NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमालेको आरोप, ‘कांग्रेस वैचारिक रूपमा टाट पल्टिसकेको पार्टी हो’

काठमाडौं । नेकपा (एमाले)ले सत्तारूढ दल नेपाली कांग्रेसलाई वैचारिक रूपमा टाट पल्टेको पार्टी भएको टिप्पणी गरेको छ । यसअघि मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र पागलहरूको प्रलाप भएको टिप्पणी गरेका थिए ।

कांग्रेसको घोषणापत्र पागलहरूको प्रलाप हो : केपी ओली

स्थानीय तह निर्वाचनका लागि कांग्रेसले वैशाख ११ मा जारी गरेको घोषणापत्रमा एमाले नेतृत्वको सरकारले पाँच वर्ष खेर फालेको र ओली जनउत्तेजनाको व्यापारी भएको आफ्नो घोषणापत्रमा उल्लेख गरेको थियो ।

कांग्रेसको उक्त आरोपप्रति आक्रोशित एमालेले कांग्रेसको घोषणापत्र र नेतृत्वप्रति ५ बुँदे टिप्पणी गरेको छ । बुधबार एमाले प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले एमालेको दृष्टिकोण जारी गर्दै कांग्रेसको घोषणापत्रलाई राजनीति दस्तावेज मान्न नसकिने दाबी गरेको छ ।

कांग्रेस प्रवक्ताले भने, ‘एमाले अध्यक्ष ओलीको अभिव्यक्ति आपत्तिजनक’

यस्तो छ कांग्रेसको घोषणापत्रमाथि एमालेको ५ बुँदे टिप्पणी :

१. हालै जारी घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिकरूपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ । कम्युनिस्टका नाममा खडा भएका बुख्याँचाहरूको बुइ चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रूपमा अस्पष्ट, कार्यक्रमिक रूपमा एजेन्डाविहीन र राजनीतिक रूपमा बेइमानीको चरमचुलीमा पुगेका उसको विरोधाभाषपूर्ण दाबी, कुतर्क र हास्यापद आत्मश्लाघाहरू पढ्दा थाहा हुन्छ ।

२. कांग्रेसको घोषणापत्रमा १७ पृष्ठ लगातार रूपमा एमालेका विरुद्धमा विषबमन गरिएको छ । आफ्नो घोषणापत्रमा सम्भवतः संसारको कुनै पनि पार्टीले अर्को पार्टीका बारेमा यति धेरै उल्लेख गर्दैन । आफ्ना एजेन्डा, कार्यक्रम र विचारहरू नभएपछि एमालेको विरोधमा मात्रै आफ्नो भविष्य देखेको पाइन्छ । कांग्रेसको घोषणापत्रमा एमालेको नाम २३ ठाउँमा उल्लेख छ ।

३. घोषणापत्रमा आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम आठ ठाउँमा उल्लेख गरेको कांग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम ४२ ठाउँमा उल्लेख गरेको छ । आफ्नो नेतृत्वप्रतिको विश्वास नभएको र एमालेको नेतृत्वप्रति आतंकित भएको यसभन्दा अर्को नमुना के खोज्नुपर्ला र ?

४. शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशनमा पनि आफ्नो नाममा होइन, ‘मैले हारेँ भने ओली आउँछ’ भन्दै अध्यक्ष ओलीका नाममा चुनाव लड्नुभएको थियो । यसपटक पनि कांग्रेसले आफूसँग कुनै एजेन्डा नभएकाले नै होला, ओलीका नाममा स्थानीय निर्वाचन लड्ने घोषणा गरेर आफ्नो औचित्यमाथि आफैँ प्रश्न खडा गरेको छ ।

५. कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन्, प्रतिद्वन्द्वी हुन् । यस अर्थमा आलोचना, विरोध र खण्डनलाई अन्यथा मान्नुपर्दैन । तर, कांग्रेसले घोषणापत्रमा एमाले र अध्यक्ष ओलीका बारेमा जे जस्तो शब्दहरु प्रयोग गरेको छ, यो पार्टी बैचारिक रुपमा त टाट पल्टेकै छ, शिष्टताका हिसाबले पनि असान्दर्भिक, उत्तेजक र अतिवादीहरुको हातमा पुगेछ भन्ने देखिन्छ । ‘केपी ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षा’ भन्नेजस्ता भाषा शहरतिरका बाख्रापालकहरूले त के सर्पपालकहरूले पनि प्रयोग गर्नु नपर्ने हो ।
अनि यस्तो घोषणापत्रलाई ‘प्रलाप’ नभनेर राजनीतिक दस्तावेज मान्न सकिन्छ ?

काठमाडौंको मेयरमा विवेकशील साझाले किन रोज्यो कांग्रेस नेताकी छोरी ?