NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

रास्वपा कार्यालयमा उपहारको ओइरो, रविले लेखे– कृपया कष्ट नगर्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपहार नलिने पार्टीको नीति रहेको उल्लेख गर्दै त्यसका लागि कष्ट नगर्न आग्रह गरेका छन् ।

विजयादशमीको अवसरमा पार्टी कार्यालयमा उपहार आउने क्रम बढेपछि रविले पार्टीको नीति स्मरण गराउँदै नल्याउन आग्रह गरेका हुन् ।

‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा–हुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको छ।’

लामिछानेका अनुसार, पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएको छ । पार्टी नीतिविपरीत उपहार आउन थालेकाले सार्वजनिक जानकारी गराएको उनको भनाइ छ ।

लामिछानेले पार्टीको नाममा मात्र नभएर आफ्नो नाममा उपहार पठाउने कष्ट नगर्न पनि अपिल गरेका छन् । जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेण्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने उनको भनाइ छ ।

‘मेरा लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष (कोही, कसैमार्फत) उपहार पठाउने कष्ट नगर्न अनुरोध छ। जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेण्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्वद्ध सबैमा आग्रह गर्दछु,’ उनले लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष