यसकारण पठाउन हुँदैन हुण्डीमार्फत रकम

काठमाडौं । नेपालमा हुण्डीमार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन। कसैले थाहा पाएमा कानुनबमोजिम सजाय पनि हुन्छ। यस्तो कारोबार अवैध र जोखिमपूर्ण छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह भन्छन्, ‘हुण्डी देशमा भित्रिने रेमिट्यान्स र देशले पाउने राजस्वमा कटौती हुने प्रमुख अवैधानिक माध्यम हो।’
हप्ताको २८ घन्टा मात्र काम गरेर यहाँ पढ्ने खर्च र घर पठाउन कसरी पुग्छ ? त्यसैले प्रायः नेपालीहरूले नगदमा अतिरिक्त काम गर्छन् । यसरी अतिरिक्त काम गरेर आएको पैसा हुण्डीमार्फत पठाउँछन । अझ अर्को फाइदा भनेको हुण्डीबाट पैसा पठाउँदा आम्दानीको स्रोत देखाउनु पर्दैन र कति पैसा पठायो भन्ने कुनै रेकर्ड पनि रहँदैन ।
पूर्वगभर्नर चिरञ्जीवी नेपाल हुण्डीले राष्ट्रलाई पार्ने नकारात्मक असरबारे भन्छन्, ‘नेपालको सन्दर्भमा हुण्डी भित्रिँदा डलर उतै (विदेशमै) रहन्छ। विदेशी सञ्चितीमा असर पर्छ। हुण्डीबाट रकम पठाउँदा नेपालमा डलर नै हाहाकार हुने अवस्था आउन सक्छ । त्यसैले यस्ता अवैधानिक कारोबारलाई सरकारले सकेसम्म निगरानी र दण्डित गर्नुपर्छ ।’
नेपालका अनुसार, उनको कार्यकालमा राष्ट्र बैंकले हुण्डी काराेबारको अवस्थाबारे पत्ता लगाउन समिति नै गठन गरिएको थियो। उक्त समिति अहिले पनि अस्तित्त्वमा छ । तर त्यसले कार्यादेशअनुरूप काम नगरेको नेपाल बताउँछन्।
खासगरी, सुन तस्करी, लागू औषध कारोबार, न्यून विजकीकरण (विशेष गरी इलेक्ट्रोनिक्स पार्ट्स) आयात, मानव बेचबिखन, अवैध हातहतियारको कारोबारजस्ता अपराधजन्य कार्यमा हुण्डीको पैसा प्रयोग हुँदै आएकाले राष्ट्रको सुरक्षामा समेत हुण्डीले जोखिमता थपेको (सिआइबी) प्रमुख सिंह बताउँछन् ।
हुण्डीको अनुसन्धान नहुँदा अर्बौं रकम अवैध बाटोबाट कारोबार हुने गरेको छ । हुण्डीको अवैध कारोबारसँगैे सुन तस्करी पनि मौलाएको छ ।
अर्थविद् डा. चन्द्रमणि अधिकारी भन्छन, ‘नेपाल सरकार वा सम्बन्धित निकायले अहिलेसम्म विप्रेसणको सम्बन्धमा अध्ययन नै नगरेकाले पनि विदेशमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन । अहिले ४५/४६ लाख नेपाली विदेशिएको देखिन्छ। तर, कुन–कुन देशमा कति छन् ? कति फर्केर आए ? त्यसको कुनै तथ्यांक नहुँदा हुण्डी तथा रेमिटेन्सबारे यकिन डाटा पाउन सकिएको छैन,’ उनी थप्छन्, ‘हुण्डी कारोबार गर्नेहरूले कुनै पनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । आफूले दश नङ्ग्रा खियाएर कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ । त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउनसमेत कठिन छ।
हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको नेपाल प्रहरीे केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख प्रहरी नायव महानिरिक्षक धीरज प्रताप सिंह बताउँछन् । सिंह भन्छन्, ‘नेपालबाट ठूलो मात्रामा लागूऔषध विभिन्न देशमा जाने गरेको छ । लागूऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फतनै आर्थिक लेनदेन हुने गरेको उदाहरणहरू छन् । अझ खुल्ला सिमानामा हुने व्यापारमा हुण्डीको प्रयोग धेरै हुने गरेको छ ।’
जापानबाट हुन्डीमार्फत पैसा पठाउँदै आएका अछामका रवीन ठकुरी (नाम परिवर्तन) भन्छन्, ‘कार्यथलोमै हुण्डीका एजेन्ट पैसा लिन आउछन् । नेपालमा पनि पैसा घरमै पुर्याइदिए पछि वा बैंक खातामा पैसा जम्मा भएपछि मात्र जापानमा पैसा दिने हुदाँ हुण्डी झन् बढेको छ ।’ उनी थप्छन्, ‘हप्ताको २८ घन्टा मात्र काम गरेर यहाँ पढ्ने खर्च र घर पठाउन कसरी पुग्छ ? त्यसैले प्रायः नेपालीहरूले नगदमा अतिरिक्त काम गर्छन् । यसरी अतिरिक्त काम गरेर आएको पैसा हुण्डीमार्फत पठाउँछन् । अझ अर्को फाइदा भनेको हुण्डीबाट पैसा पठाउँदा आम्दानीको स्रोत देखाउनु पर्दैन र कति पैसा पठायो भन्ने कुनै रेकर्ड पनि रहँदैन ।’
दक्षिण कोरीयामा ७ वर्षदेखि कार्यरत रसुवाका राम तामाङ (नाम परिवर्तन) भन्छन्, ‘पैसा पठाउने शुल्क पनि लाग्दैन । हुण्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्छ । रेमिट्यान्समा भन्दा धेरै पैसा पाइने भएकाले पनि सजिलोका लागि हुण्डी गर्ने गर्छन् । उनी थप्छन्, पैसाको स्रोत खुलाउन नपर्ने, प्रक्रियागत झन्झट पनि नहुने, कोरियाको आइडी पनि नचाहिने भएकाले अवैधानिक (भिसा नियम उल्लंघन) गरेर बसेका सबैले हुण्डी राजेका हुन् ।
(हुण्डीकाे सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १३:५४:००
ताजा अपडेट
-
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
ग्लोबलआइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यास ब्याक
-
‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित
-
पाठेघर परीक्षण : महिलामा पाठेघरको मुखको क्यान्सरदेखि पाठेघर खस्ने समस्या
-
भारततर्फ सामान निर्यातको बाटो खुल्यो
प्रतिक्रिया