महानगरपालिकातर्फ खाता खोल्ने को हुन् नागेश ?

काठमाडौं । प्रभावशाली अमृत अर्याल, डा. डिला संग्रौला देखि मेयर भीम पराजुलीलाई पछि पार्दै विराटनगरमा कांग्रेसबाट उम्मेदवार बनेका नागेश कोइराला अन्ततः जितसम्म पुगेका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा महानगरपालिकातर्फ पहिलो जित हात पार्ने सौभाग्य पनि उनै नागेशले पाएका छन् । एमालेका सागर थापालाई ८७१५ मतको भारी अन्तरले पराजित गर्दै नागेश मेयरमा निर्वाचित भएका हुन् । मेयरमा नागेशले ३०१७० र सागरले २१४५५ मत ल्याए ।
कांग्रेसको बलियो पकड रहेको मोरङमा अन्ततः नागेश कोइरालाले सानदार जित दर्ता गरेका छन् । अन्तिमसम्म मेयरका लागि डा. शेखर कोइरालाले नागेशको नाम लिएपछि सभापति देउवाले उनलाई टिकट थमाएका थिए । ६ महानगरपालिकामध्ये पहिलाे नतिजा अाउँदा नागेशले खाता खाेलेका हुन् ।
को हुन् नागेश ?
नागेश मोरङका युवा नेता हुन् । अहिले उनी मोरङको कांग्रेस उपभापति छन् । यस अघि उनी जिल्ला सचिव र कोषाध्यक्ष भएका थिए । जनप्रतिनिधिका रुपमा एकपटक पनि काम नगरी महानगरपालिकाका मेयरमै निर्वाचित हुन नागेश सफल भएका हुन् । उनी युवामाझ उनी चर्चित र लोकप्रिय रहेको बताइन्छ ।
सभापति शेरबहादुर देउवाले अन्तिमसम्म पनि मेयरमा अमृत अर्याललाई अघि सार्न खोजेका थिए । त डा. शेखर कोइरालाको बलियो प्रभाव रहेको विराटनगरमा उनको अडानमै नागेशले टिकट पाएका थिए । कांग्रेस फुट्दा देउवा तिर लागेका नागेश १३ औं महाधिवेशन अघिसम्म त्यतै थिए । तर १३ औं महाधिवेशनयता भने उनी शेखर कोइराला निकट भएर काम गर्दै आएका छन् ।
नगर कार्यसमितिले मेयरका लागि सिफारिस गरेका सात जना नेतामा नागेशको नाम थिएन । उनको नाम सिफारिस नभएपछि शेखरले मेयरका लागि झन् देउवासामू दबाब बढाउँदै टिकट दिलाएका थिए । २०७४ सालमा भने कांग्रेसले दुई गठबन्धनलाई हराएर मेयर र उपमेयर दुवै जितेको थियो ।
यसपटक मेयर कांग्रेसले जित्दा उपमेयरमा एमालेकी इन्दिरा कार्की विजयी भएकी छिन् । जसपाका अमरेन्द्र यादवलाई ११ हजार चार सय ६८ मतले पराजित गर्दै कार्की विजयी भएकी हुन् । सत्ता गठबन्धनसँग तालमेल गरे पनि जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा विराटनगरमा भारी मतान्तरले पराजित हुन पुगे ।
विराटनगरमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार ५७१० मतान्तरले विजयी भएका थिए । कांग्रेसका भीम पराजुली २३०३१ मत ल्याएर विजयी भएका थिए । एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए । संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए ।
विराटनगरमा फराकिलो अन्तरसहित मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
प्रतिक्रिया