NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नीति बहसः बदलिँदो भूराजनीतिक परिस्थिस्थितिमा कस्तो हुनुपर्छ नेपालको परराष्ट्र नीति ?

काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुति ‘पोलिसी डायलग’को नयाँ श्रृंखलामा बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपालको परराष्ट्र नीति कस्तो हुनुपर्छ भन्ने विषयमा यस क्षेत्रका जानकारहरूले बहस गरेका छन् ।

पूर्वपरराष्ट्र मन्त्री तथा राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले सञ्चालन गरेको यस श्रृंंखलामा पूर्वराजदूत डा. दिनेश भट्टराई र परराष्ट्र मामिला जानकार प्रा. डा. खड्ग केसीसँग संवाद गरिएको छ ।

डा. भट्टराईले विभिन्न मितिमा बनेका ‘टास्कफोर्स’ले परराष्ट्र मामिलाबारे तयार पारेका अध्ययन प्रतिवेदन कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड लिए । १९९६ मा आर्थिक कूटनीति भनेर उच्चस्तरीय कार्यदल गठन भयो । त्यसपछि २००२ मा नीति अध्ययन समूह बन्यो भने २००६ मा उच्चस्तरीय परराष्ट्र नीति कार्यदल गठन भयो । २०१६ मा आएर बदलिँदो भूराजनीतिलाई सम्बोधन गर्ने परराष्ट्र नीतिबारे अर्को टास्कफोर्स पनि बन्यो ।

उनका अनुसार, यी कार्यदलले गरेका अध्ययन प्रतिवेदन परराष्ट्र मन्त्रालयकै दराजमा थन्किएका छन् । हाम्रा दुई छिमेकीहरूबाट फाइदा लिन दैलोमै भएका अवसरको पहिचान गर्न पनि यी प्रतिवेदन पल्टाउनु पर्ने उनको मत छ । उनको बुझाइमा ती अवसर पहिचान गर्न संस्थाहरू बलियो हुनु अपरिहार्य छ । ‘संस्थालाई बलियो बनाउनै पर्छ । त्यसलाई साधन स्रोतले पनि सम्पन्न बनाउनुपर्छ,’ उनले भने, ‘दैलोमा भएका अवसरलाई पहिचान गरेर त्यसको चिरफार गर्न सक्ने संस्थाहरू चाहिन्छ ।’

प्रा. डा. केसी पनि छिमेकी राष्ट्रहरूबाट नेपालले लिन सक्ने लाभ पहिचान गर्न हाम्रा संस्थाहरू काबिल हुनुपर्ने बताउँछन् । शक्तिराष्ट्रको रूपमा उदाउँदै गरेका छिमेकी मुलुकबाट फाइदा लिन पहिला आफ्नै घर सम्हाल्नुपर्ने उनको सुझाव छ । समय अनुकूल कहिले एकातिर त कहिले अर्कोतिर ढल्किँदा कतैबाट पनि लाभ लिन नसकिने उनको आशय छ । ‘हाम्रो राजनीतिक नेतृत्वले सधैं आफ्नो पद प्राप्ति र त्यसको सुनिश्चितताका लागि छिमेकीहरूसँगको सम्बन्धलाई ‘इन्टरप्रेट’ गरिरहेका छन्,’ उनले भने ।

आफैं बलियो बन्नका लागि राज्यले कुन मुलुकसँगको परराष्ट्र सम्बन्ध कस्तो हुने भन्ने विषमा बहस गर्नुपर्ने उनी बताउँछन् । यस्ता बहस गर्न र सुझाव लिनका लागि विश्वविद्यालयमा विद्यार्थीले तयार पारेका थेसिसमा के छन् भनेर सोधीखोजी गर्न उनले सुझाए ।

‘हाम्रो परराष्ट्र सम्बन्ध कुन देशसँग कस्तो हुने भनेर राज्यले बहस गर्नुपर्छ । यसबारेमा बहस गर्ने संस्था खै ?,’ उनले भने, ‘विश्वविद्यालयमा यस्ता विषयमा अनुसन्धान गरेर थेसिस बन्छन् । ती थेसिसमा के छन् भनेर सोध्ने काम राज्यले गर्छ र ?’

कुनै पनि छिमेकीले हामीलाई माया गर्छन् भन्ने धारणा नबनाउन र सार्वभौम समानताका आधारमा सबैसँग समान किसिमको सम्बन्ध राख्न उनले सुझाए ।

हेर्नुहोस् संवादको पूरा भिडियो