NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सामुदायिक विद्यालयको भौतिकसँगै गुणस्तर विकासमा कसरी काम गर्दैछ युडब्लुएस ?

काठमाडौं । सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि लामो समयदेखि काम गर्दै आएको युनाइटेड वल्र्ड स्कुल्स(युडब्लुएस) ४० जिल्लाका ७६ विद्यालयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । युडब्लुएस नेपालका सहसंस्थापक तथा ‘कन्ट्रि डिरेक्टर’ समेत रहेका सूर्य कार्की प्राथामिक शिक्षामा सरकारले धेरै लगानी नगरेको देखेपछि आफ्नै प्रयासमा रुपान्तरण सुरु गरेको सुनाउँछन् ।

कार्कीका अनुसार संस्थाले वैदेशिक सहयोग जुटाएर नेपालका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले काम गरिरहेको छ । विशेषगरी नेपालको प्राथामिक शिक्षा(कक्षा ८) सम्म संस्थाले रुपान्तरणको लागि काम गरिरहेको हो । चार जिल्लामा सामुदायिक विद्यालय रुपान्तरणका लागि आवश्यक लगानी जस्तै भौतिकदेखि शैक्षिक लगानी पाँच वर्षको प्रोजेक्ट कार्यक्रममार्फत हरेक विद्यालयमा गर्ने गरेको छ ।

विद्यालय रुपान्तरणका लागि समुदायसँगै त्यहाँको स्थानीय सरकारसँगको पनि सहकार्यमा काम गरिरहेको संस्थाले हाल चार जिल्लाका ७६ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

संस्थाले विगत ७ वर्षदेखि गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि आवश्यक लगानीका लागि पहल गरिरहेको छ । विद्यालयको भौतिक पूर्वाधारका लागि आवश्यक सबै किसिमका पूर्वाधारको विकास जस्तै खेल मैदान, कक्षाकोठा, बालमैत्री शौचालयलगायत बनाउन संस्थाले मद्दत गर्दै आएको छ । कुनै पनि विद्यालयसँग पाँच वर्षे कार्यक्रम भनेर हस्ताक्षर गरिसकेपछि शैक्षिक गुणस्तरका लागि चाहिने शिक्षक लगानी, तालिम, आवश्यक समाग्री, छात्रवृत्ति र विद्यार्थीलाई विद्यालयमा हाँसीखुसी पढेर बसिरहने वातावरण कसरी बनाउने भनेर पनि काम गरिरहेको कार्कीले बताए ।

कसरी छानिन्छ विद्यालय ?

स्थानीय समुदाय र सरकारको २० प्रतिशत र युडब्लुएसको ७० प्रतिशत लगानीमा छनौट भएका विद्यालयको सबै पूर्वाधार विकासको जिम्मेवारी युडब्लुएसले लिन्छ ।
युडब्लुएसले विद्यालय जाने र नजाने विद्यार्थी संख्या, गरिबीको रेखांकनमा परेका विद्यार्थी संख्या, उनीहरुको पहुँच, विद्यालयको भौतिक स्थिती र शैक्षिक पूर्वाधारको अध्ययन गर्छ । यसकै आधारमा विद्यालय ‘सर्टलिस्ट’ गरेर लगानी गर्ने कार्कीले बताए । उनका अनुसार नगरपालिका नजिकै रहेका विद्यालयमा पनि युडब्लुएसले लगानी गर्दैन । ‘नगरपालिका नजिक रहेकोमा हामी लगानी गर्दैनौं,’ उनले भने, ‘किनभने ती विद्यालय नगरपालिकाकै नजरमा हुन्छ । यसको साटो नगरपालिकाको पहुँचबाट टाढा रहेका विद्यालयहरुमा लगानी गर्छौं ।’

विद्यालयको आवश्यकतामात्रै नभएर पहुँच पनि नभएको ठाउँमा उनीहरू पुगेका हुन्छन् ।

कार्कीले शैक्षिक क्रान्तीलाई आन्दोलनको रूपमा लिएका थिए र लिइरहेका छन् । त्यही सोचसहित अमेरिकाबाट नेपाल फर्किएर शिक्षा क्षेत्रमा काम गरिरहेका कार्कीसँग यसपटकको एजुकेसन डायलगको श्रृंखलामा संवाद गरिएको छ ।

युडब्लुएसले नेपालको शिक्षा रुपान्तरणमा गरिरहेको कामसँगै नेपालको शिक्षाका विभिन्न आयामबारे कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले कार्कीको अनुभव र बुझाइ निलाल्ने कोशिस गरेका छन् ।

संवादका क्रममा कार्कीले पछिल्लो समयमा नेपालको शिक्षाले भविष्य बनाउन सकिनेबारे कसैलाई विश्वास नभएको बताएका छन् । विशेषगरी नीति निर्माण गर्नेहरूले नीति कार्यान्वयन गर्नेहरुसँग बसेर छलफल नगरेसम्म यो समस्या समाधान नहुने उनको बुझाइ छ ।

योसँगै सामुदायिक विद्यालयका उर्जाबिनाका शिक्षकहरूलाई समयमै बिदा गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । ‘जबसम्म बुढाखाडा शिक्षक छन् तबसम्म शिक्षामा परिवर्तन सम्भव छैन,’ उनले भने, ‘सरकारी विद्यालयमा सबै उर्जा सकिएको र हार खाएका व्यक्ति छन् । उहाँहरुमा चुनावमामात्रै उर्जा आउँछ । चार वर्षको अवधीमा उनीहरूमा त्यत्ति उर्जा कहिल्यै देखिन्न जति चुनावमा देखिन्छ ।’

सुन्नुहोस् कार्कीसँग गरिएको संवादको पूरा अंश