यसरी काम गरे पाँचदेखि सात वर्षमा आर्थिक रूपान्तरण हुन्छ
राजनैतिक दलका नेताले केही समयअघि देशलाई अमेरिका, सिंगापुर बनाउँछौं भनेको सुनिन्थ्यो । तर यथार्थमा अहिले हामी कहाँ छौं ? तथ्यांकले स्पष्ट पार्छ । विश्व बैंकले सार्वजनिक गरेको सन् २०२३ को प्रतिव्यक्ति आम्दानीको तथ्यांकअनुसार हामी अफगानिस्तानभन्दा मात्रै माथि छौं । सन् २०२३ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ३२४ अमेरिकी डलर छ ।
आज हामी कहाँ छौं भन्नेबाट होइन कि कहाँ थियौं भन्नेबाट सुरुवात गरौं । सन् १९६० मा हाम्रो प्रतिव्यक्ति आम्दानी ५० अमेरिकी डलर मात्र थियो । त्यति बेला भारतको ८३, चीनको ९०, बंगलादेशको ८९ र सिंगापुरको ४२८ अमेरिकी डलर थियो । सन् १९६० बाट सन् २०२३ मा आइपुग्दा नेपालीको प्रतिव्यक्ति आय १ हजार ३२४ पुगेको छ । भारत २ हजार ४८५, चीन १२ हजार २९६, बंगलादेश २ हजार ५२९ र सिंगापुरको ८४ हजार ७३४ अमेरिकी डलर पुगेको छ ।
यी तथ्यांकले अरू देशको प्रतिव्यक्ति आयको तुलनामा नेपालको वृद्धि नभएको देखाउँछ । तैपनि हामी अगाडि भने बढेका छौं । तर रफ्तारको भने कमी भएको छ । किन ? सोचनीय विषय बनेको छ ।
मैले आजसम्म ‘धनी बन्न चाहन्नँ’ भन्ने एउटा पनि नेपाली भेटको छैन । तर अधिकाश नेपालीले ‘धनी चोर’ भन्छन् । आफू धनी हुन चाहने अनि धनी भइसकेकालाई चोर भनेर के आफू पनि चोर बन्न चाहेको हो ? कसैले पनि आफूले आफैंलाई चोर भन्छजस्तो मलाई लाग्दैन । त्यसैले परिवर्तनको सुरुवात हाम्रो सोचबाट गर्नुपर्छ ।
पैसाको महत्त्व कलियुगमा मात्र नभएर सबै युगमा हुन्छ । पैसा सबैथोक होइन, तर महत्त्वपूर्ण अवश्य हो । पैसा कमाउने माध्यम धेरै छन् । मैले मेरो जागिर सुरु गर्दाखेरी मेरो मासिक तलब ३ हजार ५०० रूपैयाँ थियो । मसँगै मेरो गाउँ भिरकोट, कालिकोट जाजरकोट र नाम्चेबाट आएका साथीहरू जो एउटै कोठामा तीन/चार जना बसेर केरोसिन स्टोभमा पकाएर शंकरदेव, मीनभवनबाट बिबिए, एमबिए गरेर मसँगै जागिर खाए । ती साथी र मेरो पृष्ठभूमिमा आकाश–जमिनको फरक थियो । म सुविधासम्पन्न परिवारबाट आएको । बाजे त भिरकोटे राजा नै हुनुहुन्थ्यो ।
हामीले पढाइ सकेर ३०/३१ वर्ष जागिर खाँदा आफ्नो बन्दोबस्त ग¥यौं । आज उहाँहरूको ऋणमै भए पनि एउटा घर छ, छोराछोरी राम्रै स्कुल/कलेज पढेका छन् । बुवाआमाको राम्रो स्वास्थ्य उपचार पाइरहनुभएको छ, एउटा सवारी साधन छ । तर उहाँहरूसँगै गाउँबाट आएर अध्ययनपछि बैंकिङबाहेकका फरक क्षेत्र उत्पादन, पर्यटनलगायत रोजेकाहरूको केही पनि छैन ।
अब सबै क्षेत्रको रोजगारीलाई पनि बैंकिङजस्तै सुरक्षित बनाउनु पर्छ न कि ३० वर्ष काम गरेर अवकाशमा जाँदा रित्तो हात जानुपर्ने अन्य क्षेत्रको जस्तो ।
०००
२०८०/८१ को राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक हेर्दा अन्य प्रदेशको तुलनामा मधेस सबैभन्दा पछाडि छ । बागमती प्रदेशको प्रतिव्यक्ति आय अमेरिकी डलर २ हजार ४८५, कोशीको १ हजार ३३६, कर्णालीको १ हजार ०६६, सुदुरपश्चिम प्रदेशको १ हजार १११, लुम्बिनीको १ हजार १५९, गण्डकीको १ हजार ५५७ र मधेसको ८१२ मात्रै छ ।
यो तथ्यांक हाम्रो लागि सोचनीय छ । किनकि, नेपालीले खाना खान्छ भने मधेसले गरेर खान्छ भनेर हामीले बाल्यकालदेखि नै सुन्दै आएका छौं । तथ्यांक हेर्दा मधेस प्रदेशमै खाना पुगिरहेको रहेनछ भन्ने देखाउँछ ।
क्षमता पहिचान
देशको आर्थिकस्तर सुधार नहुनुका अनेक कारणमध्ये एउटा सरकारलाई तिर्ने कर हो । नेपालमा भएका जनसंख्याको कति प्रतिशतले कर तिर्छ होला ? कुरा स्पष्ट छ, न्यून जनसंख्या जसले कर तिर्छन् । आज कतिलाई अनिल शाहले वर्षमा यति कमाउँदो रहेछ, यति बोनस खाँदो रहेछ भन्ने होला । हो, मैले कमाउँछु, तर कमाएअनुसार देशलाई कर पनि तिर्छु । हिजो ३ हजार पाँच सय कमाउँदा पनि तिर्थेँ आज लाख कमाउँदा पनि तिर्छु । मैले यति कमाएँ भन्नलाई कुनै संकोच छैन किनकि मैले बुद्धि लगाएँ, पसिना बगाएँ ।
मैले जति कमाए त्योभन्दा बढी योगदान दिएँ जस्तो लाग्छ, प्रमोटर सेयर होल्डरलाई, मेरो टिमलाई । जुन टिमसँग मिलेर काम गरेँ, उहाँहरूलाई अगाडि लिएर गएँ, यसमा मेरो मात्रै होइन उहाँहरूको पनि योगदान छ । सबैभन्दा महत्त्वपूर्ण हाम्रा ग्राहकवर्गलाई । पहिला १५/२० लाख कर्जा लिने ग्राहक आज अर्बौं कर्जा लिन आउनुहुन्छ, यस अर्थमा संस्था र व्यक्तिले मात्रै होइन उहाँहरूलाई पनि धनी बनायौं । के विचार गर्नुप–यो भने धनीलाई गरिब बनाएर कुनै पनि देश धनी हुँदैन । यो कुरा धनीबाट सिक्नुपर्छ ।
मैले आजसम्म ‘धनी बन्न चाहन्नँ’ भन्ने एउटा पनि नेपाली भेटको छैन । तर अधिकाश नेपालीले ‘धनी चोर’ भन्छन् । आफू धनी हुन चाहने अनि धनी भइसकेकालाई चोर भनेर के आफू पनि चोर बन्न चाहेको हो ?
हामीले आफ्नो विशेष योग्यता केमा छ, त्यसमा ध्यान दिनुपर्छ । अरूको लहैलहैमा लाग्ने होइन । म बाघ हो, तर कुखुरासँग बसेर अण्डा पार्न खोज्यो भने कहिल्यै अण्डा पार्न सक्दिनँ । यदि यो थाहा पाएर पनि म कुखुरासँग बसिरहेँ भने समाजले मलाई ‘तँ बाघ निकम्मा’, अण्डा पार्न सकिनस् अवश्य भन्ने छ । यसको सट्टामा म जंगल गएँ भने मैले मृग मारेर ल्याउँला या अरू कुनै जनावर मारेर ल्याउँला । यसैले आफू बाघ हो कि कुखुरा ? सबैभन्दा पहिले पहिचान गर्नुपर्छ ।
अधिकांश नेपालीको साझा बानी छ, बहकिने । उनीहरू कहिले वित्तीय क्षेत्रमा अवसर छ भनेर त्यसमा लाग्छन् त कहिले कम्प्युटरमा सम्भावना देखेर आकर्षित हुन्छन् । कहिले कता, कहिले कता । मेरो पहिचान के हो, क्षमता के हो स्पष्ट भएपछि मात्र बल्ल क्षमता वृद्धि कसरी गर्ने भनेर सोच्नुपर्छ । टिकटकमा भिडियो बनाएर मात्रै हुँदैन, त्यहाँबाट पनि धेरै ज्ञान लिन सकिन्छ । हामीसँग भएको मोबाइल फोन केबल मनोरञ्जनको लागि मात्रै हैन त्यहाँबाट धेरै कुरा सिक्न सकिन्छ । अगाडि बढ्ने हो भने खुट्टा मजबुत बनाउनु पर्छ । अरूको खुट्टा भाँचेर होइन, आफ्नो खुट्टा मजबुत पारेर अगाडि बढ्नु पर्छ ।
मैले तीन हजार पाँच सय रूपैको तलब खाँदा परिवार, शुभचिन्तकले पागलसम्म भन्न भ्याए । यो तलबले ‘तिमी दश जुनीमा पनि बाबुआमाले पढाइमा गरेको लगानी लगानी उठाउन सक्दैनौं’ भन्नुहुन्थ्यो । त्यसबेला मेरो बुवाले म फोन गर्दिन्छु, जाउ म्यानेजर होऊ, जिएम बन भन्नुभएको पनि हो । यदि म त्यसरी गएको भए आज कुनै एक कुनामा बसेर घर भाडामा लगाएर खाइरहेको हुन्थेँ कि ?
त्यसैले सुरुवात ठीक गर्नुपर्यो । जुन बाटोमा हिँडेको छ, त्यो सही हुनुपर्यो । गन्तव्यतिर लम्केको यात्रा ढिलो चाँडो होला, तर अवश्य पुगिन्छ । तर आफूमाथि भने विश्वास हुनुपर्छ । त्यतिबेला ३ हजार ५०० को जागिर किन खाने, फोन गर्दिनुस् भनेर ठूलो तलब रोजेको भए सुरुवातमा राम्रै हुन्थ्यो होला तर नतिजा राम्रै हुन्थ्यो भन्ने निश्चित थिएन । त्यही भएर आज जहाँ छु, मेरो परिवारको साथ र सहयोगले छु, म मेरो गाउँठाउँ र परिवारप्रति गर्व गर्छु । जिन्दगी बनाउने आफैंले हो । आज तपाईं अनिल शाहजस्तो बन्छु नसोच्नुस्, अनिल शाहभन्दा राम्रो कसरी बन्ने भनेर सोच्नुहोस् । आफनो क्षमता प्रयोग गर्नुस् । जुन कुरा गर्दा मज्जा आउँछ त्यही गर्नुहोस् । सुरुवात आफैंबाट गर्नुस् । त्यसरी अघि बढ्नुभयो भने एक दिन अवश्य गन्तव्यमा पुगिन्छ ।
वैदेशिक लगानी
दैनिक जीवनमा पैसा अति आवश्यक छ । आमाको गर्भमा हुँदा होस् या जन्मदेखि मृत्युसम्म, सबैमा पैसा चाहिन्छ । यही पैसाकै कारण आज नेपालीहरु देश छाडेर बिदेसिएका छन् । जुन विडम्बनापूर्ण छ । युवाहरु देश छोडेर विदेश पलायन हुनुमा अरू कुनै कारण होइन, त्यही पैसा कमाउन हो । जुन पैसा नेपालमा कमाउन गाह्रो छ ।
अर्को प्रमुख कारण वैदेशिक लगानी हो । नेपालमा वैदेशिक लगानी निकै कम छ । नेपालको जनसंख्या तीन करोड छ तर वैदेशिक लगानी २ अर्ब डलर मात्रै छ । माल्दिभ्सको हेरौँ, जनसंख्या पाँच लाख, वैदेशिक लगनी ७ अर्ब डलर छ । भुटानको ८ लाख जनसंख्या, वैदेशिक लगानी ५० करोड छ । सिंगापुरको त कुरै नगरौँ, ६० लाख जनसंख्याको यो देशमा वैदेशिक लगानी २६ खर्ब ३२ अर्ब डलर छ ।
नेपालमा कम लगानी भित्रिनुको कारण धेरै छन् । एउटा उदाहरणबाटै सुरु गरौँ । धनी बाबुआमाको बच्चाहरू बढी बिग्रिन्छन् (सबै धनीका बच्चाहरु बिग्रन्छन् भन्ने गलत अर्थ नलागोस्) । किनभने, धनीका बच्चाहरूले जे माग्यो त्यही कुरा सजिलै पाउँछन् । मासु खान मन लाग्यो, पाइहाल्छ, फोन चाहियो, कम्प्युटर चाहियो, कपडा चाहियो, तुरुन्तै पाउँछन् ।
देशको आर्थिकस्तर सुधार नहुनुका अनेक कारणमध्ये एउटा सरकारलाई तिर्ने कर हो । नेपालमा भएका जनसंख्याको कति प्रतिशतले कर तिर्छ होला ? कुरा स्पष्ट छ, न्यून जनसंख्या जसले कर तिर्छन् ।
हाम्रो देशलाई पनि पहिलेदेखि मित्र राष्ट्रहरूले माया गरेर धेरै सहायता गरे । सहायता भनेको दान नै हो, जुन फिर्ता गर्नुपर्दैन । चाहे लाख होस् या करोड नै । नेपालीको सोचमा बाहिरबाट पैसा आएपछि कहिल्यै फर्काउनु नपरोस् भन्ने भयो ।
लगानी र सहायतामा धेरै फरक छ । सहायता कसैको आत्मबाट दिने हो तर लगानी गर्नेले लाभांश खोज्छ । त्यो लाभांश चाहे नेपालमै पैसा लगानी गरेको होस् या भारत, बंगलादेश जुनसुकै मुलुकमा । उनीहरूले जहाँ बढी मुनाफा पाउँछन्, त्यहीँ लगानी गर्छन् । स्वाभाविक हो, हामी पनि जहाँ बढी प्रतिफल पाउने सम्भावना हुन्छ, त्यही लगानी गर्छौं ।
हाम्रो राजनैतिक दलदेखि जनतासम्मको सोच बाहिरबाट पैसा आएपछि निःशुल्क हुनुपर्यो भन्ने भयो । यसमा स्पष्ट होऔँ विदेशीले नेपालमा पैसा लगानी दान गर्नलाई होइन, कमाउनलाई गर्ने हो । केही प्रतिफल पाउनलाई गर्ने हो । यही कुरा नबुझेर आज पनि हामी त्यही दुई अर्ब डलर वैदेशिक लगानीमा सीमित छौं ।
नेपालमा अहिले भारतको ठूलो जलविद्युत् अरुण ३ को लगानी छ । त्यसले राम्रो निर्यात गरिरहेको छ, मुनाफा पनि राम्रै आर्जन गरेको छ । अरुण ३ को लाभांशको मूल्यांकन गर्ने हो भने डरलाग्दो छ । अरुण ३ ले नेपालमा विद्युतको सम्भावना देख्यो, लगानी गर्यो । यही अरुण ३ को विषयमा सडकदेखि संसद्सम्म बेलाबेला कुरा उठ्छ, अर्बौं रूपैयाँ लिएर गयो भनेर । यो सोच्नु नै गलत हो । यदि नेपालमा वैदेशिक लगानी भित्र्याउने हो भने हाम्रो सोचमा परिवर्तन गर्नु आवश्यक छ । देशलाई आर्थिक समृद्धितिर डोर्याउने हो भने वैदेशिक लगानी अतिआवश्यक छ ।
नेपालको जिडिपीको आकार बढाउने हो भने बाहिरबाट पैसा आउनैपर्छ । बाहिरबाट पैसा नेपालको विकास गराउन पक्कै आउँदैन । हामी अहिले विकासशील देशतिर उन्मुख छौँ । विकासउन्मुख हुनेबित्तिकै सहायता आउन बन्द हुन्छ । सहायता भनेको अल्पविकसित मुलुकलाई दिने हो । हामी अब गरेर खाने मुलुकमा गनिइसकेका छौँ । अब हामीले सोचमा परिवर्तन गरेनौँ भने देशको विकास हुन सम्भव छैन ।
हामी हाम्रो सन्तानलाई सानोमा हेर्छौं, खुवाउँछौं, बढाउँछौं, पढाउँछौं, ठूलो भएपछि आफैं गरेर खान्छ भनेर छोडिदिन्छौं । नेपालको अवस्था पनि अहिले यही हो । हामीले बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याएर आफैं गरेर खाने बेला भएको छ ।
समस्या पहिचान
कसैलाई मृर्गौलाको समस्या छ भने फोक्सोको डाक्टरकहाँ जाँदैन, मृर्गौलाको डाक्टरकहाँ नै जान्छ । आज हाम्रो देशको समस्या के हो ? किन युवाजति सबै विदेश गइरहेको छन् ? सबै युवाहरु पैसा कमाउनकै लागि विदेश गएका हुन् कुनै धर्म कमाउन, स्वतन्त्र हुन या राजनीति गर्नलाई होइन ।
नेपालमा सही नेतृत्वको अभाव छ । म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्री बन्न होइन, नेतृत्व विकास गर्न आबद्ध भएको हुँ ।
अहिले रास्वापाले स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म प्रशिक्षण चलाइरहेको छ । हाम्रो लक्ष्य सही नेतृत्व कसरी गर्ने भन्ने नै हो । नेपालको युवाहरूलाई देशमै रोक्ने वातावरण बनाउनेका लागि अब धार्मिक, सामाजिक, राजनैतिक रूपान्तरणभन्दा पनि आर्थिक रूपान्तरण चाहिएको छ । रास्वापा त्यसतर्फ लागिपरेको छ । युवाहरुलाई यही स्वदेशमै कमाउने वातावरण बनाउनुपर्छ । रास्वपाको मूल सिद्धान्त नै यही हो ।
सबै मिलेर प्रयास गर्ने हो भने देश बन्दैन भन्ने लाग्दैन । देश बन्दैन भन्ने सोच नै हटाउनुपर्छ । गर्यो भने नेपालमा के हुँदैन ? नबिल बैंकले आजभन्दा ४० वर्षअघि अन्तर्राष्ट्रिय बैंकसँग प्रतिस्पर्धा गर्ने हिम्मत गरेर नेपालमा बैंकको सुरुवात गर्यो । आज देशकै नम्बर वान बैंक बन्न पुगेको छ । बैंकिङ मात्र हैन कुनै पनि क्षेत्रमा गर्न सकिन्छ ।
व्यक्तिले आफ्नो क्षमता चलाएर अघि बढ्नुपर्छ । नेपाल भारत, चीन, अमेरिका, सिंगापुर या कुनै देशजस्तो हुनुपर्छ होइन । नेपाल नेपालजस्तो हुनुपर्छ । हाम्रो देशको क्षमता के हो ? कृषि, पर्यटन हुन सक्छ ।
अरूले गरेको कुराको त्यस्तै कपी गर्नु आवश्यक छैन, कुनै नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ । उदाहरणका लागि हामीले लप्सीको पिपी बनाएर संसारभरि नै प्रिमियमा बेच्न सक्छौँ, लप्सीको ब्राण्ड बनाएर विश्वमा नेपाल चिनाउन सक्छौँ । नेपाली छुर्पी आज बजारमा पाउन मुस्किल छ किनकि उक्त छुर्पी अमेरिकामा डग फुडको रूपमा बिग्री हुन्छ । त्यसैले अरूले जुत्ता बनायो, नेपालीले जुत्ता नै बनाउनुपर्छ भन्ने छैन । नयाँ तरिकाबाट सोच्न सकिन्छ ।
हाम्रो कोर कम्पोटेन्सी के हो त्यसलाई केन्द्रित गरेर वैदेशिक लगानी तान्न सकियो भने नेपालको आर्थिक रूपान्तरण हुन दुई पुस्ता होइन यही पुस्तामै सम्भव छ । अबको पाँचदेखि सात वर्षमा देशमा आर्थिक रूपान्तरण हुन्छ । (शाह राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रशिक्षण विभाग प्रमुख हुनुहुन्छ । त्यसअघि उहाँ नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्याे)
प्रतिक्रिया