कस्तो हुनुपर्छ विद्यालय सुरू हुनुअघि बालबालिकाको सिकाइ ?

काठमाडौं । नुवाकोटस्थित सिंहदेवी आधारभूत विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय बन्द गर्न नगरपालिकाको उर्दी आयो । तर विद्यालयकी प्रधानाध्यापक कमला निरौला बन्द गर्ने पक्षमा थिइनन् । उनी विद्यार्थी संख्या कसरी बढाउन सकिन्छ भन्ने उपायतिर घोत्लिन थालिन् ।
त्यति नै बेला ‘अर्ली चाइल्डहुड एजुकेसन सेन्टर’ले एउटा तालिमको आयोजना गरेको थियो । तालिम प्रारम्भिक बाल विकाससँग सम्बन्धित थियो। त्यसबाट उनले बालबालिकाहरूलाई कसरी खेल्दै सिकाउने भन्ने कला सिकिन् । त्यहाँ सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्नका लागि विद्यालयका आवश्यक समाग्रीमा उनले व्यक्तिगत रूपमा लगानी गर्न थालिन् । नभन्दै, उनको पढाउने र सिकाउने तौरतरिकामा परिवर्तन आयो । विद्यालयप्रतिको घट्दो आकर्षण बढ्न थाल्यो । पहिला नियमित रूपमा विद्यालय नआउनेहरू पनि अब त सधैंजसो आउन थाले । विद्यालयप्रति बालबालिकाको फेरिएको रूचि त्यो समुदायमै नौलो मानियो । बाल विकाससम्बन्धी तालिमकै कारण विद्यालय नै बन्द गराउनुपर्ने अप्रिय अवस्था आएन ।
बेलबारीस्थित महेन्द्र माध्यमिक विद्यालयमा प्राथमिक तहलाई शिक्षण गर्दै आएका फणीन्द्र (सुवास) पराजुलीलाई पनि प्रारम्भिक बाल विकासको तालिमले धेरै कुरा सिकायो । यो तालिम लिनुअघि उनी विद्यार्थीको मानसिक विकासमा मात्रै केन्द्रित हुन्थे । तालिम लिइसकेपछि भने उनले बालबालिकाको मानसिक मात्रै नभएर समग्र विकासमा ध्यान दिनुपर्ने महत्त्व बुझे ।
सिकाउँदै पढाउने माध्यमकै कारण उनले शिक्षणको पनि विभिन्न आयामहरूबारे थाहा पाउने मौका पाए । उनले बच्चाहरूलाई सिकाउने क्रममा बनाउन थालेको योजना र परिवर्तन गरेको ढाँचाले पहिलाको तुलनामा विद्यार्थीहरूमा धेरै सकारात्मक परिवर्तन आएको महसुस गरेका छन् । जसकारण प्रारम्भिक बाल विकासले शिक्षा क्षेत्र नै रूपान्तरण हुन सक्ने उनको विश्वास अझ बढेको छ ।
शिक्षक तथा प्रधानाध्यापकमा मात्रै नभएर यस्तो किसिमको तालिमले बच्चा हुर्काइरहेका अभिभावकलाई पनि थप सहयोग पुर्याएको छ । आफ्ना बालबालिकाले भनेको नमान्दा र सिकाएको नजान्दा कुटपिट गर्ने अभिभावकहरूलाई सतर्क बनाएको छ । बालबालिकाहरूलाई कुन उमेरमा कस्ता किसिमका कुराहरू सिकाउने भन्नेबारे जिम्मेवारीको बोध गराएको छ ।
झण्डै एक दशकदेखि ललितपुरस्थित अर्ली चाइल्डहुड एजुकेसन सेन्टरमार्फत प्रारम्भिक बाल विकासको तालिम दिँदै आएकी अनुपमा मुखिया बालबालिकाको समग्र विकासका लागि यो अत्यावश्यक भएको बताउँछिन् ।
उनका अनुसार, यो तालिमले बालबालिकालाई विद्यालय जानुअघि तयार हुन मद्दत गर्छ । कक्षा एक पुग्नुअघि उनीहरूलाई त्यसको लागि चाहिने आधारभूत सिकाइमा योग्य बनाउँछ । त्यस्तै विद्यालय जानका लागि स्वतःस्फूर्त किसिमको भावनाको विकास गराइन्छ ।
कतिपय अवस्थामा बालबालिकाहरूलाई उमेर सुहाउँदो क्रियाकलाप गराइदैन । यस्तो बेलामा उनीहरू विद्यालय जान मान्दैनन् । ‘गृहकार्य बढी दिने चलन छ । अभिभावकको पनि अपेक्षा त्यस्तै हुन्छ । लेखपढ गर्नुपर्ने, टन्न गृहकार्य हुनुपर्ने र अंग्रेजी फरर बोल्नुपर्छ भन्ने अपेक्षा हुन्छ,’ उनी भन्छिन्, ‘तर वास्तविकता त्यस्तो हुँदैन । उनीहरूलाई तयारी मात्र गराउने समयमा यस्ता अपेक्षा राखिन्छ ।’
प्रारम्भिक बाल विकासले विद्यार्थीहरूलाई गृहकार्य या कक्षाकार्य गर्नुभन्दा विद्यालयमा साथी बनाउने, समाजिक विकास, कक्षाकोठाको नियम पालना गर्ने, खेल्दा पालो पर्खिनेलगायतका कुराहरू सिकाउँछ । योसँगै उनीहरूको संवेदनात्मक विकासमा पनि जोड दिइन्छ । जस्तै, आफूसँग आएका खुशी, इष्र्या, रिस, आवेग, संवेदनालगायतका भावनालाई व्यवस्थापन गर्ने तरिका सिकाइन्छ ।
तर यी कुराहरूमा जोड नदिई कलम समाउन नजान्दै सिधै पढाइका कुराहरू सिकाउन थालेपछि बाल बालिकाहरूमा सिक्ने उत्सुकता विस्तारै हराउँदै जाने उनी बताउँछिन् । ‘यस्तो भएपछि कक्षा १ सम्म पुग्दा त उनीहरूलाई पढ्ने इच्छा नै हुँदैन । त्यसैले हामीले उनीहरूलाई अब आउने कक्षा त कति रमाइलो हुन्छ भन्ने उत्सुकता आउनेगरी तयार गरिदिनुपर्यो,’ उनले भनिन् ।
यस्ता कक्षा कस्तो हुनुपर्छ ? बालबालिकालाई के कुरा कसरी सिकाइन्छ र उनीहरूको समग्र विकास कसरी हुन्छ ? नेपालवाच डटकम र किङ्स कलेजको संयुक्त प्रस्तुति एजुकेशन डायलगको यसपटकको मेलोमा यसै विषयको पेरिफेरीमा रहेर मुखियासँग संवाद गरिएको छ ।
शिक्षा क्षेत्रमाथिको बहसको थालनी गर्ने उद्देश्यले नेपालवाचले नियमित रूपमा एजुकेसन डायलग सुरू गरेको छ । शिक्षा क्षेत्रमा अभियन्ताकै रूपमा सक्रिय किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले प्रारम्भिक बाल विकासका आयामहरूबारे मुखियासँग गरेको कुराकानी तलको भिडियोमा हेर्नु सक्नुहुनेछ ।
प्रतिक्रिया