राष्ट्रियसभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित, यस्तो छ उनको जीवनी

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।
अर्याललाई उपाध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक भैतिक पूर्वाधारमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका थिए । समर्थकमा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहाल रहेका थिए ।
लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकी अर्याल राजनीति बाहेक सामाजिक अभियन्ता र महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् ।
५९ सदस्यीय राष्ट्रियसभामा सत्ता गठबन्धनतर्फ माओवादी केन्द्रका १५, एमालेका १५, जसपाको ३ र मनोनित २ जना सदस्य छन् ।
यस्तै विपक्षी गठबन्धनमा कांग्रेसका १०, एकीकृत समाजवादीका ८, लोकतान्त्रिक समाजवादीका एक, स्वतन्त्र सदस्य एक, राष्ट्रिय जनमोर्चाका एक र एक जना रहेका छन् ।
यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । गत वर्ष भएको राष्ट्रियसभा सदस्यमा उनी मधेश प्रदेशबाट महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
को हुन् नवनिर्वाचित उपाध्यक्ष अर्याल ?
विरगञ्ज महानगरपालिका– २३, गण्डक चोक, पर्साका स्थायी बासिन्दा रहेकी अर्याल २०१३ असोज २० मा जगरनाथपुर गाउँपालिका–५ मसिहानीम, पर्सामा जन्मेकी थिइन् । २०२६ सालमा अनेरास्ववियुको राजनीतिमा प्रवेश गरिन् ।
२०३५ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता लिइन् । २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियू उपसभापतिमा निर्वाचित भएकी थिइन् । २०३८ सालमा तत्कालीन चौम अन्तर्गत अयोध्यामा भएको अ.ने.म. संघको पहिलो राष्ट्रिय सम्मेलनबाट पहिलो केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भइन् ।
२०४६ सालमा नेकपा एमालेमा प्रवेश गरिन् । २०४८ र ०५१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा–४ बाट उम्मेदवार रहेकी थिइन् । २०५० सालमा नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्य भइन् । २०५६ सालमा पर्सा–४ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी थिइन् । २०६३ को गिरिजा नेतृत्वको अन्तरिम सरकारका महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री भइन् ।
२०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट नेकपा (एमाले)को केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । २०६७ मा झलनाथ नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री भइन् । एमालेको पार्टी स्कुल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरिन् ।
२०७० मा एमाले परित्याग गरी एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरीन् । हाल उनी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रहेकी छिन् । भारतको पन्जाब विश्वविद्यालयबाट समाजशास्त्रमा उनले विद्यावारिधी गरेकी छन् ।
प्रतिक्रिया