NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
एजुकेसन डायलग

प्रधानाध्यापकको गुनासो–शिक्षकले उल्टै विद्यार्थीसँग सिक्नुपर्ने अवस्था छ

'शिक्षकको सम्मानमा कमी आयो, सिकाइलाई अब सीपसँग जोड्नुपर्छ'

शैक्षिकस्तर सुधारका लागि शिक्षकको भूमिका अहं हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिइँदै आएको छ । सिकाइ प्रणालीमा नयाँ–नयाँ तौरतरिका विकास भए पनि त्यसलाई देशभरका आमशिक्षकसमक्ष पुर्याउने काम भने सन्तोषजनक देखिँदैन ।

काभ्रेको पाँचखालस्थित गोल्मादेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक विद्यालक्ष्मी देउजा अब सिकाइको तौरतरिका परिवर्तन गर्नुपर्ने बेला आएको बताउँछिन् ।  सिकाइमा विद्यार्थीको क्षमता विकासलाई विशेष ध्यान दिनुपर्ने खाँचो रहेकाले शिक्षकलाई अब अनुभवले मात्रै नपुग्ने उनको बुझाइ छ । उनका अनुसार, विकसित सिकाइ प्रणाली, प्रविधिलगायत विषयमा अब शिक्षक अपग्रेड हुनुपर्छ ।’

‘शिक्षकहरूलाई अब अनुभवले मात्र पुग्दैन,’ नेपालवाच र किङ्स कलेजको संयुक्त प्रस्तुति एजुकेशन डाइलगको चौथो श्रृंखलामा प्रस्तोता नरोत्तम अर्यालसँग कुराकानी गर्दै देउजाले भनिन्, ‘विकास भएका नयाँ पद्धति र प्रविधिबारे पनि अपग्रेड हुनपर्छ ।’

सूचना प्रविधिबारेको ज्ञान शिक्षकसँग कम रहेकाले विद्यार्थीसँग सिक्नुपर्ने अवस्था रहेको पनि उनले सुनाइन् । यही कारण शिक्षक र विद्यार्थीबीच एउटा खाडल बनेको र यसले सिंगो शिक्षण पेसाकै सम्मानमा कमी ल्याएको उनको बुझाइ छ ।

‘शिक्षकले पहिले पाउने र अहिले पाउने सम्मानमा अन्तर छ । पेसाप्रतिको इमानदारिता अभाव, राजनीतिक आबद्धता, आचरण र शिक्षकको अनुशासन यसका मूल कारण हो । यसबाहेक शिक्षक र विद्यार्थीबीचको खाडलले पनि यसमा भूमिका खेलेको छ,’ बुवाको प्रेरणाले ०४८ सालदेखि शिक्षण पेसा अँगालेकी उनले भनिन् । आफूले सम्मान पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ भन्ने कुरा बुझे यो समस्या हल हुने उनको बुझाइ छ ।

अरूलाई ज्ञान बाँड्ने शिक्षक आफैंलाई रूपान्तरण हुन केले रोकिराखेको छ त ? देउजा प्रोत्साहन नगर्ने सरकारको रवैया, मसँग अनुभव छ भन्ने शिक्षकको सोचाइलगायत कारणले यो अवस्था आएको सुनाउँछिन् ।

विद्यालयमा प्रधानाध्यापकको भूमिका कस्तो हुन्छ विषयक बहसमा उनले सिकाइसँग सीप जोड्न नसकिएकाले यसतर्फ ध्यान दिनुपर्नेलगायत सुधारका कैयन् पाटो औंल्याइन् ।

सुनौं, प्रस्तोता अर्याल र प्रधानाध्यापक देउजाबीचको भलाकुसारी :