NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २१ गते

हाइपर फन्ड ठगीमा एनआरएनका नेतासहित ६३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । हाइपर फन्ड ठगीमा प्रहरीले गैरआवासिय नेपाली संघ(एनआरएन)का नेतासहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पक्राउ परेका दुई र अन्य ६१ जनालाई फरार प्रतिवादी बनाई सात करोड ७१ लाख रुपैयाँ ठगीको अभियोगसहित सोमबार जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर भएको हो । करोडौँ ठगी भए पनि ५७ जनाको मात्र जाहेरी परेकाले उनीहरूकै जाहेरीका आधारमा बिगो कायम गरी मुद्दा दायर गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ ।
पक्राउ गरी मुद्दा दायर गरिएकाहरू ललितपुरकी ज्ञानु घिमिरे र लमजुङका कृष्णकान्त भण्डारी हुन् । सिआइबीले दुई साता लामो अनुसन्धान गरी संगठित अपराध र ठगी मुद्दा दायर गरेको हो ।

अस्ट्रेलियाको ब्लक चेन टेक्नोलोजीको नाममा लगानीको तीन गुणा नाफा हुने भन्दै पैसा हाल्न लगाएर ठगी भएको अनुसन्धानमा खुलेको छ । ठगीमा पर्नेहरू र ठग्ने गिरोहका नाइके पनि धेरै विदेशमा रहेको प्रहरीले जनाएको छ ।

ठगीमा २२ जनाको मुख्य संलग्नता देखिएको र अन्यको बैंक खाता मात्र प्रयोग भएको अभियोग–पत्रमा उल्लेख छ । सिआइबीका अनुसार पक्राउ परेका घिमिरे र भण्डारीसहित निर्मलप्रसाद घिमिरे, कृष्ण बगाले, योगेन्द्रमिलन छन्त्याल, कुमार गुरुङ, चन्द्रकुमार लिम्बू (तुम्बाहाम्फे), अमृत पण्डित, मनिता अधिकारी, फर्सुराम गौतम, दीपक बस्नेत, देवीप्रसाद गौतम ठगीका मुख्य व्यक्ति हुन् । त्यस्तै, मनोहरी थापा, सबु भन्ने साबित्रा भट्टराई, ललितकुमार न्यौपाने, हिराबहादुर रन्तिजा, विशाल थापा, भानु पुनमगर, गोविन्द सेढाई, रामचन्द्र थापा, यमुना छन्त्याल, जसमान लिम्बू र कमला गुरुङले हाइपर फन्डमा लगानी गर्न प्रेरित गरी ठगीमा मुख्य रूपमै संलग्न रहेको सिआइबीले जनाएको छ ।

मुख्य योजनाकार समूहका धेरै विदेशमा छन् । योगेन्द्र छन्त्याल पोर्चुगल, कुमार गुरुङ बेलायत, दीपक बस्नेत न्युजिल्यान्ड, गोविन्द सेढाई बेलायतमा रहेको खुलेको छ । कम्पनीको सम्पत्ति २० बिलियन डलर रहेको र कम्पनी डुबे पनि सबैको पैसा फिर्ता दिने भन्दै पैसा हाल्न लगाइएको थियो । एक वेबसाइट खोलेर त्यसमा आफ्नो ब्यालेन्स हेर्न मिल्ने बनाइएको र पछि वेबसाइट नै खुल्न छाडेपछि पीडितहरू ठगिएको थाहा पाएर प्रहरीमा पुगेका थिए । जति धेरै सदस्य बनायो, त्यति नाफा हुने भन्दै पिरामिड शैलीमा उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ ।