NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

दुर्गमबाट सरुवा हुन अधिकृतले सरकारी निवासमै आगो लगाएको खुलासा

काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकाका प्रशासकीय अधिकृत रोशन अधिकारीले आफ्नो दुर्गमबाट सरुवा गराउने उदेश्यले सरकारी निवासमै आगो लगाएको खुलेको छ । गत ५ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

अधिकारी शुक्रबार डेढ लाख धरौटीमा छुटेका छन् । उनीविरुद्ध आपराधिक उपद्रह मुद्दा दायर भएको थियो।

अधिकृतको तालिम सकिएपछि पहिलो पोष्टिङका रुपमा उनको गत भदौमा मार्मा सरुवा भएको थियो । वैदेशिक रोजगारसम्बन्धि छात्रवृत्तिमा उनले स्नातकोत्तर गर्ने अवसर पाएका थिए । त्यसका लागि उनले काठमाडौं सरुवा मागे । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेन । गाउँपालिकाले पनि सरुवाका लागि सहमति नदिदा उनी समस्यामा परे ।

काठमाडौं घर भएका अधिकारी दार्चुलाको पनि सदरमुकामबाट आठ घन्टा टाढाको गाउँमा बस्न सकेनन् । त्यसपछि उनले सरकारी निवासमा आफैं तोडफोड गरी आगजनी गरी प्रहरीमा उजुरी गरेका हुन् । प्रहरीले अनुसन्धान गर्दा उनी आफैंले आगजनी गरेको खुल्यो ।

सोही आधारमा उनी पक्राउ परेका हुन् । आफुमाथि गाउँलेबाट आक्रमण भएको बहाना गरी उनले यसरी सरुवा हुने रणनीतिअनुसार आगजनी गरेका हुन् । तर, प्रहरी हिरासतमा पुगे । आगलागीमा गाउँपालिकाले नै उनीविरुद्ध उजुरी गरेको थियो ।