NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
संस्मरण

सगरमाथा आधारशिविरका अनुभूतिहरू

विश्वको सर्वोच्च शिखर चढ्न सके कस्तो होला । नसके पनि नजिकैबाट दृश्य चुम्न, परिवेशसँग प्रत्यक्षीकरण गर्न पाए कस्तो होला भन्ने भावनाहरू मनभरि मडारिएका थिए । जापानमा रहँदा त्यहाँका साथीहरूले बडो फूर्तीका साथ फुजी साङ (माउन्ट फुजी) को कुरा गरे, एक दिन फुँजी साङ आरोहण गर्ने कार्यक्रम पनि राखे । मेरो सगरमाथाको कम्मर पनि नआइपुग्ने फुजी साङ (३७७६ मिटर अग्लो) प्रति जापानीहरूको कति गर्व । नाकायामा र होसोदाले प्रश्न गरिहाले, मैनाली साङ तिम्रो सगरमाथाको उचाइ कति छ ? उचाइ त गर्वसाथ मैले पनि भनेँ, ८८४८ मिटर ।

प्रतिप्रश्नको उत्तर निकै असजिलो थियो– तिमी चढेका छौ ?

अहँ छैन ।

उसो भए अधार शिविर त पक्कै गएका हौला ? यसको उत्तर पनि गर्वले दिन सकिनँ । नजिकको तीर्थ हेलाँ ।

एक पटक जलवायु परिवर्तनसम्बन्धी गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्न हौसिएर सल्लेरी गएको त, सगरमाथाभन्दा कता हो कता टाढा रहेछ सदरमुकाम सल्लेरी त । विमानस्थल नै अर्को, बाटो नै अर्को । म त्यहाँ जानुुको लुुकेको स्वार्थ सगरमाथाको आधार शिविरसम्म त देख्न पाइन्छ कि भन्ने थियो ।

लेखेको सगरमाथाभन्दा देखेको सगरमाथा बेग्लै अनुभूति दिन्छ नै । तर चाहेर नै सगरमाथासँग साक्षात हुन जो कुनै सक्छ र ? समय, अवसर, स्वास्थ्य र साहस सबैले समर्थन गर्न प-यो । फेरि घुमेर मनोरञ्जन गर्ने औकात हामी नेपालीमध्ये कतिमा छ र ?

बेजिङ–छेन्दो हुँदै ल्हासाबाट नेपाल आँउदा हवाईजहाजले विश्वशिखरलाई दायाँ पारेर आएको थियो, सगरमाथाको काखैबाट आएजस्तो लाग्यो । जब सगरमाथा नजिकियो, जहाजका सबै मानिस झ्यालतिर आएर क्यामेरा तेस्र्याउन थाले । मैले पनि क्यामेराभरि सगरमाथाको पल्लो साइड कैद गरेँं, अनौठो अनुभूति त लिएँ तर सगरमाथा आधार शिविरसम्म पुग्ने चाहना र जान्ने उत्कण्ठा भने जागिरह्यो ।

विश्वकै ताजका रूपमा रहेको सगरमाथा हिमवत खण्डको जीवन्त इतिहास हो । मानव सभ्यताको एकल धरोहर हो । प्रकृति, जटिलता र जीवनको अविराम पहिचान हो । यो नेपालको पहिचान मात्र होइन, पूर्वीय संस्कृति र वैदिक दर्शन, शिवपार्वतीको क्रिडास्थल, अनि अरू धेरै श्रुती, स्मृति र ऋचासँग पनि हिमशृङ्खलाको इतिहास गाँसिएको छ । हिन्दकुश क्षेत्रको ताजा पानीको स्रोत (वाटर टावर) पनि हो सरगरमाथा र यसका साथी शृङ्खला । वरिपरि सचेत थकाइमा लमतन्न रहेका साना–ठूला हिमालको बीचमा अजङ्गको सगरमाथा उभिएको छ, मानौं कुनै लामो यात्राको थकानपछिको विश्राम हो यो । नाम पनि कति उपयुक्त जुराएछन् हाम्रा इतिहास शिरोमणि बाबुराम आचार्यले । हो यो सगरको माथ, पहाडहरूको ताज ।

अक्सफाम नेपालले तयार पारेको ‘हिमाल पनि हाँस्न छाडेछ’ (इभन द हिमालयाज ह्याभ स्टप्ड स्माइलिङ) नामक जलवायु परिवर्तन प्रतिवेदनको लोकार्पण गर्दा मेरो मन निकै विक्षिप्त भएथ्यो, के जलवायु परिवर्तनले मेरै हिमाललाई आक्रमण गर्दैछ ? साँच्चै हिमाल पग्लिएर ङिङ्गरिङ्ग जिङ्गरिङ्ग अनि कालो हुन लागेको हो ? मेरो मनले यो कुरा स्वीकार्दैन, अहँ त्यसो हुँदैन, त्यसो हुनु हुँदैन, कदापि त्यसो हुन दिनुु हुँदैन । पूर्वीय सभ्यता, हिमवत्खण्ड र प्रकृतिको जिउँदो इतिहास हो सगरमाथा, पृथ्वी रहेसम्म यही रूपमा रहनु पर्छ । करिब १२ करोड वर्षको आयुबाट झनै युवा देखिएको छ सगरमाथा । मेरो सगरमाथा मैलिनु, धमिलिनु र रित्तिनु हुँदैन । यसबाट सिर्जिएका हिमनदीले हामीलाई जीवन दिइरहनु पर्छ, यसको अग्लाइले हामीलाई साहस र स्वाभिमान दिइरहनु पर्छ । यसको पग्लाइले सरलताको सन्देश दिइरहनु पर्छ । सगरमाथा साहस र लक्ष्यको पनि पर्याय हो । सरलता र महानताको पनि साझा पर्याय हो ।

०७२ को प्रलयकारी महाभूकम्पले पनि मेरै सगरमाथालाई आक्रमण गर्नुपर्ने ? भूकम्पले हिमालको भौगर्भिक आधार (टेक्नोटिक प्लेट) खल्बलिएको आशङ्का गरियो, त्यति मात्र होइन, यसको उचाइ पनि घटेको हुनसक्ने अफवाह फैलियो । अफवाहलाई चिर्न नेपाली सर्भेएरबाटै अन्तर्राष्ट्रिय रूपमा मान्य प्रविधि अपनाएर यसको वास्तविक उचाइ मापन गर्ने चुनौती थपिएको थियो । संसारको ताजको उचाइ यति हो भन्ने विश्वसामु स्थापित गर्नु थियो । नापी महानिर्देशक सर्भेएर गणेश भट्टको समूह यसमा लागिरहेको थियो । केही जनशक्ति परिचालित थिए ।

विश्वशिखर सगरमाथाको उचाइ मापन गर्ने साहसिक एवं ऐतिहासिक कार्यका लागि प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेएरहरू सुरजसिंह भण्डारी र युवराज धितालसहित चार सदस्यसहित नेपाली गाइडलाई सम्माननीय प्रधानमन्त्री, विभागीय मन्त्री र मैले फूलमाला, अबिर खादासहित शुभकाना दिएर ०७५ चैत्र २७ मा बिदा गरेका थियौं ।

विदाइ भावविह्ल थियो । टोली नेता खिमलालजी यसअघि पनि सगरमाथा आरोहण गरिसकेका थिए । निजामती कर्मचारीको तर्फबाट सगरमाथा आरोहण गर्ने काम उनले गरिसकेका थिए । उनमा ऐतिहासिक कामको साहसिक नेतृत्व लिने उच्च मनोकाङ्क्षा थियो, परिवारका सदस्यहरू यस कामलाई जोखिम सम्झिरहेका थिए । तर खिमलालजीको जिद्दीले साहसीहरू सम्झौता गर्दैनन्, समर्पित भइरहन्छन् भन्ने कुरा बताइरहेको थियो ।

मलाई पनि आफैंले मन्त्रालयको प्रशासकीय नेतृत्व लिएको समयमा राष्ट्रिय क्षमताबाट सगरमाथा उचाइ मापनको ऐतिहासिक काम हुनुपर्छ भन्ने लोभ भनौं कि मनोकाङ्क्षा थियो । टोलीमा संलग्न साथीहरूको मनोबल बढाउने काम निकै महत्त्वपूर्ण थियो । काम पनि पूरा होस्, सर्भेएर साथीहरूमा जोखिम पनि आइनपरोस्, यहाँभन्दा बढी म के चिताउन सक्थँे र ? मैले लगाइदिएका टीका, अबिर, माला र खादाले यही बताइरहेको थियो ।

राजधानीबाट आधार शिविर पुगेको टोली केही दिन त्यही रहन्थ्यो । आवश्यक तयारी र तालिमका कार्यहरू सञ्चालन हुँदै थियो । टोलीलाई उचाइ र मौसमी विषमतासँग अनुकूलित हुनु थियो । मन्त्रालयको तर्फबाट आधार शिविरमा एउटा तालिम र छलफल कार्यक्रम आयोजना गर्ने र त्यस कार्यक्रममा मन्त्रालयबाट सचिव र मन्त्रीले पनि भाग लिने कार्यक्रम तय भएको थियो ।

२०७६ वैशाख २८ गते बिहान ६ बजे नै सगरमाथा आधार शिविरको यात्राका लागि तयर भएँ । चैत्र २७ मा प्रस्थान गरेको खिमलालजी नेतृत्वको टोली आधार शिविरमा काम गरिरहेको थियो । सहयोगका लागि नापी विभागका केही साथीहरू पनि त्यहाँ थिए ।

उचाइ मापनका लागि नजिकको समुद्री सतह पश्चिम बंगालबाट सिराहा हुँदै सगरमाथा आधार शिविरसम्म नियन्त्रणबिन्दु विस्तार गरी समुद्र सतहसम्मको उचाइ सम्बन्ध कायम गरिसकिएको छ । आधार शिविरमा तालिम कार्यक्रम पनि सञ्चालन भइरहेको छ । नापी विभागले गरेको कामको अनुगमन र तालिमको प्रमाणपत्र वितरण गर्न विभागीय मन्त्री र म त्यसतर्फ लाग्दैछौं ।

केहीअघि पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहितको हेलिकप्टर दुर्घटना परी निधन भएपछि व्यापारिक कम्पनीको हेलिकप्टरबाट उच्च भेकमा जान डराएको छु । नेपाली सेनाको सानो हेलिकप्टरबाट आधार शिविर जाँदा यात्रा जोखिम कम हुने निष्कर्ष निकालेको छु । नेपाली सेनाको एयर सेफ्टीप्रति विश्वास छ । मन्त्रीज्यूले पनि नेपाली सेनाको हेलिकप्टरमा जाने मेरो अनुरोधलाई स्वीकार्नु भएको थियो ।

सानो हेलिकप्टरमा म, मन्त्रीज्यू, उहाँको सुरक्षा गार्ड र चालक मात्र छौ । काठमाडौंबाट काभ्रेपलाञ्चोक, रामेछाप, ओखलढुङ्गा हुँदै सोलुको लुक्ला पुग्नुपर्ने । त्यहाँबाट बन्दोवस्ती गरी आधार शिविर जानुपर्ने ।

जमिनबाट थोरै उचाइमा हेलिकप्टर उडेका कारण पहाड, खोलानाला, बस्ती, बजार, विद्यालय, खेती, बनहरू सजिलै नियाल्न सकिन्छ । धुलिखेल–नमोवुद्ध पार गरेपछि रोशीखोला, सुनकोशी, तामाकोशी माथिबाट रामेछाप ओखलढुङ्गा हँुदै लुक्ला पुग्ने यात्रा रोमाञ्चक मात्र छैन, मनभरि धेरै कुराहरू छचल्किएका छन् । उराठ र उत्साह दुवै छ । आफंैभित्र एक्साइटेड छु ।

मेरो जन्मभूमि काभ्रेपलाञ्चोकका शरीरभरि डोजरको आला डामहरु छन्, स्यालले भुत्ल्याएको कुखराजस्तै । वैशाखसँगै पलाएका नयाँ मुनाहरूले पनि प्रकृतिको लाज छोप्ने हरियाली भर्न सेकेको छैन । वर्षामा गड्गडावट गर्ने रोशी साँघुरिएर सानो सेतो धर्सोको रूपमा बगर देखिएको छ । वैशाखमा त यो नीलो रेखी बनेर आसपासलाई शीतल दिनुपर्ने थियो । प्रकृतिलाई सन्तुलन ल्याउने सामथ्र्य गुमाइसके छ । बिहानीको सूर्य किरणसँग धुलकणहरू मिसिएर रिमरिम तुवालो उठेको छ । नजिकैको उडानले बस्ती, खेती, पाखा, पखेरा, विद्यालय सजिलै नियाल्न सकिन्छ ।

रोशीखोला, तामाकोशी किनारका खेतहरू गिटी कुट्ने मैदान बनेछन् । म सानो छँदा ठाउँठाउँ देखिने पानी घट्ट पनि विकासका नाममा विस्थापित भएछन् । दुम्जा कुशेस्वर त होला, त्रिवेणीबाट पर पुगेछ । मयूर नाँच्ने रामेछापका पाखाहरू नाङ्गै भए छन् । खोँचतिर देखिने खरका छानाहरू सिमण्टीका मुण्डा घर बनेछन, जस्तापातामा टल्किन थालेछन् । बस्तीबीचका बजारहरुमा दैनिकीका लागि होला मानिसहरू आवतजावतमा देखिन्छन् । बस्ती भएका गाउतिर फाट्टफुट्ट मोटरबाइक कुद्न थालेछन् । आजभोलि त भैंसी बाँध्ने गोठहरुमा मोटरबाइक राखिन्छन् रे ।

तिमालका मात्र होइन, रामेछाप, ओखलढुङ्गाका धेरैजसो घरहरू रित्तै छन् । सायद केही वर्षपछि कि त्यहाँ पर्यटक रमाउने रिसोर्ट हुने छ वा घरहरू थप खण्डहर बन्नेछन् । बारीका पाटाहरु बाँझो छन्, उर्वरत्व भैकन बाँझो । कान्लाहरूमा डाले घाँस मौलाएको छ तर खाने गाइवस्तु छैनन् । सुविधा खोज्न सहर हानिएकाहरूलाई प्रकृतिले बिलाप गरिरहेको होला मेरो पवित्रतालाई आक्रमण गरेर किन मलाई बाँझो छोडिरहेका छौ ? सुविधामा भौतारिएकाहरूले जन्मभूमि र प्रकृतिमाथि किन यति उपेक्षा गरिरहे छन् ? प्रकृतिबाट अलग्गिएर सुविधाको सिर्जना हुँदैन भन्ने कसले बुझाउने होला ?

ऊ, अब लुक्ला विमानस्थल पनि देखिन थाल्यो । निकै जटिल रहेछ विमानस्थलको अवस्थिति । धावनमार्गमुनि ठाडो पहरोको थाप्लोमा । डोल्पाको जुफाल विमानस्थलमा छिर्नेजस्तो सानो पासबाट लुक्ला छिर्नुपर्ने रहेछ । मनका मोन्टाजहरू फेरिए । सानो लुक्ला उपत्यकामा अवतरण गरियो, तेन्जिङ–हिलारी विमानस्थलमा । विमानस्थलको नामले एक पटक तेञ्जिङ र हिलारीको साहसलाई स्मृतिमा ल्याइदिन्छ । त्यतिबेला सगरथामा आरोहण गर्नु कम्ती साहसको कुरा थिएन ।

सानो भए पनि लुक्ला बजार रमाइलो छ । प्रकृतिको स्वच्छ हावाले छुट्टै आनन्द दिइरहेको छ । बिहानीपखको कलिला घाम, हिमाल चुमेर आएका हावाका झोक्काको मिश्रणले मेरा गाला, नाक र मुखलाई बेस्सरी सुमसुम्याइ रहेको छ । बाक्लो ज्याकेटले शरीरका अन्य भागलाई भने लुक्लाले मौलिक माया लगाउन पाएन । दुई चार सेल्फीसहित प्रकृतिलाई कैद गरियो । तर सगरमाथाको नामोनिशाना छैन । ऊ कति पर लुकेर बसेको छ कुन्नि ?

हतारमा मन्त्रीज्यू र केही साथीहरूसँग ब्रेकफास्ट लिएर आधार शिविरको लागि तयार भएँ । लेक लाग्ला कि भन्ने डरले खल्तीमा भएको डोमेक्स चक्की मुखमा राखे । नापी विभागका साथीहरूले ज्याकेटको दुवै पाकेटमा काँचो लसुनको केस्रा र भुटेको मकै हालिदिए । लेक लाग्दाको रैथाने औषधि रहेछ काँचो लसुन र भुटेको मकै ।

केही क्षण भए पनि छिटो पुग्ने चाहनाले मन्त्रीज्यूभन्दा पहिला हेलिकप्टर चढेँ । मलगायत तीन साथीलाई फेदिचेमा छाडेर हेलिकप्टर लुक्ला फर्कियो । आधार शिविरबाट आएको हेलिकप्टरले हामीलाई त्यसतर्फ लग्यो । हेलिकप्टर निकै छोटो समय मात्र रोक्दो रहेछ ।

आधार शिविरमा के ओर्लिएको थिएँ, खिमलालजीले मलाई हात समातेर डो-याउन थाले । ओर्लिनेबित्तिकै मेरो मुख सोहोरिएको, अलि फुक्का भएको महसुस गरेछन् । मलाई भने त्यो मन परेको थिएन । आफैं हिडेर हाम्रो बैठकस्थलसम्म जाने र मन्त्रीज्यू आउनुअघि साथीहरुसँग कामको प्रगति लिने, अनौपचारिक कुराकानी गर्ने, हिमाललाई पृष्ठभूमिमा राखेर फोटो खिच्ने र मन्त्रीज्यू आएपछि औपचारिक कार्यक्रम सुरु गर्ने मन थियो । तर मेरा खुट्टाहरु लरबरिन थालेको महसुस भयो । पाकेटमा रहेको लसुन र भुटेको मकै एक फाँको मुखमा हालेँ । साथीहरू दुवैतिर समाएर मलाई डो-याउन थाले, एक्लै हिँड्ने मेरो आग्रहमा साथीहरूको सहमति रहेन । रविन, सुरज, युवराज र खिमलालजी मलाई कुनै असजिलो होला कि भनी सतर्क रहेछन् । खिमलालजीले मलाई डो-याउनु भएको ठीकै रहेछ ।

आधार शिविरमा अरू धेरै साथीहरू चिनेका रहेछन् । तर उनीहरूले लगाएको ज्याकेट, चश्मा र टोपीका कारण ठम्याउन सकिँदैनथ्यो । हाम्रो उपकरण जडेको ठाउमा गएँ, खिमलालजीले नेशनल जियोग्राफी च्यानलका कार्यक्रम प्रस्तोता एलेक्स टाइटसँग परिचय गराए । नेशनल जियोग्राफीले पनि हाम्रो अभियानलाई सहयोग गर्दै थियो । केही उपकरणहरू न्युजिल्याण्डबाट प्राप्त थिए, औषधि उपचारको व्यवस्थामा हिमालयन रेस्कू एशोसिएसन संलग्न भएको रहेछ, आपतकालीन उद्धारका लागि सेभेन सम्मिट ट्रेक, सञ्चार मनोरञ्जनका लागि एभरेष्ट लिन्क र पिक प्रोमोशन प्रालिको सेवा पनि रहेछ ।

ठम्याएर पाइला नटेके खुट्टा भासिने रहेछ । पाइला टेक्यो भुईँ भसस्..स झर्दो रहेछ । यसले मेरो उत्कण्ठालाई साँघु-याउँदै छ । एक्लै पर्यवेक्षण गरेर हिमशृङ्खलाको दृश्य आस्वाद गर्ने मनोभावलाई साँघु-याएको छ । शिविरभरि दर्जनौं रङ्गीचङ्गी पालहरूले पनि मेरो मनलाई टँङ्च्याएको छ । जति सावधानी अपनाए पनि आधार शिविरको पवित्रता अतिक्रमित छ । केही दृश्यहरु मोबाइलमा कैद गरेँ, पञ्जा लगाएको हातले धेरै दृश्यहरु कैद गर्न बाधा पु-याइरहेको छ ।

मन्त्रीज्यू आइपुग्नु भो । उहाँ मभन्दा स्फूर्तिमा पाएँ । डो-याउन त साथीहरूले उहाँलाई पनि डो-याएका थिए, तर मेरो जसरी खुट्टाहरू लरवराएका थिएनन् । कार्यक्रमअघि साथीहरूले राखेको नेपालको झण्डा र उपकरण सेटमा रहेर मन्त्रीज्यू र मैले फोटो लियौं । साथीहरूले सगरमाथा उचाइ मापन (समिट) का प्राविधिक कुराहरू बताए ।

नेशनल जियोग्राफीका एलेक्स टाइटले पनि रमाइलो कुराकानी गरे । प्रकृतिको स्वर्गको बयान गरे र यो स्थानमा आफू आउन पाएको रोमाञ्चक अनुभूतिको छोटो किस्सा बताए । हामीसँगको कुराकानी र आधार शिविरको गतिविधिलाई उनको प्रसारण च्यानलले प्रसारण ग-यो होला ।

अब कार्यक्रम स्थलतिर लाग्यौं । महानिर्देशक प्रकाश जोशीजीबाट विषयवस्तुको उठान पछि कार्य प्रगति र तालिमका सम्बन्धमा कार्यटोलीनेता खिमलाल गौतमजीले प्रकाश पारे । उनले सन् १८५० देखिको सगरमाथाको इतिहास र उचाइको विवरण, यसभित्र लुकेका तथ्यहरू उजागर गर्दै गए । सर्वप्रथम भारत (साविक इष्ट इण्डिया कम्पनी) ले सन् १८५० मा संसारको सबैभन्दा अग्लो टाकुरो मानेपछि १९५४ मा भारतका सर्भेएरले नै ८८४८ मिटर, १९७५ मा चीनले ८८४८.१३ मिटर, १९९९ मा अमेरिकाले ८८५० मिटर र २००५ मा इटाली चीनले ८८४४.४३ मिटर भनेदेखि वि.सं. ०७२ मा गएको भूकम्पले यसको प्लेट खलबलिएको कुरा र नामकरणका विषयमा सिलसिलेवर प्रस्तुत गरे । उनको प्रस्तुतिमा उचाइका विषय मात्र नभएर पूर्वीय संस्कृति, हिमवत खण्डको इतिहास, धर्म, भूगर्भका कुराहरू पनि थिए । तर हाम्रो काम मान्य रूपमा राष्ट्रिय क्षमता र नेपाली जनशक्तिबाट सर्वोच्च शिखरको उचाइ मापन गर्नु मात्र थियो ।

मेरो मनमा जतिखेर पनि सर्वोच्च शिखरको उचाइ नघटे हुने, अझ बढे हुने भन्ने कुरा खेलिरहन्थ्यो । अमेरिकाले ८८५० मिटर भन्नुको पछि पनि त कारण होला नि । कति पटक त साथीहरूलाई सोधेँ पनि, के उचाइ घट्ने सम्भावना पनि छ ? जसको यकिन उत्तर प्रविधिले दिन सक्थ्यो, सम्मिट पछि मात्र ।

तर तेस्रो चेतले भनिरहन्थ्यो, मेरो सगरमाथाको उचाइ घट्ने होइन, बरू बढ्ने छ । टेक्नोटिक प्लेट खलबलिएको भन्ने कुरा अफवाह मात्र हो ।

साथीहरूलाई दिने प्रमाणपत्रमा मुस्किलले दस्तखत गरेँ । मेरा हातहरू स्वाभाविक अक्षर लेख्न छाडिसकेका थिए । श्वास फेर्न पनि असजिलो महसुस गर्दै थिएँ । तर आधार शिविरमा लामो समय बस्ने लोभले म यी कुराहरु बताउन चाहँदैनथेँ। शुभकामनाका शब्दहरूबाट साथीहरूको मनोबल बढाउन चाहन्थेँ । मनमनै सोचेको पनि थिएँ, सगरमाथा सम्मिट सम्पन्न गरेपछि वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार उनीहरूलाई नै दिन सिफारिस गर्नेछु, विभूषणका लागि पनि सिफारिस गर्नेछु । राष्ट्रका लागि जीवन जोखिममा राखेर साहसिक काम गर्नेहरूलाई सम्मान नगरे कसलाई गर्ने ?

साथीहरूलाई शुभकामना शब्दहरूका साथ यस्तो अवसर इतिहासमा यदाकदा थोरै व्यक्तिलाई मात्र जुर्छ, ऐतिहासिक अवसरको सदुयोग गर्न, स्वास्थ्य सावधानी र साहसबीच सन्तुलन ल्याउन अनुरोध गरिसक्दा नसक्दै छातीमा झनै असजिलो अनुभव गर्न लागेँ । अलि गह्रुँगो वस्तुले झ्वाप्प थिचेजस्तो भो, बोली पनि लरबरिन थाल्यो । नबताए पनि साथीहरूले मेरो अवस्थाको जानकारी पाइ सकेछन् । लसुन, भुटेको मकै र डोमेक्सले पनि धेरै काम गरेन ।

उचाइ लाग्दा झोल पदार्थहरू लिनु पर्छ रे । हाम्रो क्याम्पमा त चिया मात्र थियो । यस्तो अवस्थामा शिविरमा सबैले सहयोग गर्दा रहेछन्, चिन्नु पर्दोरहेनछ । अरू क्याम्पको जुस, फ्रुटी पनि लिएँ । सबैको आग्रहपछि लुक्ला फर्किने निधो गरेँ । डो–याएरै साथीहरूले हेलिप्याडतर्फ पु–याए, त्यहीँ सानो हेलिकप्टरले फेदिचे झारिदियो । पन्ध्र मिनेट फेदिचेको चौरमा एक जना साथीसँग रहेपछि अर्को हेलिकप्टरबाट लुक्ला पुगेँ ।

लुक्ला होटेलमा डेढ–दुई घण्टा सुतेपछि मन्त्रीज्यू पनि आइपुग्नु भयो । राजधानी फर्कियौं । हेलिकप्टरको गति त उही थियो, तर राजधानीको यात्रा लामो लाग्यो । छातीको असजिलो घट्दै थियो तर बोली भने लरबरिन छाडेन, तोतेपन बाँकी थियो । मनमा भने एउटै कुरा थियो, पहिलो प्रयासमै बिना जोखिम शिखर मापनको काम सम्पन्न होस्, उचाइ अरू बढोस् ।

दुई हप्तापछि, साथीहरूले सुम्पिएको काम फत्ते गरेछन् । दुई जना साथी निकै जोखिममा परेछन्, सम्मिट पछि फर्कंदा एक जनाको अक्सिजन सकिएछ । अरू साथीहरूको सहयोगले ज्यान भने गएन । सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । सफलताको सन्देशले खुसीले गदगद भएँ । राष्ट्रिय क्षमता र नापी विभागकै जनशक्तिबाट पहिलो पटक यति ठूलो काम सम्पन्न भयो । इतिहासले यो साहस र सफलतालाई सधैं संरक्षित गर्नेछ ।

नापी विभागको स्थापना दिवसका अवसरमा ऐतिहासिक जिम्मेवारी पूरा गर्ने सबै साथीहरूलाई नेपाल सरकारका तर्फबाट मन्त्रीज्यू र मैले सम्मान ग–यौँ ।

आरोहण कार्यटोलीका नेता खिमलालजीले सगरमाथाको बाह्र करोड वर्षदेखिको इतिहास, हिमवत् खण्डको संस्कृति, भौगर्भिक विषय र साहसिक यात्राको अनुभव समेटिएको कृति ‘पन्ध्रौ चुली’ प्रकाशन गरेछन् । पहिला सगरमाथामो राज्यरारोहण शीर्षकमा खिमलालजीको पुुस्तक आउँदैछ भन्ने सुनेको थिएँ, ‘पन्ध्रौ चुली’ को नाममा आएछ । जेहोस् यसले सगरमाथाको इतिहासलाई जीवन्त पार्ने अरू आधार दिएको छ । सहित्यमा पनि सगरमाथा, संस्कृतिमा पनि सगरमाथाले स्थान पाउनुु कति गौरवको कुरा ।

विश्वको ताज सगरमाथा ८८४८.८६ मिटर उचाइसहित नेपाली पहिचानको द्योतन युगौयुग गरिरहने छ ।

–मैनाली निवास

क्षितिज मार्ग, शंखमूल