NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २३ गते

नेपालमा प्राइभेट इक्युटी र भेञ्चर क्यापिटलको सम्भावना

काठमाडाैं । सीमित मानिसले जानेबुझेको तर धेरैको चासोको विषय हो प्राइभेट इक्युटी भेञ्चर क्यापिटल (पिई-भिसी) । अन्तर्राष्ट्रियस्तरमा ठूलो इन्डस्ट्रीको रुपमा विकसित भइसकेको पिई-भिसीको नेपालमा भने लामो इतिहास छैन ।

नेपालमा पिई-भिसीको सुरुवात सन् २०१२/१३ तिरबाट भएतापनि नेपाल धितोपत्र बोर्डले ‘विशिष्टीकृत लगानी कोष नियमाली २०७५’ व्यवस्था गरेपछि मात्रै आधिकारिक रुपमा प्राइभेट इक्युटी फण्ड सञ्चालनमा आएको हो । त्यसअघि विना नियमाली, कम्पनीहरु दर्ता नभईकनै केही फण्ड व्यवस्थापकहरुले प्राइभेट इक्युटी फण्डमा लगानी गर्ने गरेको अवस्था थियो । जसमध्ये डोल्मा इम्प्याक्ट फण्ड, बिजनेस अक्सिजनलगायतले अहिले पनि दर्ताबिनै लगानी गरिरहेको पाइन्छ ।

हाल एक दर्जन कोष व्यवस्थापकहरु धितोपत्र बोर्डबाट इजाजत प्राप्त भई सञ्चालनमा छन् । जसमध्ये अवसर इक्युटी फण्ड, अल्फा प्लस भेञ्चर, ग्लोबल इक्युटी, लक्ष्मी सनराइज हुन् ।

नेपालमा औपाचारिक रुपमा प्राइभेट इक्युटी सञ्चालनमा आएको थोरै समयमै नै यसले राम्रो ग्रोथ गरेको लक्ष्मी सनराइज क्यापिटलका विशिष्टीकृत लगानी कोषका प्रमुख अतिस श्रेष्ठ बताउछन् ।

कुनै पनि व्यवसाय सुरु गर्नको लागि पुँजी चाहिन्छ । पुँजीको लागि व्यक्ति आफैसँग पैसा हुनुपर्छ नभए बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिनुपर्ने हुन्छ । यी दुबै अवस्था अनुकुल नभएको अवस्थामा प्राइभेट इक्युटी फण्डले पुँजी उपलब्ध गराई व्यवसाय गर्नको लागि अल्टरनेटिभ फाइनासिङको भूमिका खेल्ने श्रेष्ठ बताउछन् ।

पिई-भिसी सर्वसाधारण लगानीकर्ताको लागि भन्दा पनि हाइ नेटवर्क इन्डिभिजल (एचएनआई) र संस्थागत लगानीकर्ता केन्द्रित छ । लगानीको हिसाबले पनि यसमा कम्तीमा पनि पचास लाख चाहिन्छ ।  यसमा प्राइमरी मार्केट र सेकेण्डरी मार्केटमा भन्दा कम तरलता हुने हुँदा जोखिम बढी हुन्छ । श्रेष्ठ यसमा उच्च जोखिम भएपनि रिर्टन पनि उच्च नै हुने भनाई राख्छन् ।

कोष व्यवस्थापकहरुले एचएनआई र संस्थागत लगानीकर्ताबाट लिएको फण्ड विभिन्न कम्पनीहरुमा लगानी गर्छ । ठूलो रकम कम्पनीमा लगानी गर्ने हँुदा कोष व्यवस्थापकले भविष्यमा लगानी डुब्नबाट जोगिन कम्पनी छनोटमा विशेष ध्यान दिनुपर्ने हुन्छ । श्रेष्ठका अनुसार कम्पनी छनोट गर्दा मार्केट सेन्टिमेन्ट हेरेर लगानी गर्नुभन्दा पनि कम्पनीको व्यवस्थापन कस्तो छ ? अर्थतन्त्र, इन्ड्रष्ट्री र फण्डामेन्टललाई बढी प्राथामिकतामा राखेर लगानी गर्नुपर्ने बताउँछन् ।

पिई भिसी नेपालमा विकास हुँदै गएको इन्ड्रष्ट्री हो । अझैपनि आम सर्वसाधारणमा यसबारे त्यति ज्ञान पुग्न सकेको छैन । यसले नवीनतम उद्यम व्यवसायलाई शुरुवात गर्न स्वदेशी तथा वैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सक्छ । साथै देशको समग्र आर्थिक विकासमासमेत टेवा पुग्ने देखिएको हुँदा यसलाई थप विकसित गराउन नियामक निकाय, निजी कम्पनीलगायतले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक देखिन्छ ।

पिई-भिसी बारे नीतिमा करका कुराहरु प्रष्ट नहुँदा धेरै कम्पनीहरु अहिले पनि बिनादर्ता नै सञ्चालन भइरहेका छन् । विशेषगरी छिमेकी मूलुक(भारत) मा जस्तो विदेशी लगानीकर्तालाई ल्याउनको लागि नीतिगत व्यवस्थामा करबारे प्रष्ट पार्दिनुपर्ने जरुरीसमेत देखिन्छ ।

नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारिएको टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ यो एपिसोडमा नेपालमा पिई-भिसीको अवस्था, जोखिम, महत्व, सम्भावनालगायत विषयमा केन्द्रित रहेर अवर इक्युटीका प्रमुख कार्यकारी अधिकृत ध्रव तिमल्सिनासँग नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले गरेको कुराकानीको पूरा भिडियो तल हेर्नुहोस् :