NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २१ गते

अनि कहिल्यै हुण्डी कारोबारीमार्फत रकम पठाइनँ

काठमाडौं । कैयौं प्रतिस्पर्धीलाई पन्छाएर दक्षिण कोरिया रोजगारीमा जाने परीक्षा उत्तीर्ण गरेका रुकुमका परशुराम वलीले ह्युम पाइप बनाउने कम्पनीमा काम गर्नुपर्ने भयो ।

कामको प्रकृति अलि फरक थियो, छिटोछिटो गर्नुपर्ने । तर कमाइ राम्रो । उनीसँगै अरू चार नेपाली पनि ज्वाइन भएका थिए ।

नेपाली युवाको आकर्षक रोजगार गन्तव्य कोरिया पुगेको ४५ दिनमै उनीमाथि बज्र पर्‍यो । सवारी दुर्घटनामा परेर खुट्टामा ठूलो चोट लाग्यो ।

करिब तीन महिना काममा जानै सकेनन् । धन्न, कम्पनीका मालिक मनकारी रहेछन्, पारिश्रमिक भने निरन्तर दिइरहे।

पहिलो पटक कोरियामा तलब झरेको, तर पठाउने मेसोमेलो वलीले पाएनन् ।

यत्तिकैमा वलीले साथीभाइसँग आफ्नो अप्ठ्यारोबारे बताए– केही रकम घर पठाउनु थियो । कुन माध्यमबाट पठाउँदा सुरक्षित र छरितो होला ?

उनका अन्य चार साथीले दक्षिण कोरिया आययता लगातार हुण्डीमार्फत रकम पठाउँदै आएका थिए । तिनले वलीलाई सुझाए– रेमिट्यान्समार्फत रकम पठाउँदा महँगो र झण्झटिलो हुन्छ । हुण्डी कारोबारीमार्फत पठाउने हो भने कम शुल्कमा छिट्टै परिवारको हात पर्छ ।

दक्षिण कोरियाको लागि वली नयाँ थिए । रकम पठाउने माध्यमबारे उनलाई खास जानकारी थिएन । अझै हुण्डीमार्फत रकम पठाउनु अवैध हो भन्ने ज्ञानको त लेससम्म उनमा थिएन ।

‘एक त दक्षिण कोरियामा नयाँ, त्यसमा पनि रकम पठाएको अनुभव थिएन,’ वलीले विगत सम्झिए, ‘त्यसैले साथीको सुझावलाई अंगीकार गरेर हुण्डीमार्फत रकम पठाउने निधो गरेँ ।’

कम्पनीमा कार्यरत नेपालीमार्फत हुन्डी कारोबारीसँग उनी जोडिए । ती नेपाली नै थिए । कोही राजनीतिक दलका प्रवास संगठनका प्रतिनिधि, कोही एनआरएनका पदाधिकारी त कोही होटल व्यवसायी ।

त्यही चिनजान प्रयोग गरेर उनले कहिले एक लाख, कहिले दुई लाखका हिसाबले आफन्तकोमा पुर्‍याउन पैसाको बिटो थमाए । ।
वली दक्षिण कोरिया पुगेको करिब एक वर्ष पुग्दै थियो । यत्तिकैमा घर–परिवारबाट जग्गा किन्ने प्रस्ताव आयो ।

जग्गा खरिदका लागि सानो रकमले पुग्नेवाला थिएन । त्यसैले परिवारको अपेक्षा उनले अलि धेरै सहयोग गरुन् भन्ने थियो।

तर नियमितजसो नेपालमा रकम पठाइरहेका वलीसँग धेरै रकम थिएन । परिवारले राम्रै योजना अघि सारेकाले यथार्थ बताएर पन्छिन उनको मन मानेन ।

कोरियामा साथीभाइबीच गाह्रोसाह्रो पर्दा सहयोग चल्थ्यो । उनले पनि केहीलाई आर्थिक समस्या हुँदा सहयोग गरेका थिए । उपाय सुझाए– साथीभाइसँग सरसापट गरेर रकम जोहो गर्ने ।

साथीभाइले वचन काटेनन्, रकम खातामा हालिदिए । ख्यालख्यालमै सात लाखको थैली तयार भयो ।

कोरिया आएदेखि नै हुण्डी कारोबारीमार्फत रकम पठाउँदै आएकाले कसरी पठाउने भन्ने प्रश्नमा उनी फेरि अल्झन चाहेनन् ।

‘सुरुदेखि नै हुण्डी कारोबारीमार्फत एक–दुइ लाख रूपैयाँ पठाउँदै आएकाले सात लाखको बिटो परिवारसमक्ष पुर्‍याइदिने जिम्मा उनैलाई लगाएँ,’ उनले हुण्डी कारोबारको पुरानो प्रसंग सम्झिँदै भने ।

हुण्डीवालालाई सात लाखको थैली बुझाउनुपूर्व उनको सर्त थियो– परिवारका सदस्यलाई फोन गरेर भोलिपल्ट नै रकम हातमा हालिदिनुपर्ने ।

नेपाली हुण्डी कारोबारीले आश्वस्त पारे– तपाईं सुर्ता नै नलिनू । भोलि कुनै पनि हालतमा तपाईंको परिवारको हातमा यो रकम पुग्छ ।’

हुण्डी कारोबारीले विगतमा इमान्दारिता देखाएका थिए । त्यसैले वलीलाई थप गलफती गरिराख्न जरुरी लागेन ।

पैसा दिएको २४ घण्टा गुज्रियो । उनले परिवारका सदस्यसँग सम्पर्क गरेर सोधे– रकम हात पर्‍यो त ?

जवाफ आयो– छैन ।

सुरुमा उनलाई लाग्यो– केही प्राविधिक कारणले ढिलाइ हुन गयो होला । दुई दिन, तीन दिन हुँदै एवं रीतले १३ दिन बित्यो तर परिवारको हातमा रकम पुगेन ।

केही दिन हुण्डीवाला निरन्तर सम्पर्कमा थिए । प्राविधिक कारणले ढिलाइ हुन गएको र केही दिनमा रकम पुग्ने आश्वासन फोन गरेपिच्छे दिन्थे ।

तर, १३ दिनपछि पनि घरमा रकम पुगेन, हुण्डीवाला पनि सम्पर्कविहीन । हुण्डीवालालाई वलीले सुम्पिएको सात लाखमा उनको पसिनाको कमाइ मात्र नभएर ऋणसमेत थियो ।

सरसापट र रगत पसिना बगाएर जोहो गरेको यति ठूलो रकम हुण्डीवालाले खाइदिने पो हुन् कि भनेर उनी पिरोलिन थाले । हुण्डीवालालाई समात्ने प्रष्ट आधार नभएकाले यो सुर्ता हुनु स्वभाविक पनि थियो ।

वलीलाई एउटा विषयले अझै बढी पिरोल्थ्यो । उनीसँग कोरियाका एक हुण्डी एजेन्टको सम्पर्क नम्बर थियो, सोधीखोजीका लागि लिएका ।

तर दुर्भाग्य, ती व्यक्ति मोबाइल ‘स्विच्ड अफ’ गरेर सम्पर्कविहीन भइदिए । वलीले त्यतिबेलाको अप्ठ्यारो स्मरण गरे, ‘अवैध ढंगले हुण्डी एजेन्टमार्फत पैसा पठाएकाले उजुरी गर्ने ठाउँ थिएन । म विकल्पहीन थिएँ ।’

सात लाखको मामलाले मन भतभती पोलेको थियो । हुनलाई तन काममा हुन्थ्यो तर मन त्यही हुण्डीवालालाई बुझाएको सात लाखको थैलीमा ।

कार्यस्थलबाट टेलिफोन गर्न पाइँदैनथ्यो । तैपनि उनी ट्वाइलेटमा लुकेर फोन गर्थे । हरेक दिन बिहान–बेलुका जति फोन गरे पनि ‘स्विच्ड अफ’ मोबाइल खुलेन ।

उता जग्गा बिक्री गर्नेले घरमा दबाब बढाउँदै थिए । जग्गाधनीले पर्खंन नसक्ने सन्देश छाडेलगत्तै परिवारकाले ‘लौ न पैसा के भयो’ भनेर फोन गरिहाल्थे । अरू बेला परिवारको फोनले खुसीको सञ्चार गराउँथ्यो मन, मुटुमा । तर हुण्डीवालालाई पैसा पठाएपछि घरबाट आएको हरेक फोन आतंकका ज्वारभाँटा बनेर मथिंगल खल्बल्याउँथे ।

‘सात लाख डुब्ने भयले जीवनमा कहिल्यै नभएको तनाव दियो । दिनमा भोक न रातमा निन्द्राको अवस्थामा पुगेँ,’ उनले भने ।

सात लाख उनले माया मारिसकेका थिए । १३ औं दिन निराशाले उनको मन–साम्राज्य फैलाइसकेको थियो । के मुड चल्यो कुन्नी ? अनायासै हुण्डीवालाको नम्बरमा फोन घुमाए । फ्याट्टै लागिहाल्यो ।

रकम हात पर्ने हो कि होइन ? अन्योल छँदैथियो । तर उनलाई सम्पर्क स्थापित हुँदैमा यति धेरै खुसी मिल्यो कि उनको मुहारको औंसी हटेर एकैछिनमा पूर्णिमाको जुन झैं मुहार चम्कायमान भयो ।

हुण्डीवालाले उनको गुनासो राख्न नपाइ आफ्नो गन्थनमन्थन सुनाए र केही घण्टामा आफन्तको हातमा रकम पर्ने आश्वासन दोहोर्‍याए ।

विगतमा विश्वास गुमाएकाले भरोसा कम थियो । तर उनीसँग पत्याउनुको विकल्प थिएन । १४ औं दिनमा घरबाट रकम हात परेको जानकारी दिँदै फोन आयो । उनको खुसी बेजोडले मुस्कुरायो ।

‘चौधौं दिनमा आफ्नो कमाइ परिवारले पाउँदा आफैंलाई भाग्यमानी ठानें,’ हुण्डीवालाले दिएको लामो तनावबाट मुक्त दिनमा फर्किंदै ओलीले सम्झिए ।

त्यसपछि उनले कहिल्यै दोहोर्‍याएनन् त्यो गल्ती

दक्षिण कोरिया आएको एक वर्षपछि उनले कम्पनी परिवर्तन गरे । त्यो कम्पनीले खाना उत्पादनको काम गथ्र्यो । ह्युम पाइप फ्याक्ट्रीमा भन्दा काम सजिलो थियो, कमाइ राम्रो ।

त्यसपछिका दिनमा महिना/दुई महिनामा वली परिवारलाई रकम पठाइरहन्थे । तर वलीले सात लाख पठाउँदाको त्यो गल्ती त्यसपछिका दिनमा कहिल्यै दोहोर्याएनन् ।

‘जब सात लाख गुम्नै लागेर जोगियो त्यसपछि मैले कहिल्यै हुण्डी गरिनँ । अरूलाई पनि त्यस्तो गल्ती नगर्न सल्लाह दिएँ,’ उनले भने ।

अहिले काठमाडौंमा वलीको आफ्नै व्यवसाय छ । उनी दक्षिण कोरियामा कार्यरत अधिकांश नेपालीले जोखिमपूर्ण ढंगले जसरी हुण्डीवालाबाट रकम पठाइरहेका छन्, त्यसबाट चिन्तित छन् ।

‘दुःखले कमाएको सात लाख हुण्डीकारोबारीमार्फत पठाउँदा झण्डै डुब्न लागेको थियो,’ विदेशमा रहेका नेपालीलाई एकसरो सुझाव दिँदै उनले कुराको बिट मारे, ‘हुण्डीकारोबारीमार्फत रकम पठाउँदा परिवारको हातमा नपर्ने खतरा भएकाले कसैले पनि यो जोखिम नमोल्नु होला ।’

(हुण्डीकाे सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १८:५७:००

ताजा अपडेट

नेपालवाच विशेष