NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

नेपालमा फरार दुई अभियुक्त यूएइमा पक्राउ

काठमाडौं । नेपालमा अपराध गरी विदेश भागेका दुई अभियुक्तलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्स(यूएइ)मा पक्राउ गरी नेपाल ल्याएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपानेलाई यूएइमा पक्राउ गरि नेपाल ल्याइएको हो । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसूर मुद्दामा बल बहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेबु्रअरी ७ मा रेड नोटिस जारी भएको थियो ।

यसैगरी विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि साइबर ब्यूरोबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।

बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष