NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

झापामा यसै साताभित्र बुस्टर डोज लगाइने

जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी गरिएको छ ।  स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको हो । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० र भेरोसेल लगाएका करिब १५ हजार जनालाई बुस्टर डोज दिने तयारी छ । उनले पूर्ण खोपको रूपमा जसले पहिलो जे लगाएको छ, उसलाई बुस्टर डोजका रूपमा पनि त्यही खोप दिइने बताए । जिल्लामा १० लाख जनालाई खोप लगाउने लक्ष्यअनुसार चार लाख ७२ हजार ७२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउने तीन लाख ८८ हजार ७८१ रहेका छन् ।  हाल जिल्लाका १५ वटै पालिकामा १८ वर्ष माथिकालाई खोप लगाउने काम धमाधम भइरहेको छ । जिल्लामा बुस्टर डोज दिन थप ६० हजार डोज खोप स्वास्थ्य मन्त्रालयसँग माग गरिएको लुइँटेलले बताए । खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेकालाई मात्र बुस्टर डोज दिइनेछ ।