NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रुकुम पूर्वको सिस्ने गाउँपालिका : महिला अध्यक्षको नेतृत्वमा भयो यस्तो परिवर्तन

काठमाडौं । राज्य पुनर्संरचनाका क्रममा पहिलेको रुकुमलाई दुईवटा जिल्ला बनाइयो । एउटा पूर्व र अर्को रुकुम पश्चिम । यीमध्ये रुकुम पश्चिम कर्णाली प्रदेश र रुकुम पूर्व लुम्बिनी प्रदेशमा परेको छ । दुवै जिल्लाका सबै स्थानीय तहमा गत चुनावमा माओवादी केन्द्रले एकलौटी जित निकालेको थियो ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका पाँच वर्षमा राम्रो काम गर्ने पालिकाका रूपमा अघि आएको छ । यो पालिकाको नेतृत्व महिलाले गरेकी छिन् । माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष कुमारी बराल गौतम र उपाध्यक्ष गोवद्र्धन बुढाले योजनाबद्ध रूपमा काम गरेर कार्यसम्पादन मूल्यांकनमा माथि परेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा यो गाउँपालिका उत्कृष्ट १० भित्र परेको छ । सय पूर्णांकमा यसले ७१ दशमलव ६९ अंक प्राप्त गरेको छ ।

पाँच वर्षमा भएका राम्रा काम

गाउँपालिकाले अधुरो रहेका योजना, यथार्थपरक आवश्यकता र प्राथमिकतामा आधारित विकास योजना तथा नतिजामुखी र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने नीति अवलम्बन गरेको छ । छरिएका टुक्रे विकासलाई निरुत्साहन र बृहत् क्षेत्र समेट्ने समग्र योजनालाई प्राथमिकता दिइएको छ । गाउँपालिकाभित्र सञ्चालन हुने हरेक गतिविधिलाई एकद्वार प्रणालीबाट सञ्चालन र नियमन गर्ने व्यवस्था मिलाइएको छ ।

कुनै पनि सरकारी, गैरसरकारी संघ–संस्था, निकाय, क्षेत्र, विषयगत कार्यालयले गाउँपालिकाभित्र आयोजना र कार्यक्रम सञ्चालन गर्नुभन्दा पहिले स्वीकृति लिनुपर्ने नियम बनाइएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुरूप आयोजना वा कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ । ती निकायबाट बजेट तथा कार्यक्रम गाउँपालिकाको बजेट तथा कार्यक्रममा आबद्ध हुने गरी सञ्चालनको प्रणाली तयार पारिएको छ ।

गाउँपालिकाकी अध्यक्ष कुमारी बराल गौतमले चुनावका बेला प्रतिबद्धता जनाएका अधिकांश योजना पूरा भएको दाबी गरेकी छिन् । आफू जनप्रतिनिधि भएर आएपछि प्रत्यक्ष रूपमा देखिने गरी कार्ययोजना तर्जुमा गरेको र ती योजना अहिले धेरै पूरा भएको उनले बताइन्

गाउँपालिकाको समग्र विकासका लागि सरोकारवालासँग सुमधुर सम्बन्ध स्थापना गर्न आपसी समझदारी तथा समन्वयमा जोड दिइएको छ । विकासमा अनियमितता ल्याउने साना अवरोधलाई थोरै लगानीबाट हटाउन सकिने खालको भएमा तत्काल समाधान गर्ने विधि अपनाइएको छ । सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण निर्माण कार्यको भौतिक निरीक्षणमार्फत विकास कार्यलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउने प्रयास गरिएको छ ।

योजना छनोट तथा कार्यान्वयन प्रक्रियालाई सहभागितामूलक बनाउन सबै पक्षका सल्लाह, सुझाव र विचार समेट्ने संयन्त्र बनाइएको छ । गाउँपालिकाभित्रका परम्परागत स्थानीय उत्पादनलाई आधुनिकीकरण गर्दै रोजगारी सिर्जनामार्फत आय वृद्धि गर्न प्रोत्साहन गरिएको छ । सडक, शिक्षा, स्वास्थ्यजस्ता विषयमा पनि गाउँपालिकाले उल्लेख्य काम गरेको छ ।

नगरको बजेट र प्राथमिकताका क्षेत्र

गाउँपालिकाको बजेट वार्षिक ५० करोडको हाराहारीमा छ । त्यसमध्ये आधाभन्दा बढी चालू खर्च हुने गरेको छ । संघीय सरकार समानीकरण अनुदानको ११ करोड, संघीय सरकार ससर्त अनुदानको २२ करोड, संघीय सरकार राजस्व बाँडफाँटतर्फ साढे सात करोड र आन्तरिक आम्दानी मिलाएर चालू वर्षका लागि झन्डै ५४ करोड रुपैयाँको बजेट तयार पारिएको छ । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणलाई बजेटमा प्राथमिकता दिइएको छ ।

अधिकांश योजना पूरा भए : अध्यक्ष बराल

गाउँपालिकाकी अध्यक्ष कुमारी बराल गौतमले चुनावका बेला प्रतिबद्धता जनाएका अधिकांश योजना पूरा भएको दाबी गरेकी छिन् । आफू जनप्रतिनिधि भएर आएपछि प्रत्यक्ष रूपमा देखिने गरी कार्ययोजना तर्जुमा गरेको र ती योजना अहिले धेरै पूरा भएको उनले बताइन् । केही कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । सडक, ढल, जग्गा खरिद, गाउँपालिका भवन निर्माणलगायत पूर्वाधार निर्माणको काम पूरा भएको बरालले बताइन् ।

सदरमुकाम सिमकोटमा सडक विस्तार र ढल निर्माण कार्य जारी रहेको उनले बताइन् । गाउँपालिकाका अठवटै वडामा सडकले जोड्ने काम लगभग पूरा भएको, सबै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको अध्यक्ष गौतमले जानकारी दिएकी छिन् । कोरोना महामारीको समयमा पनि यति काम गर्न सकेकोमा आफूलाई सन्तुष्टि मिलेको उनले बताइन् ।

उपाध्यक्ष गोवद्र्धन बुढाले पनि पहिले जनप्रतिनिधि नभएको समयमा भन्दा धेरै काम गर्न सफल भएको बताए । नागरिकलाई जनप्रतिनिधि भएको महसुस दिलाउन सफल भएको उनको भनाइ छ ।

अध्यक्षको पाँचवर्षे अनुभव

हामी सुरुमा आउँदा सबै कुरा नयाँ थियो । बस्ने ठाउँदेखि कानुनसम्म सबै बनाउनुपर्ने थियो । धेरै विषयमा जनप्रतिनिधि जानकार पनि थिएनौँ । सुरुमा केही समस्या भए पनि बिस्तारै समाधान गर्दै गयौँ । नागरिकको अपेक्षा धेरै थियो । त्यसअनुसार धेरै सम्बोधन गर्ने प्रयास गरेका छौँ ।

प्रतिपक्षीको नजरमा पदाधिकारी

प्रतिपक्षी दलले पनि सिस्नेका जनप्रतिनिधिको कामलाई आंशिक सफल भएको प्रतिक्रिया दिएका छन् । कांग्रेस नेता सुवर्ण जोशीले जनप्रतिनिधिको कामलाई औसत मानेका छन् । तर, अझ धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

एमालेका विमलकुमार पुनले गाउँपालिकाले समानुपातिक रूपमा विकास निर्माण अघि नबढाएको आरोप लगाए । माओवादीले अन्य दलसँग सहकार्य नगरेको पनि पुनको गुनासो छ । तर, जनप्रतिनिधिका काममा धेरै नागरिक खुसी नै रहेको उनको टिप्पणी छ ।