NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेपालबाट चोरिएका ९६ ऐतिहासिक मूर्ति विदेशका म्युजियममा

काठमाडौं । पुरातत्व विभागका अनुसार विभिन्न कालखण्डमा गरी ९६ वटा मूर्ति र ऐतिहासिक वस्तु विभिन्न देशका संग्रहालयमा भेटिएका छन् । तर, पर्याप्त कूटनीतिक पहल र आर्थिक अभावका कारण ती ऐतिहासिक वस्तु नेपाल ल्याउन कठिन भएको छ । ती ऐतिहासिक मूर्ति तथा कलात्मक वस्तुहरू नेपालबाट चोरी तथा तस्करीका माध्यमबाट विभिन्न समयमा विदेशका संग्रहालयमा पुगेका हुन् ।

विभागले जहाँजहाँ मूर्ति तथा कलात्मक सामग्री पुगेका छन्, ती निकाय पत्ता लगाए पनि फिर्ता गर्न भने सहज भएको छैन । विभागले पुरातात्विक वस्तु पुगेको प्रमाणित गरेर ती वस्तुहरू नेपाल ल्याउन ताकेता गर्दै आइरहेको छ । तर, नेपालबाट चोरी र तस्करी भएर पुगेका मूर्ति राखिरहेको निकायले फिर्ता दिनेबारे बेवास्ता गरेको विभागको भनाइ छ ।

विभागका पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार मूर्ति तथा ऐतिहासिक वस्तुहरू पुगेको ठाउँमा विभिन्न माध्यमबाट ताकेता गर्दा पनि फिर्ता ल्याउन सकिएको छैन । यद्यपि, लामो कूटनीतिक पहलबाट भने कतिपय वस्तुहरू फिर्ता ल्याउन सम्भव भएको छ । उनका अनुसार कतिपय देशले सहजै मूर्ति तथा ऐतिहासिक वस्तु फिर्ता गर्छन् भने कतिले बारम्बार पहल गर्दा पनि फिर्ता नै गर्दैनन् । ‘नेपालबाट चोरी तथा तस्करी भएर विदेश पुगेका मूर्ति तथा ऐतिहासिक वस्तुहरू फिर्ता ल्याउन निकै गाह्रो छ । हामीले बारम्बार सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि मूर्ति तथा ऐतिहासिक चिजवस्तु फिर्ता भएनन्,’ उनले भनिन्, ‘तर पनि ती वस्तु फिर्ता ल्याउन कूटनीतिक तथा अन्य पहल पनि गर्दै आइरहेका छौँ ।’

विभागका अनुसार हाल बेलायतमा २४ थान मूर्ति तथा ऐतिहासिक वस्तु पुगेका छन् । यी वस्तुहरू चोरी तथा तस्करीबाट पुगेका हुन् । फ्रान्समा १६ थान, अमेरिकामा ६ थान, सिंगापुरमा एक थान, स्विडेनमा ३१ थान, अस्ट्रेलियामा दुई थान, चीनमा एक थान र स्विट्जरल्यान्डमा १५ थान गरी ९६ वटा ऐतिहासिक वस्तु फिर्ता गर्न सकिएको छैन । यी वस्तु हराएको प्रमाणित गरी विभागले त्यसको फाइल पनि सम्बन्धित देशको राजदूतावासमा पठाइसकेको छ ।

विभागको अनुसन्धानअनुसार नेपालबाट सबैभन्दा बढी मूर्ति तथा ऐतिहासिक वस्तु चोरी तथा तस्करी १९५० देखि १९९० को दशकमा भएको पाइन्छ । हाल नेपाल फिर्ता ल्याउन खोजिएका ऐतिहासिक वस्तुहरूमा पनि त्यही समय– कालखण्डमा विदेश पुगेका थिए । तर, कसले कसरी त्यहाँ पुर्‍यायो भन्नेबारे विभाग पनि अनभिज्ञ छ । विदेशका म्युजियम घुमेका नेपाली, सम्पदा क्षेत्रका स्थानीयवासी, सम्पदाप्रेमी, सम्पदाविद्लगायतले विभागलाई मूर्ति तथा ऐतिहासिक वस्तु हराएको वा चोरी भएको जानकारी दिने गरेका छन् ।

हाल विदेशका विभिन्न स्थानमा पुगेका मूर्ति तथा ऐतिहासिक वस्तुमध्ये सबैभन्दा महत्वपूर्ण हनुमानढोकास्थित तलेजु मन्दिरको कण्ठेहार हो । यो ऐतिहासिक वस्तु हाल अमेरिकाको आर्ट इन्स्टिच्युट अफ सिकागोमा छ । यो कण्ठेहार कुन समयमा त्यहाँ पुग्यो भन्नेमा पुरातत्व विभाग अनभिज्ञ छ । तर, हराएर त्यस स्थानमा पुगेको छ भन्ने थाहा पाएपछि पछिल्लो तीन/चार वर्षयता विभागले कण्ठेहार फिर्ता ल्याउन कूटनीतिक पहल गर्दै आइरहेको छ । यो कण्ठेहार प्रताप मल्लले भवानी देवीलाई गलामा लगाइदिएको इतिहास छ । यो कण्ठेहार विभागले पटक–पटक हारगुहार गर्दा पनि फिर्ता ल्याउन सकेको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।