NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

शीर्ष नेतालाई हराउन स्वतन्त्रका उम्मेदवार चुनावी मैदानमा, क–कसले दिँदैछन् चुनौती ?

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि मंसिरमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । ठूलै भवितव्य पर्नुबाहेक मंसिरको पहिलोहप्ता प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुनेछ । निर्वाचन आयोगले चुनावको लागि मंसिर २ वा ४ गतेको मिति प्रस्ताव गरिसकेको छ । तर सरकारले अहिलेसम्म मिति घोषणा गरेको छैन । यद्यपि उसले निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

निर्वाचन तयारीका लागि सत्तापक्ष र प्रतिपक्ष दलहरू आ–आफ्ना रणनीतिक योजनासहित सम्भावित चुनावी समीकरणदेखि भागबण्डासम्म अनौपचारिक छलफलमा व्यस्त छन् । सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले अहिलेकै गठबन्धनलाई कायमै राख्ने नीतिगत निर्णय गरिसकेको छ । पर्ख र हेरको रणनीतिमा रहेको प्रमुख प्रतिपक्षी दल एमाले गठबन्धनलाई भत्काएर वाम धु्रवीकरण गर्ने योजनामा छ ।

यीबाहेक परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूलाई टक्कर दिन विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौंसहित केही सहरमा स्वतन्त्र उम्मेदवारमा देखिएको जनलहरबाट स्वतन्त्र व्यक्तिहरू निकै हौसिएका छन् । उनीहरूमा शीर्ष नेताहरूविरुद्ध उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ । स्वतन्त्र उम्मेदवार समूह बनाएर छलफलमा जुटेका उनीहरू देशभर शीर्ष नेताका क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताविरुद्ध उम्मेदवारी दिने चर्चाले आगामी निर्वाचन रोचक हुने देखिन्छ । स्थानीय तहको परिदृश्य संघ र प्रदेशमा देखिए शीर्ष नेताहरूको अवस्था के होला ? कुन नेताका विरुद्ध स्वतन्त्रबाट कसले उम्मेदवारी देलान् भन्ने विषयमा राजनीति निकै गर्माउने निश्चित छ । किनकी स्थानीय तहको निर्वाचनले स्वतन्त्रको पक्षमा महत्वपूर्ण लहर देखाएको थियो ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट कांग्रेस–एमालेका प्रभावशाली उम्मेदवारलाई पराजित गरी स्वतन्त्र उम्मेदवार बालेन शाह मेयरमा निर्वाचित भएका थिए । त्यस्तै धरान उपमहानगरका परम्परागत पार्टीको सिन्डिकेट तोड्दै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राई विजयी भएका थिए । धनगढी उपमहानगरपालिकामा कांग्रेस–एमालेलाई पराजित गरी गोपाल हमाल निर्वाचित भएका थिए । यी नै परिणामबाट उत्साहित भएकाहरू प्रतिनिधिसभा निर्वाचनका लागि शीर्ष नेताविरुद्ध स्वतस्फूर्त रूपमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्ष अघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवा भर्सेस सागर ढकाल

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्ष अघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकालले डडेल्धुरा १ बाट आगामी प्रतिनिधिसभाको चुनावमा चुनाव लड्ने घोषणा गरेका हुन् । डडेल्धुरा १ प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र हो । अब मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको तर्क गर्दै आएका उनी चुनावी तयारीका लागि शुक्रबार नाइट बस चेढेर डढेलधुरा पुगिसकेका छन् । ढकाल पेशाले इन्जिनियर हुन् । उनी आफैंले पनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन् ।

साउन २ मा सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस राख्दै उम्मेदवारी घोषणा गरेका उनले बुवा–आमा पुस्तालाई विश्राम लिएर सल्लाहकार बन्न सुझाव दिएका छन् । डडेलधुराबाट नै देउवाका पूर्वस्वकीय सचिव कर्ण मल्लले उम्मेदवारी दिने घोषणा गरेका छन् । स्थानीय तह निर्वाचनमा देउवाकै वडामा एमालेसँग मिलेर कांग्रेसका उम्मेदवारलाई हराएका मल्ल समूहले आगामी निर्वाचनमा उनलाई नैै चुनौती दिन लागेका हुन् । २०४८ देखि प्रतिनिधिसभामा अपराजित रहेका देउवालाई आगामी निर्वाचन चुनौतीपूर्ण हुन सक्ने राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

देउवाविरुद्ध चुनाव लड्ने घोषणा गरेका युवा लागे नाइट बस चढेर डडेल्धुरा

रवि लामिछाने भर्सेस शीर्ष नेता

सञ्चार कर्म छाडेर राजनीतिमा हामफालेका चर्चित टिभी प्रस्तोता रवि लामिछानेले शीर्ष नेता देउवा, ओली र प्रचण्डमध्ये एउटालाई चुनौती दिने बताइसकेका छन् ।

असार ७ गते आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रविले चितवनमा प्रचण्डविरुद्ध उम्मेदवारी दिने सम्भावना देखिन्छ । चितवन क्षेत्र नं. ५ प्रचण्डको निर्वाचन क्षेत्र हो । सत्ताको चावी हातमा लिएर बसेका प्रचण्ड आगामी निर्वाचनबाट प्रधानमन्त्री बन्ने दाउमा छन् । त्यसैले जसरी पनि जित्नै पर्ने बाध्यतामा रहेका प्रचण्डका लागि यो निर्वाचन ठूलो मूल्य पर्न सक्छ । पछिल्लो समय राष्ट्रिय राजनीतिमा उनको प्रभाव देखिएपनि आम मतदातामा उनको छवि राम्रो देखिएको छैन ।

पटक–पटक निर्वाचन क्षेत्र फेर्दै आएको उनी आगामी निर्वाचन चितवनबाटै लड्छन् वा अन्यन्त्र जान्छन् भन्नेमा खुलिसकेको छैन ।

रवि आफैँले पनि प्रचण्ड, देउवा वा ओलीमध्ये कुनै एकलाई आफूले हराउने दाबी गरेका छन् । तर शीर्ष नेताको क्षेत्रमा भिड्न जाने वा काठमाडौंमा भिड्ने भन्नेमा रविले अहिलेसम्म खुलाइसकेका छैनन् ।

‘मेन स्वीच अफ’ गर्न आफू राजनीतिमा आएको जिकिर गरेका उनी आगामी निर्वाचनमा कुन क्षेत्रबाट उम्मेदवारी दिन्छन् भन्नेमा सबैको चासो रहेको छ । २०७२ ओली सरकारको पालामा नेपाल टेलिभिजनबाट ‘प्रधानमन्त्रीसँग जनता’ कार्यक्रम चलाएका थिए । ओलीलाई विस्थापित गरी प्रधानमन्त्री भएका प्रचण्डले रविको कार्यक्रमै बन्द गराएका थिए । प्रचण्डसँग चिढिएका उनले लामो समय निजी टेलिभिन न्यूज २४ मा ‘जनतासँग सिधा कुरा’ कार्यक्रम चलाए । यही कार्यक्रमबाट लोकप्रिय भएका रविले आगामी निर्वाचनमा शीर्ष नेतालाई धक्का दिने तयारी गरेका छन् ।

ईश्वर पोखरेल/रञ्जु दर्शना/मानुषी यमी भट्टराई

एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका पूर्वउप्रधानमन्त्री ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्नेको ताँती नै लागेको छ । वामगठबन्धनको सहयोगमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट पोखरेलले निर्वाचन जितेका थिए । ०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार नरहरि आचार्यसँग पराजित भएका थिए । एमाले विभाजन भएपछि संकटमा परेका पोखरेल यसपटक पुराना प्रतिस्पर्धीसहित स्वतन्त्र उम्मेदवारसँग पनि भिड्नुपर्नेछ ।

पोखरेललाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले चुनौती दिँदै छिन् । अखिल क्रान्तिकारीका पूर्वनेता समेत रहेकी यमीलाई क्षेत्र नं. ५ बाट चुनाव लड्न प्रस्ताव आएको बताएकी छिन् । यमी २०६५ मा भएको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालयबाट सचिवमा निर्वाचित भएकी थिइन् ।

त्यस्तै विवेकशील नेपालीकी पूर्वनेता रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेकी छिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले २३ हजार ४३९ मत पाएकी थिइन् । यद्यपि उनी कुनै नेतालाई हराउन भन्दा पनि आफ्नो मतदाता नामावली भएकोले ५ नं. क्षेत्र रोजेको तर्क गरेकी छिन् । काठमाडौं क्षेत्र नं. ५ बाट अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पनि चुनाव लड्ने चर्चामा छ ।

उनलाई कांग्रेसले नै चितवन १ वा काठमाडौं ५ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् । निर्वाचन लड्ने तयारीका लागि वाग्लेले यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिइसकेका छन् ।

प्रकाशमान सिंह/रमेश खरेल/रवीन्द्र मिश्र/पुकार बम

यसैगरी काठमाडौं १ बाट कांग्रेसका नेता प्रकाशमान सिंहलाई नेपाल प्रहरीका पूर्वडिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले टक्कर दिने भएका छन् । अवकासपछि लामो समय भ्रष्टाचारविरूद्ध अभियान चलाइरहेका खरेलले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसै क्षेत्रबाट पूर्वपत्रकार रवीन्द्र मिश्रले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । अघिल्लो पटक सिंहसँग मिश्र झिनो मतान्तरले पराजित भएका थिए ।

त्यस्तै ‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले यसअघि नै कांग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्र नम्बर १ बाट संघीय सांसदका लागि आफ्नो उम्मेदवारी दिइसकेका छन् ।

भीमसेनदास प्रधान/अब्दुस मियाँ/सर्वेन्द्र खनाल

कांग्रेस नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानको निर्वाचन क्षेत्र ६ बाट नेपाल प्रहरीका पूर्वडिआइजी सर्वेन्द्र खनालले उम्मेदवारी दिने तयारी गरेका छन् । खनालको घरपनि यसै क्षेत्रमा रहेकाले आफूले उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । तर उनी स्वतन्त्र उठ्ने वा कुनै दलबाट उम्मेदवारी दिने भन्नेमा स्पष्ट भइसकेका छैनन् ।

त्यस्तै विवेकशील साझाका पूर्वनेता अब्दुस मियाँले स्वतन्त्रबाट प्रधानलाई चुनौती दिने भएका छन् । मिश्र र मिलन पाण्डेबीचको मतभेदका कारण पार्टी नै विघटनको डिलमा पुगेपछि मियाँ पार्टीबाट अलग भएका हुन ।

गगन थापा भर्सेस सुमन सायमी

यसैगरी स्थानीय तह निर्वाचनमा काठमाडौं महागरपालिकामा मेयरमा पराजित भएका सामाजिक अभियन्ता सुमन सायमीले कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिने भएका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौंबाट मेयरमा उठेक उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए । आगामी निर्वाचनमा थापासँग भिड्न लागेको निकट नेताको दाबी छ । मेयरमा पराजित भएपछि मेयर शाहलाई बधाई तथा शुभकामना दिँदै शाहसँगै विजयी सभामा हिँडेका थिए ।

गोकुल बाँस्कोटा भर्सेस मनोज पण्डित

यसैगरी फिल्म निर्देशक मनोज पण्डितले आगामी निर्वाचनमा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटासँग प्रतिस्पर्धा गर्ने भएका छन् । काभ्रे क्षेत्र नं २ का सबै नगरपालिका र गाउँपालिका घुमेका उनले त्यहाँको अवस्था देखेर बाँस्कोटासँग चुनावी प्रतिस्पर्धा गर्न मन लागेको बताएका छन् । मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले लामो र कठिन यात्रापछि बाँस्कोटालाई हराउनेमा कुनै सीमित नहुने उल्लेख गरेका छन् ।

‘लामो र कठिन यात्रापछि अब मेरोलक्ष्य गोकुल बास्कोटा हराउनेमा सीमित हुने छैन’, पण्डितले उल्लेख गरेका छन् ।

दलका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारहरूको उम्मेदवारी घोषणाको लहरले शीर्ष नेताहरूमा चुनौती थपिएको छ । स्वतन्त्र उम्मेदवारीको लहर लहडमात्रै हो कि राजनीतिक फोहर सफा गर्न उनीहरूमा चेतनाको स्तर अभिवृद्धि भएको हो त्यो आगामी दिनमा देखिने नै छ । तर स्वतन्त उम्मेदवारीले लामो समय राजनीतिमा एकछत्र राज गरेका परम्परागत दलहरूका लागि भने सच्चिनँ जनाउँ घण्टी बजाएको छ ।

कांग्रेसले एक्लै चुनाव लड्दा ५ हजारभन्दा कम मतान्तरले गुमाएका ४० सिट कुन–कुन हुन् ?

काठमाडौंबाट चुनाव लड्न चर्चामा रहेका ८ अनुहारमा को–को छन् ?