NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

सैनिक जवानबारे रामकुमारी झाँक्रीको आपत्तिजनक टिप्पणी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बारे बुधबार गरेको टिप्पणीले रामकुमारी झाँक्री पुनः चर्चामा आएकी छन् । सामाजिक सञ्जालमा उनले गरेको टिप्पणीको धेरै प्रशंसा र कम आलोचना भइरहेको छ ।

एनआरएनए र गैरआवासीय नेपालीबारे उनले गरेको कतिपय टिप्पणी जायज भए पनि सर्वहारा र भुइँ मान्छेको लागि लडेको दाबी गर्ने झाँक्रीले सैनिक सेवाको  तल्लो पद जवानको अपमान हुने गरी अभिव्यक्ति दिएकी छन् ।

एनआरएनएका कतिपय व्यक्तिले झाँक्री बोलिरहेका बेला आपत्ति जनाउँदै अवरोध गर्ने प्रयास गरेपछि उनले तिनको वैचारिकस्तर सैनिक जवानको जति भएको भन्दै होच्याएकी हुन् । सैनिक जवानमा जागिर खानेको कुनै स्तर नै हुँदैन, ती सबैभन्दा गएगुज्रेका हुन्छन् भन्ने रामकुमारीको आशय थियो ।

‘नेपाली नागरिकलाई संविधानप्रदत्त सबै अधिकार छ । संविधानले सबै अधिकारको संरक्षण गरेको छ । नेपालीबाहेक गैरनेपालीलाई संविधानले मानव अधिकार र आर्थिक हिसाबले मात्र संरक्षण गर्छ । त्यसकारण तपाईंहरूको दिमाग एउटा सोल्जर्स (सैनिकको सदस्य, सिपाही) को भन्दा माथि नउठेको देखेर म छक्क परेँ । त्यसकारण यो विषयमा डिबेट (बहस) गर्नुचाहिँ बेकार छ,’ बुधबार एनआरएनएका प्रतिनिधिको झाँको झार्ने क्रममा उनले भनेकी थिइन् ।

त्यस्तै, झाँक्रीले रेस्टुरेन्टमा काम गर्ने भन्दै गैरआवासीय नेपालीको पनि अपमान गरेकी छन् ।

‘रेस्टुरेन्टमा काम गर्दागर्दै पढ्न भ्याउनुभएन होला । एक पटक हेर्नुहोला,’ झाँक्रीले कार्यक्रममा भनेकी थिइन् ।

झाँक्रीले दिएका अन्य अभिव्यक्तिको सामाजिक सञ्जालमा खुलेरै प्रशंसा भए पनि देशको रक्षाका लागि लडिरहेका सैनिक जवानबारे दिएको अभिव्यक्तिको विभिन्न व्यक्तिले आलोचना गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष