमा तत्काल काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने र त्यसको प्राज्ञिक गतिविधि परीक्षा, निरीक्षण प्रतिवेदन प्रतिष्ठानले तयार गर्ने उल्लेख गरिएको छ । प्रतिष्ठानले आफ्नो ऐन संशोधन गरेर सम्बन्धनको बाटो खोलेपछि काठमाडौं विश्वविद्यालयमा रहेको सम्बन्धनलाई धरानमै सार्ने समेत सहमतिपत्रमा उल्लेख गरिए पश्चात प्रतिष्ठानका चिकित्सकले आपत्ति जनाएका छन् । प्रतिष्ठानको मेडिकल तथा डेण्डल फ्याकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले उपकुलपति गिरीको कार्यकक्ष अगाडि धर्ना दिएर विरोध जनाएका छन् । शिक्षामन्त्रालयमा गरिएको गोप्य सहमति खारेज नगरिए आन्दोलन शसक्त बनाउने चिकित्सकले चेतवनी दिएका छन् । समाजका अध्यक्ष पोखरेलले उपकुलपति गिरी प्रतिष्ठानको उपकुलपति भएर आएपछि प्रतिष्ठानको हितमा भन्दा पनि अहितमा काम गरेका कारण प्रतिष्ठानको अवस्था धरासायी बनाएको आरोप लगाए ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया