NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ८ गते

नेपालका सहकारी र बैंक हुण्डी कारोबारका अखडा

८० प्रतिशत सहकारीले हुण्डी कारोबार गर्दा विभाग बेखबर

काठमाडौं । सात वर्षदेखि दक्षिण कोरियामा कार्यरत चितवनका प्रज्ज्वल अधिकारी (नाम परिवर्तन) ले केही वर्ष आफ्नो पसिनाको कमाइ रेमिट्यान्समार्फत आफन्तको हातमा पुर्‍याए । यसरी पैसा पठाउन एक त निकै महँगो, अर्को उत्तिकै झण्झटिलो ।

पसिनाको कमाइ पठाउन अनेक भुक्तमान खेप्नुपरेपछि अधिकारी सहज ढंगले रकम पठाउने उपाय खोजीमा लागे । यत्तिकैमा उनले हुण्डी कारोबारीमार्फत सजिलै पैसा पठाउन सकिने थाहा पाए । अहिले उनको पैसा हुण्डी कारोबारीले मोबाइल बैंकिङमार्फत सहकारीमा जम्मा गरिदिन्छन् । परिवारको हातमा परेपछि उनले हुण्डी कारोबारीको बैंक खातामा ।

महँगो शुल्क तिर्नुपर्ने बाध्यता र ठगिने भयबाट बचेर परिवारको हातमा आफ्नो कमाइ पुर्याउन पाउँदा अधिकारी खुसी छन् ।

दक्षिण कोरियामा कार्यरत काभ्रेका रमेश लामा (नाम परिवर्तन) लाई तीन महिनाअघि ३ लाख नेपाली रूपैयाँ घर पठाउनु थियो । उनले कोरियामा हुण्डीको कारोबार गर्ने नेपाली एजेन्टलाई आफ्नो परिवारको नाममा रहेको नेपाल बंगालादेश बैंकको खाता नम्बर पठाए ।

एजेन्टले खातामा रकम जम्मा गरिदए । पैसा जम्मा गरेको बैंकको रसिदको फोटो एजेन्टले पठाएपछि रमेशले मोबाइलबाट कोरियाको हुण्डीका एजेन्टको बैंक खातामा रकम हालिदिए । ‘अहिले त हुण्डीको एजेन्ट को हो थाहै हुदैन, किनकि भेट्नै हुँदैन,’ उनले भने ।

जापानमा रहेका दैलेखका राजन पुरी (नाम परिवर्तन) ले हुण्डी कारोबारीमार्फत रकम पठाउन लागेको धेरै भयो । त्यसका लागि उनी हुण्डी कारोबारी एजेन्टलाई भेट्न कहिले नजिकैको सहर पुग्छन्, कहिले नेपाली रेस्टुरेन्टहरू, सपिङ कम्पेक्स वा रेल स्टेशनहरूमा बोलाउँछन । तर कहिलेकाहीँ छुट्टी नमिल्दा भने नेपालीे एजेन्ट काम गर्ने ठाउँ वा अपार्टमेन्टमै आउँछन् ।

यसरी एजेन्टमार्फत पठाएको रकम सहकारीमार्फत परिवारका सदस्यको हातमा पु¥याउँदै आएको पुरी निसंकोच सुनाउँछन् । पुरीका अनुसार, जापानमा धेरै नेपाली हुण्डीका एजेन्ट छन् । त्यसैले जता पुगे पनि उनीहरू सहजै भेटिने पुरीको अनुभव छ ।

बैंक, सहकारीलगायत वित्तीय संस्थामार्फत विदेशी भूमिबाट हुण्डी कारोबारीमार्फत कसरी रकम भित्रिरहेको छ भन्ने प्रतिनिधि उदाहरण हुन् माथिका घटना । कमजोर निकाय र बढ्दो दण्डहीनताका कारण पछिल्लो समय वित्तीय संस्था हुण्डी कारोबारीको ट्रान्जिट बन्न पुगेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को तथ्यांकले पनि वित्तीय संस्थाहरू अपारदर्शी कार्यमा संलग्न रहेको पुष्टि गर्छ । ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह हुण्डी कारोबारीले अधिकांश सहकारीलाई पैसा पठाउने र पाउने माध्यम बनाएको बताउँछन् । नेपालमा अहिले ३४ हजार ५ सय हाराहारीमा सहकारी छन् ।

‘नेपालमा ८० प्रतिशत हुण्डीको कारोबार सहकारी संस्थामार्फत हुन्छ,’ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह भन्छन, ‘नेपालमा रहेका सहकारीहरूमध्ये अधिकांशलाई हुण्डी कारोबारीले पैसा पठाउने र पाउने माध्यमका रूपमा प्रयोग गरिरहेका छन् ।’

नेपाल–भारत सिमानाका अतिरिक्त कोरिया, जापानलगायत देशबाट आउने हुण्डीको माध्यम परिवर्तन भएको सिंह सुनाउँछन् । यसले अनुसन्धान गर्नसमेत अप्ठ्यारो पारेको सिंहको अनुभव छ ।

‘पहिले नगद पैसा लेन/देन गरेको सूचना प्राप्त हुन्थ्यो र हुण्डी कारोबारीलाई स्रोतबिनाको नगदसहित समात्थ्याैं । अहिले त नेपालका गाँउ–गाउँमा सहकारीहरू छन् । हुण्डीका धेरै कारोवारहरू सहकारी र बैंकहरूबाटै हुन्छन्,’ उनले भने ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि हुण्डीको कारोबार बढेको संकेत गर्छ । चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा गत वर्षको सोही अवधिको भन्दा साढे सात प्रतिशतले रेमिट्यान्स घटेको नेपाल राष्ट्र बैकका प्रवक्ता गुणाकर भट्ट बताउँछन ।

हुण्डी कारोबारले रेमिट्यान्समा असर परे पनि राष्ट्र बैंकले यसको कारण खोज्नेतर्फ तदारुकता देखाएको छैन । प्रवक्ता भट्ट अवैधानिक बाटोबाट रकम भित्रिएकाले यस्तो भएको हुनसक्ने बताउँछन् । तर, राष्ट्र बैंकले यसको ठोस कारण पत्ता लगाउनेतर्फ कुनै प्रयास भने गरेको छैन ।

‘अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स घटेको छ । यसको कारण अवैध ढंगले रकम भित्रिनु नै हो,’ प्रवक्ता भट्टले भने, ‘यसबारे उजुरी पनि आउँदैन । उजुरी गर्ने निकाय राष्ट्र बैंक पनि होइन । यो सिआइबीको कार्यक्षेत्र हो । उसैले अनुसन्धान गरिरहेको होला ।’

प्रविधिले झनै सजिलो

विगतमा हुण्डी कारोबार हाताहाती हुन्थे । लिने र दिने आमनेसामने भएर यो काम गर्नुपर्ने बाध्यता थियो । प्रविधि यस्ता कारोबारीका निम्ति बाँदरलाई लिस्नु हालेजस्तो भएको छ ।

मोबाइल बैंकिङको सहायताले उनीहरूले भर्चुअल माध्यममार्फत हुण्डीको कारोबार गरिरहेका छन् । खासगरी, दक्षिण कोरियाबाट अहिले मोबाइल बैंकिङमार्फत हुण्डी भित्रिरहेको जानकारहरू बताउँछन् । दक्षिण कोरिया नेपाली श्रमिकको सबैभन्दा आकर्षक श्रम गन्तव्य हो ।

ब्युरोका प्रमुख सिंह प्रविधिले हुण्डी कारोबारीलाई फाइदा पुगेको र अनुसन्धानलाई थप जटिल पारेको सुनाउँछन् ।

पहुँचवालालाई सातखत माफी

०७६ साउनमा महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्था सहकारीमा स्रोत नखुलेको ६१ करोड रूपैयाँ फेला पर्‍यो । स्रोत नखुलेको त्यो रकम पूर्व सञ्चारमन्त्री समेत रहेका नेपाली काग्रेसका नेता मोहनबहादुर बस्नेतको भएको र हुण्डी कारोबारबाट आएको सहकारी विभागको दाबी छ ।

पछि यो मामला सम्पत्ति शुद्धीकरण विभाग पुग्यो । विभागले छानबिन गर्ने प्रतिबद्धता जनाएको थियो । तर त्यो अहिलेसम्म प्रतिबद्धतामै सीमित छ । जानकारहरूका अनुसार, हुण्डी कारोबारमा संलग्नहरूलाई सत्ता र पहुँचको आडमा यसैगरी जोगाउने गरिएको छ ।

‘हुण्डी कारोबारमा संलग्न अधिकांशको घाँटी राजनीतिक दलका ठूला नेतासँग छ,’ स्रोत भन्छ, ‘त्यसैले पहिले त यस्ता कारोबारीमाथि कारबाही गर्ने हिम्मत नै कसैले गरेका छैनन् । कथंकदाचित कोही समातिएमा केस कमजोर पारेर ढिसमिस पार्ने गरिएको छ ।’

नियामक बेखबर

सिआइबीको अहिलेसम्म आफ्नो छानबिनको निष्कर्ष सार्वजनिक गरिसकेको त छैन तर उसका अनुसार, देशभरका ८० प्रतिशत सहकारी र उत्तिकै मात्रामा बैंक हुण्डी कारोबारीका सहयोगी बनेका छन् ।

सहकारीमा हुण्डी कारोबार निस्तेज पार्नुमा सहकारीको नियामकारी निकाय सहकारी विभागको भूमिका अपेक्षित छ । तर उदेकको कुरा ८० प्रतिशत सहकारीको यो अनधिकृत कार्यबारे विभाग बेखबर छ ।

विभागका सूचना अधिकारी टोलराज उपाध्याय सहकारीको संलग्नतामा हुण्डी कारोबार भएकोबारे विभागलाई कुनै जानकारी नभएको बताउँछन् । सहकारीले गरिरहेका कामको तथ्यांक नै नरहेको भन्दै उनले निरीहता प्रकट गरे ।

‘सहकारीले के काम गरिरहेका छन् हामीलाई थाहा हुँदैन,’ उपाध्यायले भने । आफ्नो कार्यक्षेत्रभित्रको समस्या समाधानमा विभाग इमान्दारितापूर्वक नउत्रिँदा हुण्डी कारोबार थप आकाशिएको छ ।

(हुण्डीकाे सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८, १३:२१:००

ताजा अपडेट

नेपालवाच विशेष