कांग्रेसबाट देउवा प्रधानमन्त्री : पहिले हुँदै हुँदैन, अहिले नभै हुँदैन

काठमाडौं । ‘हामी अहिले एउटै ध्यानमा छौं सरकारबाट केपी ओलीलाई विस्थापित गर्नैपर्छ । त्यसपछि कांग्रेसकै नेतृत्वमा सरकार गठनको प्रक्रियालाई अगाडि बढाउने हो । अरु दल र जसपाको नेतृत्वमा सरकार गठन गर्ने कुरा हल्ला मात्रै हुन् ।’ शनिबार नवलपुरको हर्कपुरमा भएको फाइन प्रिन्ट फिभरको घुम्ती साहित्यिक कार्यक्रममा कांग्रेस युवा नेता गगन थापाको भनाई हो यो । तर, ११ फागुनमा प्रतिनिधिसभा पुनस्थापना भएपछि पनि कांग्रेसमा सभापति इतर पक्षले सरकारमा जान कांग्रेसलाई जनादेश नभएको बताउने गरेका थिए । यतिमात्रै होइन एउटै मञ्च र अलग मञ्चबाटसमेत नेता पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताहरु देउवाले सत्ताको लागि खुट्टो उचालेको भन्दै आपत्ति जनाउँथे । तर, जब सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी ब्युँत्याइदियो त्यससपछि भने देउवा इतरका नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापाहरुको बोली फेरिएको छ । पहिले प्रधानमन्त्रीमा देउवाको नाम आउनेवित्तिकै विरोध गर्ने उनीहरु अहिले एक कदम अगाडि सरेर देउवा नभै हुँदैन भन्न थालेका छन् । आखिर किन त ? गत शुक्रबार पौडेल पक्षले भेला नै गरेर सभापति देउवालाई प्रधानमन्त्री बनाउने निर्णय लिएर देउवाको निवास बुढानिलकण्ठ पुगे । पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा देउवालाई अघि बढ्न सुझाए । महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा देउवालाई प्रधानमन्त्रीमा अघि बढ्न सहमति लिएर उनीहरु बुढानिलकण्ठ पुगेका थिए । पौडेलसहित सिटौलापक्षसमेत सहभागी भएर प्रधानमन्त्रीमा अघि बढ्ने गरी संवाद चलाउन देउवालाई आग्रह गरेका थिए । आखिर किन त देउवा नै प्रधानमन्त्री नभै नहुने ? राजनीतिक संकट चुलिंदै गए पछि ६ महिना पनि बाँकी नभएको १४ औं महाधिवेशनमा देउवा हावी हुन्छन् भनेर उनलाई प्रधानमन्त्री बनाउन हुँदैन भन्नेहरु किन एकाएक एक कदम अगाडि आए ? कांग्रेस नेता रामचन्द्र पौडेल आफू संसदमा नभए पनि केपी ओलीले संविधान, विधि, पद्धति र व्यवस्थामा नै धावा बोल्न थालेपछि उनलाई हटाउन कांग्रेस अग्रसर हुनुपर्नेमा आफूले जोड दिएको टिप्पणी गरे । पार्टीभित्रको स्वार्थभन्दा देश, व्यवस्था र संविधानको रक्षामा आफूहरुको चासो स्वभाविक भएको उनी बताउँछन् । ‘केपी ओलीकै कारण परिस्थिति कहाँबाट कहाँ पुगिसक्यो ? उनले संविधान, लोकतन्त्र र व्यवस्था सबैथोक मास्न खोजेपछि उनलाई राख्ने होइन हटाउनुपर्छ भनेर मैंले प्रष्ट रुपमा भनेको हुँ’ पौडेलले नेपालवाचसँग भने, ‘सबैथोक बिगार्न खोज्ने ओलीलाई अब पनि राखिराख्ने हो भने यिनले झन् धेरै चिज बिगार्छन् त्यसैले जिम्मेवार दलको रुपमा कांग्रेस सरकारमा अग्रसर हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ ओली संविधान मास्ने गरी प्रतिनिधिसभा विघटनको कदममा अघि बढेदेखि उनीविरुद्ध आक्रामक रुपले अघि बढ्न सुझाए दिए पनि देउवाले आँट नगरेको उनको भनाई छ । नेकपाको विवाद उत्कर्षमा पुग्दा देउवालाई पौडेलहरुले अविश्वासको प्रस्ताव अघि बढाएर सरकार गिराउने बाटोमा अघि बढ्न देउवालाई सुझाएका थिए । तर, अघिपछि सत्ताको लागि दौडधूप गर्ने देउवाले त्यो समय भने धैर्यता देखाइदिए । कांग्रेस युवा नेता प्रदीप पौडेल एकपछि अर्को गर्दै असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओली नै झन् शक्तिशाली हुन थालेपछि कांग्रेसका नेताहरु यस्तो निचोडमा पुगेका बताउँछन् । ‘ओलीका गतिविधि संविधान, लोकतन्त्र नै मास्ने गरी असंवैधानिक हुँदै गए । सर्वोच्च अदालतले उनको कदम बदर गरे पनि फेरि ओली नै प्रधानमन्त्री हुने सम्भवना बढेर गयो’ पौडेलले नेपालवाचसँग भने, ‘ओलीको असंवैधानिक कदमपछि उनी प्रधानमन्त्री फेरि पनि भइरहँदा संविधान, लोकतन्त्र र नैतिकता नै निम्छरो हुने भएपछि विकल्पमा कांग्रेसले सरकारमा दाबी गर्नुपरेको हो ।’ प्रधानमन्त्रीमा ओलीको विकल्पमा कांग्रेसबाहेक अर्को नदेखिंदा बाध्यता भएको पौडेल बताउँछन् । ‘ओलीको विकल्प कांग्रेसबाहेक कोही नहुने हो भने उनलाई हटाउन काग्रेसले बाध्यात्मक रुपमा सरकारको नेतृत्वको लागि दाबी गरेको हो’ पौडेल भन्छन्, ‘आफूलाई विघटन गर्ने ओलीलाई प्रधानमन्त्रीमा स्वीकार्ने र तिनैलाई मत दिने सांसदले प्रजातन्त्रलाई स्थिरता दिने र विश्वास जगाउने कल्पना पनि गर्न नसकिने हुँदा कांग्रेस अघि सर्नुपरेको हो ।’ कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल झण्डै दुई तिहाई मत पाएर कम्युनिष्ट पार्टीले जनमतलाई कदर नगरेपछि प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वभाविक रहेको बताउँछन् । ‘उहाँहरुले दुई तिहाई हाराहारी मत ल्याएर पनि म्याण्डेट खण्डित भयो, जनमतलाई कदर गर्नुभएन त्यसैले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने हाम्रो कुरा हो’ रिजाल भन्छन्, ‘हामीले सभापतिलाई प्रधानमन्त्रीका लागि समर्थन गरेका छौं । तर, उहाँमा खासै अभिरुचि देखिएन ।’ प्रतिनिधिसभा पुनस्थापना भए पनि नेकपा औपचारिक रुपमा विभाजित नहुँदासम्म कांग्रेसलाई उनीहरु फेरि मिलिहाल्लान् भन्ने संशय पनि थियो । तर, २३ फागुनमा अदालतले एमाले र माओवादी पनि ब्युँत्याइदिएपछि कांग्रेस पनि सत्ताको खेलमा फर्किएको थियो । झन् पछिल्लो दिनमा एमालेमा केपी ओलीले माधव नेपाल पक्षलाई पेलेपछि भने कांग्रेसले आफूलाई सत्ता परिवर्तनको खेलाडि नै सोचेको छ । के छ देउवाको तयारी ? सहमहामन्त्री डा. प्रकाशशरण महत सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए परिवपक्व रुपमा अघि बढ्ने बताउँछन् । ‘पार्टी सभापतिलाई भित्रैबाट प्रधानमन्त्री बन्न कुरा आएका छन् । नहुने भएर भन्या हुन् की हुने भएर भन्या हुन् त्यो आफ्नो ठाउँमा होला तर, बहुमत प्रमुख कुरा हो । अरुबाट संख्या पुर्याउनुपर्छ । अस्वभाविक किसिमले हामी सौदाबाजी गर्दैनौं’ देउवा निकटका नेता महतले नेपालवाचसँग भने, ‘सरकारमा दाबेदारी गर्न सुनिश्चित र संख्या पुग्नेगरी कुराकानी भइरहेको छ ।’ गत शुक्रबार पार्टी भित्रैबाट प्रधानमन्त्रीमा अघि बढ्न अग्रसरता लिन आग्रह गरेलगत्तै देउवाले जसपाका नेताहरुलाई निवासमै बोलाएर भेट गरेका थिए । त्यो भेटमा जसपाले आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने पक्षसँग समझदारी गरेर अघि बढ्ने जनाउ दिएको थियो । फुटपछि ओलीसँग चिढिएको माओवादीसँग पनि कांग्रेस संवादमा छ । प्रचण्डले देउवालाई उनकै निवासमा पुगेर मिलेर अघि बढ्नुपर्ने बतँइसकेका छन् । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादीको ५३ र जसपाको ३२ सिट छ । यी दल एक ठाउँमा उभिए सरकार गठनको लागि बहुमत पुग्छ । बहुमतका लागि १३८ सिट भए पुग्नेमा यी तीन दलको १४६ सिट पुग्छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया