होसन्नामा मनपरी, दाताको रकमले छोराछोरीलाई गाडी, सुर्खेतमा घर–घडेरी

काठमाडौं । गैरसरकारी संस्थाको सम्पत्तिको प्रयोग सरकारी सम्पत्ति सरह मानिन्छ । यस्ता संस्थाको सम्पत्तिमा मनपरी गर्नु कानून विपरित हो ।
तर सामाजिक कार्यका लागि खर्च गर्न दाताबाट आएको रकम एक गैरसरकारी संस्थाले दुरुपयोग गरेको छ । संस्थाले अध्यक्ष राजु सुन्दासका छोराछोरीका लागि गाडी खरिद गर्न दाताको रकम दुरुपयोग गरेको पाइएको हो ।
गैरसरकारी संस्था होसन्ना सेवाकाई नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न भनेर संस्थाका लागि आएको रकम खर्चेर अध्यक्षको छोराछोरीका लागि दुईवटा गाडी खरिद गरेका हुन् ।
रकम दुरुपयोगको शिलशिला गाडी खरिदमा मात्रै सिमित छैन । उनले सुर्खेतमा निजी सम्पत्तिको रुपमा घरघडेरी समेत खरिद गरेका छन् ।
यो संस्थाले समाज कल्याण परिषदबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने अनुमति लिएको छ । तर त्यो संस्थामा आएको सहायता रकमबाट अध्यक्ष राजु सुन्दासको छोराका लागि प्रदेश–३–०१, ०२४ च ९२५६ नम्बरको महिन्द्राको स्कार्पियो पिकअप गाडी र छोरीको लागि कियाको सेल्टोस गाडी खरिद गरिएको छ ।
आर्थिक वर्ष ०७९–८० मा होसन्नाले अध्यक्षको छोराको नाममा ३८ लाख रुपैयाँको महिन्द्राको स्कार्पियो पिकअप र छोरीका लागि सेल्टोस खरिद गरेको हो । गैरसरकारी संस्थाको रकम खर्चेर निकालिएको यी दुई गाडीको मासिक किस्तासमेत संस्थाबाटै भुक्तानी हुँदै आएको छ ।
यी दुवै सवारीसाधन अहिले राजुका छोरा एलेक्स र छोरीले नितान्त निजी काममा मात्र प्रयोग गर्ने गरेका छन् । छोरीका लागि खरिद गरिएको कियाको सेल्टोस गाडीको अहिलेको बजार मूल्य ५२ लाख रूपैयाँदेखि ९० लाख रूपैयाँसम्म छ ।
‘होसन्नालाई विश्वास गरेर दाताले पठाएको रकम दुरूपयोग गरेर राजुले आफ्ना छोरा र छोरीका लागि किस्तामा गाडी खरिद मात्र गरेका छैनन्, त्यसको मासिक किस्तासमेत त्यहीबाट तिरिरहेका छन् ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सञ्चालनका लागि व्यवस्था गरिएको समाज कल्याण नियमावली, २०४९ ले गैरसरकारी संस्थाको चल–अचल सम्पत्ति निजी स्वार्थमा प्रयोग गर्न निषेध गरेको छ । त्यसैगरी, सहयोग रकम सम्बन्धित शिर्षकमा अनुमति लिएर मात्र खर्चनुपर्ने व्यवस्था पनि छ ।
ऐनमा गैरसरकारी संस्थाले प्रचलित कानून र ऐनविपरीत कार्य गरेमा अनुमतिपत्र रद्द हुनेसम्मका व्यवस्था छन् । समाज कल्याण नियमावली, २०४९ को १३ (४) मा भनिएको छ ”प्रचलित ऐन कानून र यस नियमावलीविपरीत कार्य गरेमा समितिले त्यस्तो संस्थाको आबद्धता रद्द गर्न सोही नियमावलीमा प्रचलित ऐन, कानून र नियमावलीविपरीत कार्य गरेमा अनुमतिपत्र नै रद्ध हुनेछ ।’’
दाताबाट प्राप्त सहयोग रकम खर्चेर होसन्नाले अध्यक्षका छोराछोरीका नाममा गाडी खरिद गरेको लेखापरीक्षण प्रतिवेदनमै ‘वेरीतको खर्च’ भनी औंल्याइएको छ ।
‘होसन्नाले संस्थाको रकमबाट अध्यक्ष राजुको छोराछोरीका लागि सवारी खरिद गरेको लेखापरीक्षणका क्रममा फेला परेपछि त्यसलाई हामीले गलत औंल्याएका छौं,’ लेखापरीक्षणमा संलग्न एक चार्टड एकाउन्टेन्टले भने ।
दाताकै पैसाबाट घडेरी र घर
दाताले पठाएको रकम मनमौजी निजी स्वार्थमा प्रयोग गर्न अभ्यस्त राजुले अर्को बदमासी गर्दै आफ्नो नाममा घर र घडेरीसमेत जोडेका छन् ।
उनले सुर्खेतस्थित छिन्चुमा संस्थाको रकम खर्चेर करिब ८ रोपनी जग्गा आफ्नो नाममा खरिद गरेका हुन् । अहिलेको बजार मूल्यअनुसार करिब ८ करोड रूपैयाँको उक्त जग्गामा एक तलाका तीन वटा घरसमेत छन् ।
‘बिहान बेलुका हातमुख जोड्नसमेत धौ–धौ पर्ने पारिवारिक पृष्ठभूमिका राजु सुन्दासले बालबालिकाको हितका लागि खर्च गर्नेगरी दाताले उपलब्ध गराएको रकम अपचलन गरेर सुर्खेतमा करिब ८ करोड रूपैयाँबराबरको ८ रोपनी जग्गा र त्यसमा बनेको तीन वटा एकतले घर खरिद गरेका छन्,’ स्रोतले नेपालवाचसँग भन्यो ।
यसबारे जानकारी लिन हामीले होसन्नाका अध्यक्ष सुन्दाससँग पटक–पटक सम्पर्कको प्रयास गरेका थियौं । तर उनी उपलब्ध भएन । उनले आफ्नो निजी मोबाइल फोनसमेत फेरिरहने गरेका छन् ।
नम्बर फेरिरहने स्वभावका कारण उनलाई सम्पर्क गर्न कठिन हुने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
समाज कल्याण परिषद्का सूचना अधिकारी तथा कायममुकायम निर्देशक सञ्जयकुमार मल्लिकले गैरसरकारी संस्थाले आफ्नो चल–अचल सम्पत्ति व्यक्तिगत स्वार्थमा खर्च गर्न नमिल्ने बताए ।
प्रमाणसहित कसैले कुनै गैरसरकारी संस्थाबाट यस्तो भएको उजुरी दिएमा छानबिन गरेर कारबाही गर्ने उनले बताए ।
‘कुनै पनि गैरसरकारी संस्थाले दाताबाट प्राप्त सहयोग निजी स्वार्थमा प्रयोग गर्ने जस्ता गलत काम गर्न मिल्दैन । यदि कसैले त्यस्तो गरेको छ भने परिषद्ले छानबिन गरेर कारबाही गर्छ,’ उनले भने ।
होसन्ना समाज कल्याण परिषद्बाट शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्ने अनुमतिथ लिएर सञ्चालित गैरसरकारी संस्था हो । तर यसले मुलुकको मौजुदा संविधानलाई नै चुनौती दिँदै क्रिश्चियन धर्म प्रचारको काम गरिरहेको छ ।
त्यसैगरी, दातालाई फर्जी कर्मचारी देखाउने, संस्थाका कर्मचारीलाई कम वेतनमा काममा लगाउने जस्ता कार्य गर्दै आएको छ । यसबारे नेपालवाचले यसअघि नै दुईवटा रिपोर्ट प्रकाशित गरिसकेको छ ।
प्रतिक्रिया