NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

युरोपमा डढेलो फैलियो, हजाराैं मानिसलाई सुरक्षित ठाउँमा सारियाे

काठमाडौं । स्पेन, क्रोएसिया र ग्रीसमा पनि आगो फैलिएपछि फ्रान्सले दक्षिण–पश्चिममा जङ्गलमा लागेको डढेलोबाट खतरामा परेका १६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारेको छ ।

फ्रान्सको लोकप्रिय पर्यटक क्षेत्र गिरोन्डेका अधिकारीहरुले क्याम्प साइटहरुबाट सुरक्षाकर्मीहरुलाई पनि स्थानान्तर गरेका छन् । पर्यटकहरूले त्यसअघि नै उक्त ठाउँ छोडिसकेका थिए । टेस्टे-डे-बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ ।

आगलागीका कारण दक्षिणी स्पेनका मिजास पहाडहरूबाट ३ हजार ३ सयभन्दा बढी मानिसहरु सुरक्षित ठाउँतर्फ भागेका थिए । तीमध्ये केही फर्किसकेका छन् । पोर्चुगलको भूभागमा भएको आगलागी भने हाल नियन्त्रणमा आएको छ ।

पछिल्लो समय पोर्चुगल र स्पेनमा गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ । आगलागी भएको स्पेनको मिजास क्षेत्र चर्चित पर्यटकीय क्षेत्र मलागाबाट टाढा छैन । स्पेनको अन्य ठाउँ कास्टिला वाई लिओन, ग्यालिसिया र एक्स्ट्रेमादुरा प्रान्तहरूमा जंगली आगो फैलिएको छ ।

मलागा क्षेत्रमा बस्ने एलेन म्याककर्डीले रोयटर्सलाई भने, ‘हामीले भर्खर केही आवश्यक चीजहरू बोक्यौं र सुरक्षित ठाउँतिर भाग्यौं । त्यतिबेला मानिसहरु भागिरहेका थिए । त्यहाँ थुप्रै एम्बुलेन्स र फायर इन्जिनहरु थिए ।’

भूमध्यसागरीय क्षेत्र पश्चिममा मोरक्कोदेखि पूर्वमा क्रेटसम्म हजारौं अग्नि नियन्त्रकहरू र धेरै वाटरबमिङ विमानहरू तैनाथ गरिएका छन् । मंगलबारदेखि सारा क्षेत्र चर्को गर्मीले डुबानमा परेको छ, वनस्पति सबै सुकेका छन् ।

मानव–प्रेरित जलवायु परिवर्तनका कारण गर्मीको लहरहरू लगातार, अधिक तीव्र र लामो समयसम्म चल्ने भएका छन् । औद्योगिक युग सुरु भएदेखि नै पृथ्वी करिब १.१ डिग्री सेल्सियसले तातिसकेको छ र विश्वभरका सरकारहरूले कार्बन उत्सर्जनमा कडा कटौती नगरेसम्म तापक्रम बढ्ने क्रम जारी रहनेछ ।

फ्रान्सेली मौसम सेवाले आइतबार देशको दक्षिणी भागमा ४१ डिग्री सेल्सियससम्मको तापक्रमको पूर्वानुमान गरेको छ र सोमबार नयाँ तापक्रम अनुमान गरिएको छ । पोर्चुगलमा तापक्रम ४७ डिग्री सेल्सियस पुगेको छ ।

बेलायतमा सोमबार र मंगलबार ४१ डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान गरेसँगै चरम गर्मीको असरबारे पूर्व चेतावनी दिइएको छ ।

ब्रिस्टल युनिभर्सिटीका जलवायु वैज्ञानिक डा युनिस लोलेका अनुसार बढ्दो तापक्रम जलवायु परिवर्तनको संकेत हो र बेलायतमा गर्मीको लहरका कारण वार्षिक २ हजार थप मृत्यु हुने गरेको छ ।

सार्वजनिक विवरणहरूका अनुसार सन् १८८४ पछि बेलायतमा सन् २००२ यताका सबै वर्ष सर्वाधिक गर्मी भएका वर्षको रुपमा रेकर्ड गरिएको छ । ‘विश्वव्यापी रूपमा गर्मीको लहर सामान्य बन्दै गइरहेको छ र यो लामो समयसम्म रहन थालेको छ’ डा लोले भनिन्, ‘हामीले तत्काल र छिट्टै जीवाश्म इन्धनको प्रयोग बन्द गर्न आवश्यक छ ।’

मोरक्कोले १,३०० भन्दा बढी मानिसहरूलाई आफ्नो घर छाड्न आदेश दिएको छ र उत्तरी जंगलमा लागेको आगो निभाउन थप अग्निनियन्त्रकहरू खटाएको छ । मोरक्कोको सबैभन्दा बढी प्रभावित क्षेत्र लाराछे प्रान्त हो ।

क्रेटमा रेथिम्नो वरपरका पहाडमा लागेको आगलागी नियन्त्रण गर्न अग्नि नियन्त्रकहरु उत्तरी तटमा खटिरहेका छन् । शनिबार तिनीहरूले यो आंशिक रूपमा नियन्त्रणमा आएको बताएका थिए ।

दक्षिण पश्चिम टर्की र क्रोएशियाको एड्रियाटिक तटका केही क्षेत्रहरू पनि डढेलो फैलिएको छ । क्रोएशियाको रिसोर्ट सहर जादर र सिबेनिक नजिकका जंगलमा पनि आगो फैलिएको छ तर त्यहाँको भूभाग हालसम्म खाली गरिएको छैन् ।

शनिबार साँझ फ्रान्सले एट्लान्टिक तटका थप २२ वटा क्षेत्री विभागलाई उच्च सर्तकता अपनाउन चेतावनी दिएको छ । डढेलोले फ्रान्सको दक्षिण पश्चिम फ्रान्सको १० हजार ५ सय हेक्टर जमिन डढेको छ ।