NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

आइएम सरी सानु !

प्रेम एकतर्फी होस् या दुईतर्फी ! प्रेम त प्रेम नै हो नि । भनिन्छ, ‘पाउनु मात्र प्रेम होइन, त्याग पनि प्रेम हो । आफूले चाहेको मान्छेको खुसी हेर्नु पनि त प्रेम नै हो’ यो सबै फगत लाग्छ । बस, नपाएको कुराप्रति चित्त बुझाउने मेसो हो ।

तर, पनि सानु तिमीसँग गुनासो भने छैन । तिम्रो मन नबुझेरै एकतर्फी प्रेम गर्नु मेरो पागलपन नै थियो । अझ भनौं, स्वार्थी थिएँ या निस्वार्थी मैले तिम्रो मन नबुझेरै तिमीप्रति आफ्नो मन साँट्ने कोसिस गरेँ । कति चाहनाहरू मनमै दबिन्छन् । मैले पनि दुई वर्षसम्म त आफ्ना चाहना मनको कुनामा दबाएकै हुँ । जुन दिन पोखेँ, त्यो दिन विष्फोट नै भयाे । अझ भन्नुपर्दा मेरो प्रेमको अन्त्य त्यहीँ भयो ।

त्यो किशोरावस्थाको चेतनाले आफूले चाहेको कुरा प्राप्त नगर्दा जीवनमा चाहेका सबै पूरा हुँदैनन् भन्ने बुझेन । बरू आरिस पो लाग्यो । र जानी नजानी त्यो भुल गरेँ । जसलाई मैले जीवनपर्यन्त एक नमिठो पश्चातापको रूपमा लिइरहनेछु सायद ।

एउटी छोरी मान्छेको घरमा कुनै केटाले लभलेटर पठाउँदा कुन परिस्थिति निर्माण हुन्छ भन्ने म बुझ्छु । त्यसैले आइएम सरी सानु !

भर्खर एसएलसी दिएर प्लस टू पढ्न सुर्खेत झरेको थिएँ । प्लस टूमा विज्ञान विषय पढेर इञ्जिनियरिङ गर्ने सपना । मनमा अनेक चाहनाहरू थिए । डाक्टर, इन्जिनियर भनेको त भगवानझै लाग्यो । यसको कारण उनीहरूले गर्ने कामको जोखिम या महत्त्व भएर भने अवश्य होइन । गाउँका मानिसले गर्ने सम्मान, उनीहरूको खानपान र ओझ देखेर इन्जिनियर बन्ने सपना मनमा गढेर बस्यो ।

सुर्खेत आएपछि नेवारेमा प्लस टू ज्वाइन गरेँ । सरकारी विद्यालयबाट आएको म प्लस टूमा विज्ञान विषय त निकै गाह्रो हुँदो रहेछ । सबै अंग्रेजीमा । बुझ्न पनि कठिन । विस्तारै बानी बस्यो । तीन महिनाजति भएको थियो । त्यसैबेला एकदिन कलेजबाट घर फर्किँदै गर्दा साइकल दुर्घटना भयो । करङमा नराम्ररी चोट लाग्यो । कलेज जानै पाइनँ । कोर्ष धेरै अघि बढिसकेको थियो । अब केही गरी विषय लाग्यो भने त इञ्जिनियर पढ्न पाइँदैन ! मनमा भय उत्पन्न भयो । दैनन्दिन मनमा त्यही कुरा खेलिरह्यो । अन्ततः त्यो भयले जित्यो मेरो सपनाअगाडि ।

अन्ततः मैले विज्ञान विषय त्यागेर शिक्षा संकायमा राेजेँ। मुख्य विषय गणित लिएँ । विज्ञानबाट गणितर्फ ! ओहो नि, अब के पो भन्ने हुन् भन्ने चिन्ता मनमा थियो । तर, पनि अब जे जसो भए पनि पढ्छु नै भनेर क्लासमा गएँ । पहिलेका तीनवटा विषय पढिसकेपछि बाँकी दुई विषय शिक्षा र अंग्रेजी मानविकी संकायका विद्यार्थीसँगै पढ्नुपर्थो ।

चौथो विषय अध्ययन गर्न जाँदा उनलाई त्यहीँ देखेको हुँ, पहिलोपल्ट । गोला आँखा, लामो कपाल, छिनेको कम्मर । हिँड्दा त पछाडिबाट यस्तो लाग्थ्यो, कुनै बलिउडकी हिरोइनले फेसन प्रतियोगितामा क्याटवाक गरिरहेकी छन् । पहिलो नजरमै घायल भएँ । मलाई कुनै केटी मान्छे देख्दा कहिल्यै त्यस्तो अनुभूति भएको थिएन । हुन त उनीसँगको मेरो पहिलो भेट थियो । तर, पनि मनमा कताकता पहिलेदेखिको साइनो छजस्तो महसुस भयो ।

कक्षा कोठामा अंग्रेजी पढाउने खगेन्द्र सर आउनुभयो । खगेन्द्र सर भन्नेबित्तिकै कलेजका सबै विद्यार्थी त्रसित हुन्थे । केही बिगार गर्ने विद्यार्थीलाई सजाय यति दिनुहुन्थ्यो कि राम्रै कुरा सोध्न भए पनि विद्यार्थी उहाँको नजिक जाँदैनथे । उहाँको क्लासमा हल्ला गर्ने त कल्पना बाहिरको कुरा थियो । सरले अगाडिबाट एकोहोरो क्लास दिइरहनुभएको थियो । तर, मेरो ध्यान भने उनीतिरै थियो । कक्षामा कसैले हल्ला गर्ने आँट गर्दैनथे । तर, उनकै बेन्चमा भने अलिक खासखुस भइरहेको थियो । एक्कासि सरले बोर्डमार्कलेर उनीतिर हान्दै ‘ओइ के को हल्ला हो ? हल्ला गरेर डिस्टर्ब गर्ने ? कुरो के हो अगाडि आएर भन् न ।’ सरको त्यो गर्जन सुनेपछि मेरो पनि ध्यान भंग भयो ।

न चिनजान, न कुनै साइनो । तर पनि सरले उनलाई गाली गर्दा मेरो मन भने चसक्क भयो । सबैको अगाडि त्यसै नहकारेको भए नि हुने । उनीसहित चार जना केटीहरु बस्थे त्यो बेन्चमा । अगाडि पढाइ हुँदै गर्दा पछाडिबाट अरूलाई जिस्क्याउने, खानेकुराहरू खाने र बिना कारण हाँसिरहने त उनको दैनिकी नै थियो । करिब एक महिनासम्म यस्तै क्रम चलिरह्यो । म पछाडिबाट उनको त्यो चर्तिकला निहयलिरहेँ । उनी त्यसरी चलेको खुब मन पर्थ्यो । कुनै दिन उनी आइनन् भने मलाई पढ्न मन पनि लाग्दैनथ्यो । उनीसँगै एउटै बेच्नमा बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, सँगै बस्छु भन्ने हिम्मत कहिल्यै आएन ।

म जहिल्यै साथीहरूसँग घर फर्किन्थे । कक्षा सकिनेबित्तिकै हिँडिहाल्थेँ । त्यसैले पनि मैले उनलाई कलेजबाहेक बाहिर देखेको थिइनँ । दशैंमा घर गएर आएपछि पुनः कलेज सुरु भयो । मंसिरको चिसोमा बिहानै ढुडी लाग्ने । कक्षामा हात ठिइराएर लेख्नसमेत मुस्किल हुन्थ्यो । बिरामी हुँदा पनि कहिल्यै क्लास छुटाइन । शनिबार बिदा नभए नि हुन्थ्यो झै लाग्थ्यो । केवल उनलाई हेर्नकै लागि भए पनि । एकदिन कलेजबाट आइसकेपछि खाना खाएर म हाम्रो घरभन्दा उतापट्टि दिदीको घरमा बसिरहेको थिएँ । अकस्मात, ‘अन्टी उता हाम्रो घरमा आउनु रे ?’ दिदिलाई कसैले पछाडिबाट बोलायो । यसो फर्केर हेर्दा उनै थिइन् ।

मेरो मन झसंग भयो । मुख रातो–रातो भयो । त्यो चिसोमा पनि मेरो शरीरको हरेक अंगबाट पसिना निस्कियो । म आत्तिएँ । ‘के छ । सञ्चै हो नि ?,’ उनले सोधिन् । तर, मैले मुन्टो मात्र हल्लाएँ । सञ्चै छु भन्ने वचन पनि मुखरित भएन । खै किन हो, सधैं बोल्न पाए हुन्थ्यो भन्ने सोच्ने म त्यो दिन उनी आफैंले बोलाउँदा पनि जवाफ फर्काउन सकिनँ । दिदीलाई लिएर उनी आफ्नो घर गइन् । पछि भान्जालाई सोधेँ । उनको घर त हाम्रोभन्दा जम्मा एकसय मिटरको दूरीमा पो रहेछ ।

उनको भाउजूलाई राम्रैसँग चिन्थे । प्रायः दिदीकोमा आइरहनुहुन्थ्यो । मलाई पनि चिन्नुहुन्थ्यो । कहिलेकाहीँ बाटोमा भेट्दा के छ ? भनेर सोध्नु पनि हुन्थ्यो । मैले उनीसँगको एकोहोरो प्रेमबारे मेरा एकदुई जना साथीलाई चाहिँ भनेको थिएँ । मेरो साथी जसको प्रेम उनीको साथीसँग थियो । ओ हो नि अब उसले आफ्नो प्रेमिकालाई भन्यो होला, अनि कुरा यहाँसम्म पुग्यो कि । पक्कै पनि दिदीलाई कुरा लगाउन आएकी होलिन् । बेकारमा उनको मनको कुरै नबुझी साथीसँग शेयर गरेछु । अब के पो हुने हो भन्ने कुराले मन पिरोलिरह्यो । भोलिपल्ट कलेज जाँदा उनी आफ्नो साथीलाई चोकमा करिरहेकी थिइन् । म तर्केर हिँड्न खोजेँ । तर, उनले बोलाइहालिन् । ‘के हो एक्लाएक्लै हिँड्ने ? एउटै कलेज हो, सँगै जाँदा के हुन्छ र ?’ उनको अनुरोधले मेरो मन कति फुरुङ्ग भयो । चार महिनादेखि म यही मौकाको पर्खाइमा थिएँ । धन्न त्यो दिनको उनको साथी भने आइनन् ।

अनि उनी र मसँगै गयौं । पानी परिरहेको थियो । एउटै छातामुनि दुईजना विस्तारै कलेजतिर लाग्यौं । ओहो नि पहिलोपल्ट कुनै केटीसँगै एउटै छाता ओढेर कलेज गइरहेको थिएँ । त्यो पनि आफूले मन पराएकै मान्छे । मनमा अर्कै प्रकारको खुसी सञ्चार भइरहेको थियो । ‘अनि घरसँगै त रहेछ । यतिका समयसम्म किन नदेखेको त ?’ उनले सोधिन् । ‘म बिहानै गइहाल्थेँ नि । फेरि तिमीलाई चिनेको पनि थिइनँ ।’

कुरा सुरु भयो । यस्तै एक अर्काबीच चिनजान गर्यौं । एउटै कलेज, एउटै कक्षा, म चार महिनासम्म पछाडिबाट उनको चर्तिकला हेरिरहेँ मात्र । बोल्ने हिम्मत कहिल्यै आएन । तर, पहिलोपल्ट हामी एक अर्कासँग छातामुनि परिचय साँटिहेका थियौं । लाग्यो, यो वर्षात् पनि मेरै लागि भइरहेको छ । पानी नपर्दो हो त यति नजिकबाट कुरा गर्ने मौका कहाँ मिल्थ्यो र ? कलेजको गेटमा पुग्दै लाग्दा मैले सोधेँ, ‘हिजो दिदीलाई किन बोलाएको नि ?’ उनले भनिन्, ‘होइन, घरमा भाउजूले बोलाउनुभएको हो । काम रहेछ रे ।’ उनको जवाफले ढक्क भएँ । धन्न साथीले कुरा भनिदिएको चाहिँ रहेनछ ।

त्यसपछि हामी सधैं बिहान सँगै जान्थ्यौं । पछिपछि त कक्षामा एउटै बेन्चमा पनि बसियो । साथीहरूले जिक्याउँथे पनि । ‘नबोल न हौं’ भनेर म साथीहरूलाई भनिरहन्थे । तर, मनभित्र भने जिस्क्याएकोमा निकै मजा लाग्थ्यो । अर्कै सञ्चार हुन्थ्यो मन मस्तिष्कमा । सँधै जिस्क्याइरहून् भन्ने फिल हुन्थ्यो । हामी निकै राम्रो साथी पनि बन्यौं । उनको मसँगको बोलचाल, कुरा गर्ने तरिका र कुनै काम हुन्न भन्दा घुर्क्याउने शैलीले त उनी पनि मलाई मन पराउँछिन् भन्ने लाग्थ्यो ।

कलेज सकिने दिन पनि आयो । त्यो दुई वर्ष कसरी सकियो पत्तै भएन । अझै केही वर्ष प्लस टूमै उनीसँग रहन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । तर, मेरो प्रेम फुलाउन समय कहाँ रोकिन्थ्यो र ? साथीहरूले पनि भने, ‘प्लस टू सकिएपछि तँ कहाँ जान्छस्, उनी कहाँ । त्यसैले आजै मनको कुरा भनिहाल न ।’

अन्तिम दिन बिदाइ कार्यक्रम थियो । मैले उनलाई भन्न निकै काेसिस गरेँ । अगाडि कार्यक्रम भइरहेको थियो । उनकै छेउमा उभिएर हेरिरहेको थिएँ । साथीहरूले पछाडिबाट आँखाले संकेत गर्दै भन न भन भनिरहेका थिएँ । म घरी नजिक जान्थे घर साथीहरू भएको ठाउँमा । दुई घण्टा कोसिस गर्दा पनि मैले मेरो मनको कुरा उनीसँग राख्न सकिनँ । मलाई आफैंप्रति धिक्कार लाग्यो । मनले एकछिन पनि छुट्न सक्दिनँ भन्छ । अब त कुरा भन्छु भन्ने आँट लिएर जब उनको छेउ पुग्थे । तब मेरा शरीरका सबै अंगहरुले काम गर्न छाड्थे । चोकमा ठड्याएको शालिकजस्तै हालत हुन्थ्यो मेरो । कार्यक्रम सकियो, सबै घरतिर लागे । उनी पनि साथीहरूसँग जिस्किँदै घरतिर लागिन् । मेरो मनको कुरा मनमै रह्यो ।

बाटोमा आउँदै गर्दा साथीहरूले खुबै गाली गरे । उनी अघि–अघि अनि म पछि–पछि हिँड्दै थिएँ । त्यतिकैमा मेरो एउटा साथी दौडेर उनी नजिकै गयो । उसको प्रेमिका पनि उनीसँगै थिर्इ । मलाई लाग्यो, उसले आफ्नो प्रेमिकालाई केही भन्न गएको हो । तर, उसले त सानुलाई भन्यो, ‘गोविन्द मन पराउँछ । तर भन्नै सक्दैन । त्यसैले म नै भन्न आएको ।’

उसको भनाइ भुइँमा खस्न नपाउँदै उनका आँखा यति राता भए कि दुर्गाचण्डीकै अवतार लिएजस्तै । एक्कासि उनको मुखबाट गालीको वर्षात् भयो, ‘ए… ए… त्यो जुम्ली । त्यसले सोचेको छ । यसरी बाटोमा प्रपोज गर्ने । पख, त्यसलाई दाइहरूलाई लगाएर कसरी कुटाउँछु ।’ बाफ रे ! उनको यो रूप त कहिल्यै देखेको थिइनँ । मेरो त सात्तो गयो । बेकारमा साथीहरूसँग किन शेयर गरेँछु भन्ने लाग्यो । बरू अहिलेसम्म मनमै राखेको थिएँ । त्यही ठीक थियो । आज सबैको अगाडि यसरी बेइज्जत हुन त पर्थेन नि ! त्यसपछि मलाई घर आउने आँट नि भएन । किनकि, उनको घरको बाटो हुँदै मेरो घरसम्म पुग्नुपर्थ्याे । त्यो दिनभरि साथीकोमै बसेँ । उनले अस्वीकार गरेकोमा कुनै रिस थिएन । तर, त्यसैले औकात र ठाउँको नामै किटेर किन बेइज्जत गरिन् ? के प्रेम पाउन राम्रै ठाउँमा जन्मिनुपर्छ ? खान्दानी परिवार नै हुन आवश्यक छ र ? मनमा प्रश्नकाे ज्वारभाटा उठिरहे ।

साँझ अबेर घर गएँ । कलेज बिदा भइसकेकाले केही दिन त घरबाटै बाहिर निस्किइनँ । धन्न घरमा भनेको रहिनछन् । उनले जो दाइहरू भनेकी थिइन्, उनीहरुसँग मेरो राम्रै बोलचाल थियो । एक महिना त्यसै सकियो । प्लस टूको परीक्षा पनि सकियो । अंग्रेजी परीक्षाको दिन उनी मेरै बेञ्चमा थिइन् । त्यो दिन उनले बोल्न खोजे पनि म भने बोल्न चाहिनँ । मलाई सबैभन्दा बढी पीर औकात् र जुम्ली भनेकैमा थियो । हुन त, जुम्लाको मान्छेलाई जुम्ली नै भन्ने हो । तर, जुम्ली तँ ? भन्नुको मतलव ठाउँलाई हेच्याएरै भनिएको हो । त्यसैले मलाई त्यो रीस मनभित्रै थियो ।

परीक्षा सकेपछि जुम्ला जाने तयारी थियो । साँझ मैले नजिकैको साथीलाई बोलाएँ । उसको हातमा एउटा गुलाफको फूलसहित पत्र थमाएर सानुलाई दिनु भनेँ । बिहानै म जुम्लातिर लागेँ । चिठी उनको हातमा नपुगेर सीधै उनको भाउजूको हातमा पुगेछ । उनको भाउजूको रीस बाफ्रे ! कम्पनीका कर्मचारीलाई त कसरी हपार्नुहुन्थ्यो । मलाई निकै खोजेछन् । तर, म त घरमा गइसकेको थिएँ । न हातमा मोबाइल थियो । न अहिलेको जस्तो फेसबुक नै । तीन महिनापछि सुर्खेत फर्किएँ । अनि थाहा पाएँ । त्यो चिठी सीधै उनको भाउजूकै हातमा परेको रहेछ । पछि साथीसँग भन्थिन् रे, ‘मन नै पराको भए, सीधै मलाई भन्दा हुन्थ्यो नि ! साथीलाई भन्न लाउने, चिठी घरमा पुर्‍याउने । यस्तो पनि माया हुन्छ र ?’

यो सुनेपछि घरसामुन्ने नै भएर पनि कहिल्यै बोल्ने हिम्मत भएन । अहिले त त्यही घरनजिकै बिहे गरेकी छन् । गत वर्ष दिदीको घर जाँदा देखेको थिएँ । टाढैबाट हेरेँ । अझै दुरुस्तै थिइन्, जतिबेला मैले पहिलोपटक देखेको थिएँ । मैले आफ्नो कुरा त्यतिबेलै आफैं भन्नसक्नुपथ्र्यो । तर, सकिनँ । त्यसपछि तिम्रो घरमै पुग्नेगरी पत्र पठाउनुहुन्थेन । त्यो आक्रोशमा मैले पठाउने भुल गरेँ । त्यसले घरमा तिमीले के–के फेस गर्नुपर्यो होला म राम्ररी बुझ्छु । एउटी छोरी मान्छेको घरमा कुनै केटाले लभलेटर पठाउँदा कुन परिस्थिति निर्माण हुन्छ भन्ने कुरा । त्यसैले आइएम सरी सानु !
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८, २०:२५:००