NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रचण्डलाई चुनौति दिने अब्दुसको शक्ति कति ?

काठमाडौं । पाँच वर्षअघि वैकल्पिक राजनीति शक्ति निर्माण गर्ने उद्घोषसहित २३ वर्सकै उमेरमा २०७४ मा राजनीतिमा होेमिएका थिए गोरखाका अब्दुस मियाँ । साझा पार्टीबाट राजनीति सुरु गरेका उनलाई संयोजक रविन्द्र मिश्रले सदस्य बनाएका थिए । मिश्रले उनलाई पार्टीका कान्छा सदस्य भनेर चिनाउँदै सचिवालय सदस्य बनाउँदा अधिकांशलाई साझा पार्टी वास्तवमै सबैको साझा हुने अपेक्षा थियो । पार्टी गठनसँगै समान विचारधारा बोकेको विवेकशील नेपालीसँग पार्टी एकता गरेपछि वैकल्पिक शक्तिप्रति युवाहरू निकै आकर्षित भएका थिए ।

तर, यो आशा र भरोसा धेरै समय टिकेन । आन्तरिक झगडा व्यवस्थापन गर्न नसक्दा पार्टी टुटफुटको शिकार भयो । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वासन्ध्यामा उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

परम्परागत पार्टीको विकल्प खोज्न चुनावी मैदानमा उत्रिएका उनै मिश्र मरिसकेको राजतन्त्रको मृत आत्मा बोकेर राप्रपाको छानामुनि शरण लिन पुगेका छन् । पार्टीमा उनले सबैभन्दा विश्वास गरेका पात्र मियाँ आगामी मंसिर ४ को निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवारी घोसणा गरेका थिए । तर सबैलाई छक्याउँदै अन्तिममा उनी एमाले प्रवेश गरे । उनकै भाषामा ‘बुढा नेता’ ले नेतृत्व गरिरहेको पार्टीको शरण परे ।

एमाले प्रवेशले वैकल्पिक शक्ति निर्माणमा लागेका मियाँको राजनीतिको वास्तविक सिद्धान्त के हो ? कसैलाई थाहा छैन । न उनी स्वयंले स्पष्ट नै पारेका छन् । एमाले प्रवेशलगत्तै पार्टीले उनलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार उम्मेदवारीका लागि मनोनयन दर्ता गर्न जन्मघर गोरखा पुगेका उनले आफ्ना बलिया प्रतिद्वन्द्वी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विकास निर्माणको विषयमा आफूूसँग छलफलमा आउन चुनौती दिए ।

‘गोरखा दरबारको प्रांगढमा प्रचण्ड भर्सेस अब्दुस मियाँ होस् र अबको दश वर्समा यो देश कहाँ जान्छ भन्ने विषयमा बहस होस्,’ उनले भनेका छन्, ‘उहाँले पछिल्लो २० वर्समा देशलाई कहाँ पुर्याउनुभयो र अबको भविष्य कहाँ पुग्छ भन्नेबारे बहस होस् । त्यसको लागि म प्रचण्डलाई चुनौती दिन चाहन्छु ।’

योपटक पनि चितवन ३ बाट नै निर्वाचन लड्ने दाबी गरेका प्रचण्ड गठबन्धन नेतृत्व दल कांग्रेसभित्र देखिएको आन्तरिक किचलो, विपक्षी एमालेले राप्रपा र जसपासँग चुनावी तालमेलका कारण असुरक्षित देखिएपछि पछि हटे । यसअघि तीनपटक निर्वाचनमा भाग लिएका प्रचण्डले योपटक गोरखा २ रोजेका हुन् । प्रचण्डको यो शैलीलाई मियाँले ‘भगौडा उम्मेदवार’ को संज्ञा दिएका छन् ।

गोरखामा जन्मिएका मियाँ लामो समयदेखि काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका छन् । उनको परिवार काठमाडौंमा बसोबास गर्न थालेको १८ वर्ष भन्दा बढी भयो । राजनीतिले उनलाई फेरि एकपटक गोरखा पु¥याएको छ । तर, गोरखाबासीले मियाँले भनेजस्तै प्रचण्डलाई बिदा गर्लान् या नगर्लान् भनेर हेर्न मंसिर ४ सम्म कुर्नपर्ने हुन्छ ।

यसअघि ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि मियाँ सदस्य बन्न नचाहेका होइनन् । तर, नेपालको संविधानले २५ वर्ष उमेरहद राखेकाले उनी चुनावबाट वञ्चित भएका थिए ।

सार्वजनिक नीति निर्माणको विषयमा अध्ययन गरेको दाबी गरेका मियाँले आफ्नो विज्ञता यसमै भएकाले संसदमा आफ्नो उपस्थिति हुनुपर्ने जोड दिँदै आएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचित भएमा नेपालमा कस्ता किसिमका सार्वजनिक नीतिहरू ल्याइनुपर्छ भन्ने विषयमा आफ्नो योगदान हुन सक्ने उनको दाबी छ ।

उनले युथ इनिसियटिभ, लिडरसिप कर्नर, ओरेटर्स हाउसजस्ता संस्थामा नेतृत्वदायी भूमिकामा काम गरिसकेका छन् । लिडरसिप कर्नले युवालाई कसरी नेतृत्व लिने भन्नेबारे विभिन्न वर्कसप सञ्चालन गर्ने काम गरेको थियो । उनले केही समय टेक्नोरियो नाम गरेको सफ्टवेयर कम्पनीमा पनि काम गरे । सो कम्पनीले नेपालमा कसरी डिजिटल क्रान्ति ल्याउन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धानको काम गथ्र्यो ।

मियाँको जित कति सुरक्षित ?

माओवादीको लालकिल्ला मानिने गोरखामा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ११ पालिकामध्ये ९ पालिका प्रमुख माओवादीले हात पारेको थियो । अघिल्लो निर्वाचनमा ९ पालिका जितेको नेपाली कांग्रेस यसपटक भने दुई पालिकामामात्रै सिमित भयो ।
मियाँले हाल प्रतिनिधि गरिरहेका एमालेले वडाध्यसमै चित्त बुझायो । स्थानीय तह निर्वाचनमा वडाध्यसको मत हेर्ने हो भने गोरखा २ बाट माओवादीले २२ हजार २५० मत रहेको छ ।

त्यस्तै, कांग्रेसले २१ हजार एक सय ३६ भोट पाउँदा एमालेका उम्मेदवारले मात्रै ७ हाजर ९ सय २६ मत ल्याएका थिए । यहाँ जसपाको मत ७ हाजर ५०४ रहेको छ । राप्रपाको जम्मा मत ८७८ रहको छ ।

यस क्षेत्रमा गठबन्धनको जम्मा मत ५० हजार ८९० हुँदा तेस्रो स्थानमा रहेको एमालेको मत जम्मा ७ हजार ९२६ रहेको छ । एमालेसँग गठबन्धनको मतान्तर ४२ हजार ९६४ रहेको छ । अंकगणितको आधारमा नयाँ मतदाताको सबै मत एमालेलाई गएपनि प्रचण्डको जित सहज देखिन्छ ।