NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कांग्रेस केन्द्रीय सदस्यमा गैरराजनीतिक अनुहार : कस्तो प्रभाव पर्ला ?  

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतगणना बिहीबार सकिएको छ । जसमा १३३ पदमा निर्वाचन भएको थियो । जसबाट १३ पदाधिकारी र १२० केन्द्रीय सदस्यको लागि निर्वाचन भएका छन् ।   कांग्रेसले यसपटकको महाधिवेशनबाट समावेशीकरण र संघीय प्रणालीलाई पालना गर्दै हरेक समूदायका मानिसलाई केन्द्रीय सदस्यदेखि  सहमहामन्त्रीसम्म कोटा छुटुयाएको थियो । जसबाट विभिन्न जाति–समूदायका मानिस केन्दीय समितिमा आए ।  यससँगै, कोही गैरराजनीतिक र केही विभिन्न पेशामा आबद्ध मानिसले पनि कांग्रेसको केन्द्रीय सदस्यमा स्थान बनाउन सफल भएका छन् । यहाँ हामीले तीमध्ये केही चर्चित व्यक्तिबारे जानकारी दिने कोसिस गरेका छौं । कांग्रेसजस्तो मासबेस पार्टीमा गैरराजनीतिक व्यक्तिले केन्द्रीय सदस्यमा जित्नु सामान्य नै भए पनि तिनीहरूले नीति निर्माणमा नकारात्मक प्रभाव पार्लान् कि भन्ने चाहिँ मुख्य चिन्ताको विषय भएको प्राडा कृष्ण पोखरेलले बताए । उमेश श्रेष्ठ शिक्षा व्यवयायी उमेश श्रेष्ठ हालै मात्र कांग्रेस राजनीतिमा उदाएका पात्र हुन् । समानुपातितर्फका सांसद रहेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउनमा स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । गैरराजनीतिक व्यक्तिलाई मन्त्री बनाएको भन्दै पार्टीभित्रै विरोधका स्वर सुनिए । पुनः गत असोजमा मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । २०१२ सालमा भोजपुरमा जन्मिएका श्रेष्ठ अविवाहित हुन् । उनी हाल शैक्षिकसँगै स्वास्थ्य क्षेत्रमा पनि संलग्न छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्वअध्यक्षसमेत हुन् । उनी कांग्रेसमा दोस्रोपटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन् । यसअघि उनी संविधानसभा सदस्य थिए । श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ । उनको बैंक, जलविद्युत् आयोजना, रिसोर्ट, होटेल, कृषि फार्म, निजी वन, हाउजिङ, रियल स्टेट, अस्पताललगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् । श्रेष्ठ आदिवासी जनजाति खुलातर्फको ८ सिटमा दोस्रो स्थान हासिल गर्दै कांग्रेसको केन्द्रीय सदस्यमा पहिलोपटक निर्वाचित भएका हुन् । विनोद चौधरी विनाद चौधरी विश्वकै धनीहरूको सूचीमा परेका नेपाली व्यवसायी हुन् । उनी चौधरी फाउन्डेसनको संस्थापक हुन् । चौधरी ०६९ सालमा नेपालको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।  उनी फोब्सले सन् २०१९ मा सार्वजनिक गरेको अर्बपतिहरूको सूचीमा १३४९ औँ स्थानमा रहेका थिए । चौधरी नेकपा (एमाले) हुँदै कांग्रेस प्रवेश गरेका हुन् । २०६४ सालको पहिलो संविधानसभामा उनलाई एमालेले समानुपातिकतर्फका सभासद बनाएको थियो । ०७४ को प्रतिनिधिसभाको निर्वाचनअघि उनी कांग्रेसमा प्रवेश गरेका हुन् । त्यसपछि उनी समानुपातिकतर्फका सांसद छन् । सभापति देउवासँग निकट रहेका चौधरीको भूमिका कांग्रेसको आर्थिक पाटो सम्हाल्नमा महत्वपूर्ण रहेको बताइन्छ ।  उनै चौधरी भर्खरै सम्पन्न कांग्रेसको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी मधेसी खुलातर्फमा पाँचवटा कोटामा दोस्रो स्थानमा रहँदै निर्वाचित भएका हुन् । डा. आरजु राणा देउवा आरजु राणा देउवा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाकी श्रीमती हुन् । आरजुले भारतबाट मनोविज्ञान विषयमा विद्यावारिधि गरेकी छिन् । आमा प्रतिभा राणा लामो समयदेखि नेपालको राजनीतिमा क्रियाशील भए पनि आरजु भने देउवासँगको विवाहपछि मात्र राजनीतिमा आएकी हुन् । उनीहरूको विहे ०५३ सालमा भएको थियो ।  आरजु कांग्रेसकी समानुपातिक तर्फकी सभासद भएकी थिइन् । ०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा उनी वाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । लामो समय राजनीतिमा लागेकी भए पनि उनलाई अझै पनि एनजिओकर्मीकै रुपमा चिन्ने जमात नेपालमा धेरै छ । उनले महिला सशक्तिकरणका मुद्दा उठाउने गरेकी छिन् ।  भर्खरै सकिएको कांग्रेस महाधिवेशनमा उनले खसआर्य महिलामा उम्मेदवारी दिएकी थिइन् । ८ जनाको कोटामा उनी तेस्रो हुँदै निर्वाचित भइन् ।  राजनीतिमा देउवा सफल हुनुमा आरजुको हात रहेको बताइँने गरेको छ । आरजुको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएकाले देउवालाई सहयोग पुगेको मानिन्छ ।  डा. गोविन्दराज पोखरेल डा. गोविन्दराज पोखरेल पनि कांग्रेसमा गैराजनीतिकले चुनाव जित्नेको सूचीमा पर्छन् । पोखरेल कांग्रेसले लिएको उदार अर्थनीतिको सारथि मानिन्छन् । यसैकारण उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा वा सहभागी हुँदा याजना बनाउने र कार्यन्वयन गर्ने क्षेत्रमा रहेर काम गरे ।  पाेखरेलले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेर काम गरिसकेका छन् । ०७४ को निर्वाचनमा डा. पोखरेल पुनर्निर्माण प्राधिकरणको सिइओे पदबाट राजीनामा दिएर कांग्रेसका तर्फबाट प्यूठान प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए ।  पोखरेल वाम गठबनधनतर्फकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलसँग पराजित भएका थिए । पौडेल नेकपा (एकता केन्द्र मशाल)का महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन् । पोखरेल ०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनपछि कांग्रेस राजनीतिमा देखिनेगरी सकृय भएका हुन् । सो महाधिवेशन उनले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । तर, पराजित भए । सो महाधिवेशनमा खुलातर्फ शीर्ष २५ मा पर्न असफल पोखरेल यसपटक २७ औं स्थानमा रहँदै पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । पोखरेल डा. शेखर कोइराला समूहका उम्मेदवार थिए । अजयबाबु शिवाकोटी अजयबाबु सिवाकोटी सक्रिय पत्रकारिता छोडेको यसै महाधिवेशनदेखि राजनीतिमा आएका हुन् । छोटो समयमै उनी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनको महासचिवसमेत रहेका शिवाकोटी हाम्राकुरा डटकमको पूर्वप्रधानसम्पादक हुन् । शिवाकोटीले तत्कालिन सभामुख कृष्णबहादुर महरा र तत्कालिन सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा प्रकरणलाई बाहिर ल्याएका थिए ।  उनी सम्मिलित हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुव्र्यवहार गगेको आरोप खेपेका निवर्तमान सभामुख महराबारेको समाचार पहिलोपटक सार्वजनिक गरेको थियो । मन्त्री बाँस्कोटा प्रकरणको घुस मागेको अडियो प्रकरणको रिपोर्टिङका कारण पनि शिवाकोटी चर्चामा आएका थिए । यी दुवै प्रकरणमा मुछिएका महरा र बाँस्कोटा राजीनामा दिन बाध्य भएका थिए ।  यसैकारण शिवाकोटी नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल इन्जाले स्थापना गरेको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका थिए । यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर थियो ।  केन्द्रीय सदस्यको खुल्लातर्फ २९ औँ स्थानमा रहँदै शिवाकोटी निर्वाचित भएका छन् । यसलाई उनको ठूलो उपलब्धि मानिएको छ । शिवाकोटी नवनिर्वाचित महामन्त्री गगन थापानिकट पत्रकार मानिन्थे । राजनीतिमा प्रवेश गरेपछि उनी थापासँग झनै निकट भएको मानिएको छ ।   गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा विवादित पृष्ठभूमिका गणेश लामा पनि देउवा प्यानलबाट निर्वाचित भएका छन् । उनी खुलातर्फका ३५ मध्ये ३० औँ स्थानमा रहँदै निर्वाचित भएका हुन् ।  लामा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम हुँदै कांग्रेसमा स्थापित भएका हुन् । लामालाई गच्छदारले समायोजनका क्रममा केन्द्रीय सदस्य बनाएका थिएनन् । यसपटक खुल्लातर्फ निर्वाचित हुँदै लामाले कांग्रेस केन्द्रीय सदस्यमा पहिलोपटक प्रवेश पाएका छन् । गत निर्वाचनमा लामा काभ्रे क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा पराजित भएका थिए । कांग्रेसबाट उम्मेदवार बनेका गणेश वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका चन्द्र लामासँग हारेका थिए ।  लामा नमोबुद्ध नगरपालिका–८ डडाउने पोखरीका स्थायी बासिन्दा हुन् । स्नातक तहसम्म अध्यन गरेका उनले लामा ०४८ सालदेखि राजनीतिमा सक्रिय छन् । निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष, एमालेको युवा संगठन युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष रहेका थिए । उनी पछि फोरमहुँदै कांग्रेसको राजनीतिमा आएका हुन् । यद्यपि, लामा राजनीतिकर्मीभन्दा बढी ‘गुण्डानाइके’को रुपमा चिनिएका छन् । गुण्डागर्दी गरेको र अकुत सम्पति कमाएको अभियोग उनीमाथि छ । यस्तो पृष्ठभूमिका लामाले खुला केन्द्रीय सदस्यमा जित्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।  गैरराजनीतिकले जित्नु ठीक कि बेठीक ?  कांग्रेस मासबेस पार्टी भएकाले यसमा इतिहासदेखि नै सबै किसिमका मानिस अटाउने गरेको राजनीतिक विश्लेषक प्राडा कृष्ण पाखरेल बताउँछन् ।  ‘कांग्रेस मासबेस पार्टी हो । मासमा सबै किसिमका मान्छे हुन्छन्’, नेपालवाचसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस मजदुर आन्दोलनबाट आएको पार्टी भएकाले यहाँ गरिब र सामान्य पृष्ठभूमिका पनि छन् । विनोद चौधरी र उमेश श्रेष्ठजस्ता धनी पनि छन् । त्यतिमात्र होइन गुण्डागर्दीे पृष्ठभूमिबाट आएकासमेत छन् ।’  कांग्रेसजस्तो मासबेस पार्टीमा गैरराजनीतिक व्यक्तिले केन्द्रीय सदस्यमा जित्नु सामान्य नै भए पनि तिनीहरूले नीति निर्माणमा नकारात्मक प्रभाव पार्लान् कि भन्ने चाहिँ मुख्य चिन्ताको विषय भएको प्राडा कृष्ण पोखरेलले बताए । ‘धनीमानीहरू कांग्रेसमा लागेर आफ्नो व्यवसाय सुरक्षित बनाउन चाहन्छन् भने गुण्डागर्दी पृष्ठभूमिकाहरू आफूलाई सुरक्षित अवतरण गर्न चाहन्छन्’, उनी थप्छन्, ‘तर, मुख्य नेतृत्व उनीहरूले पार्ने नकारात्मक प्रभावमा पर्नुभएन । नीति निर्माण गर्ने क्रममा उनीहरूले नेतृत्वलाई प्रभाव पारेर आफूअनुकुल बनाए भने त्यो नकारात्मक हुन्छ ।’