NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडाैं । आउँदो माघ ६ देखि ८ सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा विद्युतीय र उर्जासँग सम्बन्धित ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तर्राष्ट्रिय प्रदर्शनी’  हुँदै छ ।

यो प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी भएका आयोजकले जनाएको छ ।मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा लि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा प्रर्दशनी आयोजना हुन लागेको हो ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहने छन् । नेपाल इलेक्ट्रिक पावर लाइट्स् प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको छ । प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन सोचहरूबाट नेपालमा विद्युत तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्दछ । यी उद्योग नेपालमा सबैभन्दा बढी माग भएका क्षेत्रहरूमध्ये एक हुन् र दक्षिण एसियाली क्षेत्रभित्र द्रूत रूपमा वृद्धि भइरहेका पनि छन् ।

नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२२ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो। इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको सङ्ख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारतवर्ष) का सरोकारवालाको सहभागिता उल्लेखनीय हुनेछ ।

नेपालको अर्थतन्त्रमा उर्जा र उर्जा क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । बायोमास, तेल उत्पादन, कोइला, जलविद्युत र बिजुली नेपालमा उर्जाका प्रमुख स्रोतहरू हुन्। नेपालको विद्युतीकरण दर दक्षिण एसियाली क्षेत्रका अन्य देशको तुलनामा करिब ७६ प्रतिशत छ । नेपाल जलविद्युत, सौर्य, वायु, बायोग्यास र विभिन्न प्रकारका बायोमास उर्जा समावेश गरी नवीकरणीय उर्जाका स्रोतहरूले भरिपूर्ण छ ।

यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा आगन्तुकहरूलाई प्रवेश निःशुल्क गराइएको छ । साथै विद्युत, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइने जनाइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष