NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

रमाना लिएर डिजी सरोकारवालासँग बैठकमा, भन्छन् –यो सामान्य हो

निजामती कर्मचारीको सरुवा तथा पदस्थापनलाई व्यवस्थित बनाउन सरकारले छुट्टै मापदण्ड बनाएको छ । तर त्यसको इमानदार कार्यान्वयन अझै हुन सकेको छैन । फलतः मापदण्डअनुसार सरुवा गर्नुपर्नेमा मनपरी भइरहेको छ । यसले एकातिर सेवा प्रवाह प्रभावित भइरहेको छ भने अर्कातिर कर्मचारीको मनोबल खस्किरहेको छ ।

कर्मचारी सरुवाका अनेक रूप हरेक दिनजसो देख्न पाइन्छ । मंगलबार मात्रै सरोकारवालासँग छलफल गर्दागर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरको सरुवा भएको खबर प्रकाशमा आयो । तर खोजीपस्दा उनको गत आइतबार नै सरुवा भएको र उनी यसबारे जानकार हुँदा–हुँदै सहभागी भएको पाइयो । नेपालवाचसँग कुरा गर्दै ठाकुरले आइतबार सरुवा भएर महानिर्देशकको हैसियतमा सरोकारवालासँगको छलफलमा आफू बसेको बताए ।

सरोकारवालाले सरुवा भएका विभागकीय प्रमुखसँग छलफलमा राखेर बेफकुफ बनाएको भन्दै आलोचना गरिरहेका बेला ठाकुरले यसलाई अन्यथा लिन नहुने बताए ।

‘सरोकारवालासँग मंगलबार गरिएको छलफल पनि कुनै आकस्मिकता नभएर नियमित कार्यक्रम हो । महानिर्देशकको आफ्नो जिम्मेवारी हुने भएकाले सरुवा भइसके पनि मैले त्यसलाई निर्वाह गरेको हुँ,’ उनले भने ।

ठाकुरसँग गरिएको संक्षिप्त कुराकानी :

आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट तपाईंको सरुवा भएको हो ?

यो सत्य हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकै महाशाखामा मेरो सरुवा भएको छ । चिठी बुझिसकेँ । आजबाट त्यही हाजिर हुन जाँदैछु।

विभागको कामलाई चुस्त र प्रभावकारी बनाउनेसम्बन्धमा उपभोक्ता अधिकारकर्मीलगायतसँग छलफल गर्दैगर्दा यहाँको सरुवा भएको सुनिएको छ । यस्तै भएको हो ?

होइन, होइन ।

कहिले भएको रहेछ त त ?

गत आइतबार नै गरिएको रहेछ । हिजो (मंगलबार) रमाना लिइसकेँ । आज मन्त्रालयमा गएर हाजिर हुन्छु ।

त्यो सरोकारवाला राखेर छलफल गर्नेबेला तपाईंलाई यसबारे थाहा थियो कि थिएन ?

त्यति बेला त मैले सरुवाको पत्र नै बुझिसकेको थिएँ ।

यो कुरा बैठकमा सहभागीलाई भन्नुभएको थिएन हो ?

हजुर, हजुर ।

भनेपछि सरोकारवालालाई त बेफकुफ नै बनाउनु भएको रहेछ त ?

सरकारी निकायका आफ्नै नियमित काम हुन्छन् । सरोकारवालासँग मंगलबार गरिएको छलफल पनि कुनै आकस्मिकता नभएर नियमित कार्यक्रम हो । महानिर्देशकको आफ्नो जिम्मेवारी हुने भएकाले सरुवा भइसके पनि मैले त्यसलाई निर्वाह गरेको हुँ ।

पाँच महिनाअघि विभागको जिम्मेवारीमा जानुभएको तपाईंको अनायासै सरुवा भएछ । चित्त दुखेको होला हगि ?

छैन, छैन । यो सरुवा म आफैंले मागेकाले भएको हो ।

किन माग्नुभएको त ?

त्यस्तै लाग्यो ।

तपाईं आफैंले सरुवा माग्नुभएको रहेछ । हाम्रोमा सरकारी निकायको नेतृत्वमा जो जान्छ उसले आफूअनुकूल काम गर्छ । संस्थागत स्मरण पनि दयनीय छ । राखिएको भए पनि अघिल्ला नेतृत्वले गरेको कामको जस अर्कोले लिँदैन । तर तपाईं त सरुवा भइसकेपछि सरोकारवालासँग छलफलमा मात्र बस्नुभएन, कार्ययोजना नै प्रस्तुत गरिदिनुभयो । यो त मजाकको हद भएन सहसचिवज्यू ?

कार्ययोजना भनेको व्यक्तिको नभएर कार्यालयको हुन्छ । नेतृत्व मात्र प्रमुखले गर्ने हो । राम्रो गर्ने उद्देश्य राखेर आफ्नो बुद्धिले भ्याएसम्म त्यस (कार्ययोजना) लाई राम्रो बनाउने प्रयास गरेको छु ।

अनि तपाईंले बनाएको कार्ययोजना नयाँ महानिर्देशकज्यूले कार्यान्वयन गर्नु होला त ?

त्यो त उहाँको कुरा हो । नयाँ महानिर्देशकज्यूसँग त्यसलाई कार्यान्वयन गर्ने बेला ‘अन’ गर्ने र सामान्य किसिमले मोडिफाइ पनि गर्न सक्नुहुन्छ । आखिर कुरो उही हो किनभने, ऐन–कानून त परिवर्तन भएको छैन नि ? त्यसैले कार्ययोजना परिवर्तन भए पनि त्यस्तो ठूलो केही हुन्न, सामान्य मात्र हुन्छ ।

तपाईंले प्रस्तुत गरेको कार्ययोजनामा चाहिँ के–के उल्लेख छन् ?

विभागमा रहेर मैले ठीक पाँच महिना काम गरेँ । यसक्रममा मैले विभिन्न समस्या र विकृति नजिकबाट देख्ने मौका पाएँ । आफूले थाहा पाएको क्षेत्रको विकृति छुट्याएर एकीकृत ढंगले अनुगमनलाई तीव्रता दिनेलगायत योजना त्यसमा छ ।

बैठक चल्दाचल्दै महानिर्देशकको पद चैट !

ताजा अपडेट

नेपालवाच विशेष