सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । सुनसरी र कैलालीमा शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाईते भएका थिए । गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीमा बाल्टीमा भरिएको पानीमा डुबेर एक बालकको मृत्य भएको छ । गौरीगङ्गा नगरपालीका–२ मालीका टोलका नरिबहादुर ऐरको एक वर्षीया छोरा वीरेन्द्र ऐरको आफ्नै घरको पानीको धारामा खेल्ने क्रममा बाल्टिमा भरिएको पानीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
पानीमा डुबेर घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकोमा त्यही मृत्यु भएको हो ।
त्यसैगरी, पिकनिक खान गएका एक बालकको मछली नदीमा डुबेर मृत्यु भएको छ । धनगढीको सन्तोषी टोलका १६ वर्षीया आर्यन लामाको गोदावरी नगरपालिका–११ कोलमुडास्थित मछली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रनाउ जोशीले बताए ।
लामालगायत ११–१२ जनाको टोली सोही ठाउँस्थित पिकनिक खान गएको र निज लामा उक्त नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भई डुबेर मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया