टायरले पुर्यायो निगमका क्रू मेम्बरलाई बंकरमा
७५ सैनिकको तिहार पनि खल्लो

काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलबाट पश्चिमी अफ्रिकी मुलुक मालीस्थित गाओ विमानस्थलका लागि उड्दा नेपाल वायुसेवा निगमकी परिचारीका एलिसा बज्रचार्य निकै उत्साहित थिइन् । शान्ति मिसनमा खटिएका नेपाली सेनालाई तिहारको छेको पारेर लिन जाने चार्टर फ्लाइटमा घरबाट निस्किनुअघि उनले बाटोमा गीत बजाएकी थिइन्, ‘इट्स टाइम फर अफ्रिका’ ।
उनलाई लागेको थियो, पुगेलगत्तै युद्धग्रस्त मालीबाट फर्किनेछौं । तर त्यसो भएन । आफूले कल्पना गरेभन्दा बढी दिन युद्धग्रस्त ठाउँमा बिताउनु पर्यो ।
विमानस्थलमा अवतरण हुनेबित्तिकै उनीहरूलाई खबर आयो, ‘ल्याण्डिङ गियरको टायर ब्रस्ट भयो ।’ मुस्किलले दिनमा एक उडान हुने विमानस्थलबाट प्राविधिक समस्या आएको खबरले अबको केही दिनको बास त्यहीँ हुन्छ भन्ने अनुमान लगाउन उनलाई कठिन थिएन । तर पनि मनलाई सम्हाल्दैै यो असत्य भइदिओस् भन्ने कामना गरिरहेकी थिइन् । वास्तविकतासामु कसको के लाग्थ्यो ? अवतरण हुनेबित्तिकै ७५ जना नेपाली सैनिकलाई तिहार मनाउन भनेर उनीहरूको परिवारसामु पुर्याउने योजना गाओमै तुहियो ।
जहाज विमानस्थलमै ग्राउण्डेड भएपछि उनीहरूको कहाँ र कसरी व्यवस्थापन हुन्छ भन्ने विषयमा अन्योल थियो । यही स्थितिबाट गुज्रिएर चार घण्टा उनीहरूले जहाजभित्रै बिताए । निगम व्यवस्थापनले केही निर्णय नगरेसम्म चालक दललाई त्यहीं रात कटाउनका लागि सूचना दिइयो । उनीहरूको टोलीसँग स्पेयर टायर थिएन । त्यो दिन मालीमै बस्नका लागि नेपाली सेनाले उनीहरूलाई गाओस्थित मिनुस्मा सुपर क्याम्पमा लिएर गए । जुन विमानस्थलबाट २० मिनेट दूरीमा पर्छ ।
अन्तर्राष्ट्रिय उडानमा सक्रिय उनीहरू सामान्य अवस्थामा अन्य विमानस्थलमा अड्किनुपरेको भए तारे होटलमा बास हुन्थ्यो । यहाँ अवस्था फरक थियो । उनीहरूलाई सानो कन्टेनरजस्तो कोठा दिइयो जहाँ तीनजना एउटा कोठामा बस्न भनिएको थियो । त्यहाँ पुगेपछि एक छाक खाना र छत पाउनु नै ठूलो विषय बनेको उनी बताउँछिन् । घामको राप र कीरा फट्यांग्राले बाहिर निस्किने अवस्था छैन । यता देशमा तिहारको रौनक छाइरहँदा ६ दिनदेखि उनीहरू कोठाभित्रै कैद बनेका छन् । परिवारसँग कुराकानी गर्न इन्टरनेटको सुविधा पनि छैन । १५ मिनेटको दूरीमा पुगेपछि मात्रै इन्टरनेट चलाउन पाइन्छ, त्यो पनि डलरमा पैसा तिरेर । त्यसमाथि युद्धग्रस्त क्षेत्र भएका कारण बेलाबेलामा खतराको संकेत आउनेबित्तिकै सेनाले साइरन बजाउँछ । साइरन बजेपछि उनीहरू सबैजना बसिरहेको कोठाबाट १७ सेकेण्डमा बंकरमा गइसक्नुपर्छ ।
‘आमाले राम्रो कुराका लागि जस्तोसुकै कठिन परिस्थिति सामना गर्न पनि तयार हुनुपर्छ भन्नुहुन्थ्यो । त्यसको महत्त्व यहाँ आएर आभास भएको छ,’ उनले भनिन् । तातो पानी खान पाउनु नै त्यहाँ अहोभाग्य हुने उनी बताउँछिन् । एयर होस्टेसको तािलम लिँदा उनीहरूलाई मरुभूमिमा पानी नपाउँदा पनि कसरी बाँच्ने भनेर सिकाइएको थियो । त्यो सिकाइ अहिले उनका लागि भोगाइ बनेर आएको छ ।
आज उनीहरू मालीमा अड्किएको सातौं दिन भयो । गत शनिबार निगम व्यवस्थापनले नेपालबाट स्पेयर टायर पठाइसकेको छ । उनका अनुसार मंगलबार मात्रै टायर मालीको बामाको पुगेको छ ।
प्रतिक्रिया