दोलखाका प्रजिअ भन्छन्– बैतेश्वरमा बुथ कब्जाको प्रयास भएको छैन

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. १ र २ मा तनाव भएको छ । नेपाली कांग्रेसले बुथ कब्जाको प्रयास गरेको भन्दै विपक्षीले प्रदर्शन गरेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले त्यहाँ हवाई फायर नै गरेको छ । परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिए पनि अवस्था अझै सामान्य बनेको छैन ।
विपक्षीले कांग्रेसमाथि बुथ कब्जाको आरोप लगाए पनि दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा त्यो गलत भएको बताउँछन् । उनका अनुसार, त्यहाँ दलबीचको असहमतिले झडप मात्र भएको हो ।
अवस्था नियन्त्रणमा लिएर मतदान सञ्चालन गर्ने प्रयास भइरहेको बताइए पनि अवस्था अझै तनावग्रस्त छ ।
यसैसन्दर्भमा प्रजिअ खतिवडासँग नेपालवाचको संवाद :
दोलखाको बैतेश्वरको तनाव के हो ?
राजनीतिक दलबीच सहमति नबन्दा त्यहाँ शुक्रबार बिहान झडपको स्थिति सिर्जना भएको छ । झडपपछि अवस्था नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर नै गर्नुपर्यो ।
नेपाली कांग्रेसले त्यहाँ बुथ कब्जाको प्रयास गर्यो भनेर विपक्षीले आरोप लगाएका छन् नि ?
बाहिरबाट अवरोध भएको हो, बुथ कब्जाको प्रयास नै भएकोचाहिँ होइन ।
अवरोध गर्ने को हुन् ?
कांग्रेसले हो कि अरूले हो, त्योचाहिँ थाहा भएन ।
अहिले त्यहाँको अवस्था कस्तो छ ?
त्यहाँ अहिले पनि तनावको अवस्था छ । सुरक्षाकर्मी परिचालन गरेर अवस्था सामान्य बनाउन प्रयास भइरहेको छ ।
मतदान कतिबेरबाट सुरु हुन्छ त ?
अवस्था नियन्त्रणमा आएलगत्तै त्यहाँ मतदान सुरु हुन्छ । त्यसका लागि हामी सक्रियतापूर्वक लागेका छौं ।
जिल्लाको अन्य स्थानको अवस्थाचाहिँ के छ ?
बैतेश्वरको दुई वडाबाहेक अन्यत्र शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ ।
प्रतिक्रिया